काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। मन्त्रिपरिषद् पुनर्गठनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जनता समाजवादी पार्टी (जसपा) को भागमा परेको छ।जसपाबाट अशोक राईले आज शिक्षा मन्त्रीका रुपमा तीन बजे शपथ लिँदैछन् ।

खोटाङको किसान परिवारमा जन्मेका राई पुष्पलाल समूहबाट राजनीति थालेका हुन् । तत्कालीन कोर्डिनिसेन केन्द्रका नेता अमृत बोहराबाट २०३३ सालमा उनले पार्टी सदस्यता लिएका थिए । तत्कालीन माले नेता मदन भण्डारीसँग उनले १० वर्ष एउटै कमिटीमा काम गरे । मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकार (२०५१) मा उनी यातायातमन्त्री थिए ।

२०५३ मा लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीकालमा संसदीय व्यवस्थामन्त्री र २०६१ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री भएका थिए । उनले राजनीति शास्त्रमा स्नातक गरेका छन्।

२०५४ मा एमाले–माले विभाजन हुँदा वामदेम गौतम नेतृत्वको मालेतिर लागेका राई २०६९ सालमा पहिचानको मुद्दा मुखर हुँदा एमाले छाडेर आफ्नै नेतृत्वमा संघीय समाजवादी पार्टी बनाएका थिए। दोस्रो संविधानसभामा प्रत्यक्षतिर शून्य नतिजा हात परेपछि राईले उपेन्द्र यादवसँग एकता गरे ।

राई व्यक्तिगत रूपमा भद्र, इमानदार र अध्ययनशील नेता मानिन्छन्।

प्रतिकृया दिनुहोस्