चन्द्र कान्त पण्डित

प्रसंग कक्षा ११ को परीक्षाको लागि के गर्ने कसो गर्ने भन्ने द्विविधामा रहेको अवस्थामा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याकंन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७७ ल्याएपछि एक अन्योलको समाप्त भएको छ । जसरी अन्योल समाप्त भएको छ त्यही गतिमा असहज अवस्थाको पनि सिर्जना भएको छ । परीक्षा शुल्क परीक्षा बोर्डमा पुगेको छ । परीक्षा विद्यालयले लिनुपर्ने । अर्थ बीना कुनै कार्य पनि सहज र सम्भव हुँदैन ।

एसईईको परीक्षाको नतिजा तयार पारी परीक्षा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ मार्फत एसईईको परीक्षा बोर्डमा पठाउनको लागि निर्देशन दियो, त्यही अनुसार कार्य सम्पन्न पनि भयो । अब रह्यो अर्थको पाटो । परीक्षाको नतिजा तयार पार्नको लागि परीक्षा बोर्डले खर्चने रकम सही सदुपयोग हुन्छ भनि विद्यालयका प्र.अ. तथा सम्वन्धित शिक्षकहरु आशावादी भएर पर्खिरहेका छन् । आफ्नै खर्चले सवै कार्य सम्पन्न गरी जिम्मेवारी पूरा गरेका छन् । अव पालो रहेको छ परीक्षा बोर्डको ।

अब रह्यो कक्षा ११ को परीक्षाको तयारी कसरी गर्ने भन्ने । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७७ अनुसार अब परीक्षा लिनै पर्ने भएको छ । कोभिड–१९ कोरोना भाइरसको कारणले कसरी सहज होला परीक्षा लिने वातावरण तयार होला वा नहोला, त्यो पनि एक क्षणलाई बिर्सिदेउ र जुटौं परीक्षाको लागि । अब अहिलेको असहज परिवेशलाई ध्यानमा राखि कसरी परीक्षा लिन सकिन्छ त त्यतातिर ध्यान दिउँ । एक पटक सवै कुरा बिर्सौ र सवैलाई सहज हुने वातावरण तयार गरौं । शैक्षिक प्रमाणपत्र सवैथोक हो भन्ने मान्यतालाई बिर्सिदेउ किनकि हिजो विद्यालय, महाविद्यालय नहुँदा पनि मानिसहरुले जीवन जिएकै थिए र खाना पनि खाएकै थिए साथै एक टालो लगाउँदै बास बस्ने घर पनि थिए ।

हामी २१ औं शताव्दीका मानिसहरु घमण्ड गर्दै थियो, सम्पन्नतामा छौ, सवैकुरा हामीसँग छ भन्दै थियौ । आखिर के रहेछ त हामीसँग ? केवल अहँकार । हामीले जे सोच्ने गथ्र्यौ, त्यो रहेनछ । हाम्रो सम्विधानले केही वोलेन देशको शाषकको शैक्षिक योग्यताको बारेमा । देशको प्रधानमन्त्री हुनको लागि शैक्षिक योग्यता चाहिँदैन तर उसको पीए हुनको लागि योग्यता चाँहिन्छ । विडम्वना यही नै हो । त्यसैले पनि परीक्षालाई ठूलो हाउगुजी बनाइरहन पर्दैन, त्यसमा पनि कक्षा ११ को लागि । यो बिचको शैक्षिक योग्यता हो केवल कक्षा १२ मा पढ्न पाउनको लागि मात्र हो । देखाउने शैक्षिक योग्यता त कक्षा १२ को हुने छ ।

अब के गर्ने त परीक्षा लिनको लागि ? यसलाई सहज माने सहज छ र जटिल मानेमा जटिल पनि । परीक्षा बोर्डले भनिसकेको छ सम्वन्धित विद्यालयको प्र.अ.को अध्यक्षतामा विषयगत शिक्षकबाट एक जना र प्र.अ.ले मनोनित गरेको एक जना शिक्षक गरी तीन सदस्यीय परीक्षा तथा प्रमाणीकरण समिति गठन गरी काम गर्नको लागि सूचना प्रवाह गरिसकेको छ । यो समितिले गर्नुपर्ने कार्य क्षेत्र पनि तोकिदिसकेको छ । त्यसमा विवाद गर्नुपर्ने ठाँउ छैन ।

यस असहज अवस्थालाई सहज वनाउनको लागि जिल्लास्तरीय वा विद्यालयको आफ्नै एकल प्रश्नपत्र Specification Grid को आधारमा तयार पार्ने र त्यसको उत्तरकुञ्जिका पनि तयार गर्ने । अब परीक्षा कसरी लिने । परीक्षा लिने कार्य जटिल देखिएको छ । तर यसलाई सहज बनाउन सकिन्छ । कसरी ?

