कपिलवस्तु । कोभिड–१९ को बन्दाबन्दीका बीच शिवराज नगरपालिका कपिलवस्तुले भर्चुअल अनलाइन माध्यमबाट माविस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिवराज नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखाले माध्यमिक तहको नगरस्तरीय भर्चुअल अनलाइनबाट वक्तृत्वकला संचालन गरेको हो । “कोभिड–१९ न्यूनीकरणमा विद्यार्थीको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा नगरभित्रका ९ माध्यमिक विद्यालयका ९ जना विद्यार्थीले भाग लिएका थिए ।

भर्चुअल अनलाइन प्रतियोगितामा प्रकाश मावि सुन्दरीडाँडाकी निशा गिरीले प्रथम स्थान ल्याउन सफल भएको शिवराज नगरपालिका शिक्षा शाखा अधिकृत पूर्ण बहादुर विश्वकर्माले जानकारी दिए । यस्तै प्रतियोगितामा नेपाल आदर्श मावि शिवपुरकी छात्रा गुञ्जा थारु द्वितीय, समयथान मावि खरेन्द्रपुरकी नितु न्यौपाने तृतीय र शिवगढी इङ्गलिस बोर्डिङ्गकी आरती रिमाल सान्तवना स्थान ल्याउन सफल भएको शिक्षा शाखा अधिकृत विश्वकर्माले बताए ।

प्रतियोगितामा उत्कृष्ट ४सहित दुर्गा भगवती मा.वि नयाँवस्ती, राष्ट्रिय मावि चन्द्रौटा, बाल शिक्षा मा.वि, हल्लानगर, समयथान मा.वि खरेन्द्रपुर, सरस्वती मा.वि बनियाभार र जनचेतना मा.वि लक्ष्मणपुरका गरी ९ जना विद्यार्थीले भाग लिएको बताइएको छ ।

यसैबीच शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई बधाई तथा सफलताको शुभकामना दिए । साथै प्रतियोगितामा सहभागिता जनाएका सम्पूर्णलाई धन्यबाद समेत दिएका थिए ।

प्रतिकृया दिनुहोस्