काठमाडौं । नेपाल शिक्षक महासंघले संघीय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेको छ । महासंघको प्रतिनिधि मण्डलले बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई भेटेर संघीय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेको हो ।

महासंघको टोलीले शिक्षामन्त्रीसँगै शिक्षा सचिव रामप्रसाद थपलियासँग पनि भेट गरेको थियो । टोलीले शिक्षा मन्त्री एवं सचिवसँगको भेटमा शिक्षा, शिक्षक तथा विद्यालय कर्मचारीका मुद्दामा ध्यानाकर्षण सहित छलफल गरेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार प्रतिनिधि मण्डलले नयाँ बजेटमा प्रबन्ध गर्ने विषय लगायत शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्ना माग र अडान प्रस्तुत गरेको थियो ।

छलफमा राहत, करार, साविक उमावि, बालकक्षाका शिक्षक तथा विद्यालय कर्मचारीका माग तथा ती विषयमा विगतमा भएका सम्झौताहरु मन्त्री एवं सचिवलाई ध्यानाकर्षण गराइएको अधिकारीले जानकारी दिए ।

यस्तै, स्थायी शिक्षकका समस्या र मागहरु( आवधिक बढुवा, अस्थायी अवधि गणना, तहगत बढुवा आदि) र विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकमाथि भएको श्रम शोषण र उचित तलब बृध्दिको सवालमा पनि छलफल भएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

यसैगरी, दरबन्दी मिलानबाट सिर्जना भएका समस्या र शिक्षक माथि भएका अन्यायहरुको सवाल, स्थानिय तहबाट शिक्षक माथि भएका ज्यादती साथै, शैक्षिक संवाद समन्वय समितिको वैठकको निरन्तरता र सहमती हुन बाँकी सबै मुद्दामा छलफल गरी सहमती गरिनु पर्ने विषयमा पनि ध्यानाकर्षण गराइएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

विभिन्न कारणले स्थानीय तहले तलव भुक्तानी नदिएका कारण मर्कामा परेका शिक्षकको समस्या, शिक्षक, विद्यालय कर्मचारी र विद्यार्थीकालागि कोभिड – १९ विरुद्घको खोपको उपलब्धता, शिक्षा मन्त्रालयबाट जारी भएको विद्यालय बन्दको निर्देशन विपरित पालिकाहरुबाट जारी भएका विद्यालय चलाउने परिपत्र, सबै शिक्षकका लागि प्राविधिक ग्रेड उपलब्ध हुनुपर्ने, पाठ्यक्रम र परीक्षा, द्वन्द्वपीडित शिक्षकको समस्या निदान साथै, अन्य समसामयिक विषय तथा समस्याहरुलगायतका सम्बन्धमा महासंघका प्रतिनिधि र शिक्षामन्त्रीबिच छलफल भएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा महासङ्घ उपाध्यक्ष हेमचन्द्र महतो, महासचिव लक्ष्मीकिशोर सुवेदी, उपमहासचिव अर्थ शेरबहादुर अधिकारी, नेपाल शिक्षक सङ्घका अध्यक्ष राजेन्द्रराज पौडेल र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्