हामीहरुका विश्वविद्यालयले वा संसारका विश्वविद्यालयहरुले पनि १०० पूर्णाङ्कको सोधपत्र लिने नै गरेको छ । यो पूरा खुला छ । तर समय लाग्छ । यदि १०० अंकभारको परीक्षा खुलारुपमा लिइन्छ भने अहिले संसारको समय रोकिएको समयमा किन विद्यार्थीमैत्री परीक्षा नलिने । आज नेपाल संसारले के गर्छ, के भन्नेतर्फ नलागि नेपालले अँगालेको बाटोलाई अरुलाई पनि अनुकरण गर्ने अवसर दिनुपर्छ ।कसरी ?

प्रत्येक विद्यालयले वा एक जिल्लामा रहेका सवै विद्यालयहरुको जिल्लास्तरीय वा विद्यालयको आफ्नै एकल प्रश्नपत्र Specification Grid को आधारमा तयार पार्ने र त्यसको उत्तरकुञ्जिका पनि तयार गर्ने । जब प्रश्नपत्र र उत्तरपुञ्जिका तयार हुन्छ, सवै कक्षा ११ को लागि परीक्षा दिनको लागि रजिष्ट्रेशन नं र परीक्षाको लागि आवेदन फर्म भरेका विद्यार्थीहरुलाई प्रश्नपत्रहरु खुला सञ्चारका माध्यममा राखिदिउँ वा उनीहरुलाई विद्यालयसम्म पुग्ने वातावरण छ भने विद्यालयमा वोलाएर प्रश्नपत्रहरु दिउँ र समय तोकिदिउँ उत्तरपुस्तिका विद्यालयसम्म बुझाउनको लागि । जब परीक्षार्थीले उत्तरपुस्तिका लिएर आउँछन् वा अन्य खामवन्दीको रुपमा पठाउँछन त्यसलाई पनि मान्यता दिउँ ।

जसरी भए पनि परीक्षा लिऔं तर परीक्षार्थी मैत्री बनाइदिउँ । जब परीक्षार्थीको उत्तरपुस्तिका विद्यालयसम्म आइपुग्छ तुरुन्त विषय शिक्षकलाई विद्यार्थीकै उपस्थितिमा उत्तरकुञ्जिकाको आधारमा उत्तरपुस्तिका पनि परीक्षण गरिदिउँ । परिक्षण गरिसकेपछि लेजर तयार गरिदिउँ र प्रमाणित गरेर राष्ट्रिय परीक्षाबोर्डमा । पठाइदिउँ । यदि हामी यति गर्न सक्छौ भने यो संसारकै लागि पनि नया बाटो हुने छ परीक्षा सञ्चालनको लागि ।

प्रायः सवै विद्यार्थीको परीक्षाको नतिजा चाहे हामीले घरमा दिएको गृहकार्यलाई मूल्याङ्कन गरौ, चाहे तीन घण्टे परीक्षा लिएर परीक्षा दिन लगाऔं उनीहरुले प्राप्त गर्ने प्राप्तांकमा कुनै फरक पर्दैन । शैक्षिक योग्यता कुनै ठूलो प्रमाणपत्र पनि होइन । यो त बसको टिकट जत्तिकै हो । बसको टिकटले हामीलाई यात्राको सुनिश्चिता प्रदान गरेको हुन्छ र सम्वन्धित वस्ने सिटको पनि ।

ठीक त्यसरी नै यी शैक्षिक प्रमाणपत्र पनि अर्को परीक्षामा सामेल हुनको लागि दिइएको एक प्रमाण मात्र हो । अरु सवै कुरा व्यक्ति स्वंयममा केन्द्रीत हुन्छ । यो लव्धांकपत्र वा अक्षरांकले कक्षा १२ मा पढ्नको लागि मात्र अनुमति दिने हो । त्यहाँभन्दा बढी केही गर्न सक्दैन । प्रत्यक परीक्षामा उपलव्ध गराइएका लव्धांक वा अक्षराङ्कले केवल अर्को परीक्षाको लागि ढोका खोलेको हुन्छ । त्यसैले पनि अवको शिक्षाले विद्यार्थीलाई हातमा प्रमाणपत्र भन्दा जीउने शीप सिकाउन पर्छ । यही हो अहिलेको आवश्यकता ।

