तेह्रथुम । लालीगुराँस नगरपालिकाका शिक्षा शाखा प्रमुख रामकृष्ण निरौलाविरुद्ध जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ ।

लालीगुराँस नगरपालिका–८ सोल्माका ३४ वर्षीय कुवेर दाहाललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा उनीविरुद्ध गत जेठ २९ गते जाहेरी परेको थियो ।

मृतकका दाजु खेमप्रसाद दाहालले इलाका प्रहरी वसन्तपुरमा निरौलाविरुद्ध किटानी जाहेरी दर्ता गराएका हुन् । दाहाल गत जेठ २९ गते बिहान रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

स्थानीय कृषि सहकारी संस्थाको व्यवस्थापक रहेका दाहाल र निरौलाबीच जेठ २८ गते बेलुकी टेलिफोन संवाद भएको जाहेरीमा उल्लेख छ । संवादमा निरौलाले विभिन्न आरोप लगाउँदै पैसासमेत मागेको र पैसा उपलब्ध नगराए कालोबजारी गरेको आरोपमा १० वर्ष जेल हालिदिने भन्दै मार्नेसम्मको धम्की दिएको मृतकका दाजुले जाहेरीमा उल्लेख गरेका छन् ।

जाहेरी दर्तापछि अदालतबाट आदेश लिएर निरौलालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक नवीनकिशोर प्रधानले बताए । पक्राउ परेका निरौलालाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

कानुनले आत्महत्याको दुरुत्साहन गर्ने वा आत्महत्याको परिस्थिति खडा गर्ने कार्यलाई कसुरको रूपमा लिएर दण्डनीय बनाइएको छ । मुलुकी अपराध संहितामा त्यस्तो कसुर प्रमाणित भए ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने प्रावधान छ ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्