त्यसैले कक्षा ११ वा १२ को परीक्षालाई यसरी नै सञ्चालन गरिदिँदा कुनै अन्याय हुने छैन । स्नातक पढ्नको लागि पनि कक्षा ११ र १२ को अक्षरांकले मात्र काम गर्दैन फेरी अर्को प्रवेश परीक्षा दिनै पर्छ र जागिरको लागि पनि फेरी परीक्षा दिनै पर्छ । यसलाई ठूलो हाउगुजीको रुपमा नलिइ यसलाई सरल र सहज तरिकाले हल गर्ने बाटो रोज्नुपर्छ ।

अब अर्कोतर्फ पनि हेरौं । आज सन्सारकै समय रोकिएको अवस्था छ । यो असहज परिवेश हो । यो महामारीले कहाँँ पुर्याउँछ कसैलाई थाह छैन । विद्यालय खोल्ने र नखोल्नेको बीचमा पनि गहिरो बहस हुन्छ र हुन सक्छ । यहाँ बहसले कुनै अर्थ राख्दैन । चाहिएको छ निकास । कोभिडले आक्रमण गरीहाल्यो भने यसबाट कसरी मुक्ति प्राप्ति गर्न सकिन्छ र यसलाई आफुबाट कसरी परदेशी बनाउन सकिन्छ भन्ने विषयवस्तुको उत्तर चाहिएको छ ।

अब देशका प्रत्यक संरचना सञ्चालन गरी अगाडि बढ्ने कि भोलिको दिनमा भोकमरीको शिकार वन्ने यी दुई सवालको बीचमा संसार चलेको छ र नेपाल यसमा अछुतो छैन । यस्तै अवस्था बढ्दै गएमा जागिरेले तलव पाउने छैन, श्रमिकले काम पाउने छैन, व्यापारीले बेच्ने समान पाउने छैन, पाइहालेमा किनिदिने ग्राहक पाउने छैन । अब संसारको समयलाई रोक्नुहुँदैन । प्रकृतिको पूजा गर्दै आत्मबल वृद्धी गर्दै कोरोनासँग पाउठेजोरी खोज्नुको विकल्प छैन जसरी मृत्युको विकल्प छैन । यसैलाई विश्वास गरी अघि बढ्नुपर्छ ।

भोकमरीले मर्नुभन्दा पसिना निकालेर मर्नुमा नै वेश होला । अस्पतालमा काम गर्ने सवै डा., नर्स तथा अन्य सवै संक्रमित भएका छैनन्, जसको इमिन्युटी शक्ति कमजोर छ, उनीहरु संक्रमित भए र मृत्युवरण गरेका छन् । जसको समय जति लिएर आएको छ उसले आफ्नो जीवन पूरा जीएका हुन्छन् । प्रत्येक देश र समाजमा दिइएको शिक्षाले व्यक्तिको आत्मबल नै सवै रोगको निधारणको माध्यम हो भनि बुझाउन सक्नुपर्छ, स्वतन्त्र र स्वलम्वी वन्न शिकाउन सक्नुपर्छ, आत्मविश्वाश नै सवै कुराको प्राप्तिको माध्यम हो भनि वुझाउन सक्नु पर्छ ।
मानिस भएर परजिवी बन्न हुँदैन र बन्नको लागि उत्प्रेरित पनि गर्नुहुँदैन । तर के गर्नु नेपालका विद्यालय र महाविद्यालय पूर्णरुपमा फेल भएको अवस्था छ । हाम्रा विद्यार्थी नेपाल बस्न चाहदैनन् । यो माटोमा खेल्न चाहदैनन् तर परदेशमा गएर भाडा माझ्न तयार छन्, ट्वाइलेट सफागर्न तयार छन् ।

खोइ नेपालको शिक्षाको गौरव गर्ने ठाँउ । गाँउ, शहर सवै नांगिएको छ । बाउआमाको काख रित्तिएको छ । के गर्ने ? यो अवस्थालाई कसले रोक्ने ? छोराछोरी अमेरिका, बेलायत, जापान, क्यानडा, अष्ट्रेलिया आदिको टिकट काट्दै गर्दा दंग पर्ने बाउआमा पछि दागबत्तिको पर्खाइको पिडामा जिउन पर्ने बनाएका छौं । हामी कहाँ चुक्यौं र नेपाललाई कता धकेल्दै छौं ? अब पनि नसोचे पछि धेरै ढिला हुने छ । गौरव गरौं नेपाली हनुमा र गौरव मान्ने बनाऔं भावी सन्ततीलाई पनि । यही शिक्षा दिलाउन सक्नुपर्छ नेपालका विद्यालय तथा महाविद्यालयले ।

नि. प्रधानाध्यापक
पशुपति मित्र मा.वि. चावहिल काठमाडौं नेपाल

प्रतिकृया दिनुहोस्