काठमाडौं । काठमाडौं विश्वविद्यालय अन्तर्गतको हल्ट प्राइज कमिटीले आयोजना गरेको ‘हल्ट प्राइज’को उपाधि ‘डा. फिस’को टोलीले जितेको छ । मंगलबार भएको फाइनलमा अन्य ४ टोलीलाई पछि पार्दै ‘डा. फिस’को टोली विजेता बनेको हो ।

गएको शनिवार काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट(कुसोम) को कार्यालय बालकुमारीमा भएको सेमिफाइनलमा १३ ओटा टोलीबाट उत्कृष्ट पाँच टोली फाइनल चरणमा पुगेका थिए । सेमीफाइनलबाट फाइन प्रवेश गर्ने विद्यार्थीहरुको उत्कृष्ट पाँच टोलीहरुको नामहरु ‘डा. फिश’, ‘लेडीज विथ ए ल्याम्प’, ‘हेम्पायर’, ‘द अपसाइकलर्स’ र ‘कोडोको खाजा’ रहेका थिए ।

‘डा. फिस’को टोलीको विजेता बन्दा टोली ‘हेम्पायर’ उपविजेता र ‘कोडो को खाजा’ दोस्रो उपविजेता बनेका थिए ।

क्यानेडियन स्टडी सेन्टर र अग्नि महिन्द्रा समूहको सहयोगमा आयोजित ‘हल्ट प्राइज’ प्रतियोगितामा काठमाडौं विश्वविद्यालय अन्तर्गतका विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुको १३ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिस्पर्धी समूहले प्रस्तुत गरेको उत्कृष्ट बिजनेस आइडियाका आधारमा ७ सदस्यीय निर्णायक मण्डलबाट उत्कृष्ट टोली छनोट गरिएको आयोजक कमिटीका प्रमुख साशा सुनुवारले जानकारी दिइन् । उनकाअनुसार उत्कृष्ट बनेको डा. फिशले अब काठमाडौं विश्वविद्यालयको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय स्तरमा हुने अर्को प्रतिस्पर्धामा भाग लिनेछ ।

प्रतिस्पर्धी टोलीहरुको मूल्याङ्कन जिरो सर्कुलरको सह–संस्थापक अनिमा पिया, ग्रेट नेपाली डायस्पोराकी संस्थापक प्रीति अधिकारी, गल्ली म्याप्सका प्रमुख कार्यकारी अधिकृत राज विक्रम महर्जनसहितको निर्णायक मण्डलले गरेको थियो । निर्णायक मण्डलका अन्य सदस्यहरुमा फ्युल एक्सलेरेटरमा ‘इन्टरप्रेन्योर इन रेसिडेन्स’ रहेका साजन गौतम, खुद्रा एशियाका संस्थापक शशांक दास वर्मा, अग्नि महिन्द्रा समूहका उपाध्यक्ष वेदा श्रेष्ठ, भरोशा टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत शरद बन्जरालगायत रहेका थिए ।

फाइनल कार्यक्रमकी प्रमुख अतिथि एवम् क्यानेडियन स्टडी सेन्टरकी ऐश्वर्या खुलालले प्रतिस्पर्धाले विद्यार्थीहरुलाई उद्यमी बन्न प्रोत्साहित गरेको बताइन् । यस्ता प्रतिस्पर्धाहरुबाट अध्ययन पूरा गर्दै गरेका विद्यार्थीहरुलाई उद्यमी बन्न उत्प्रेरित गर्ने उनले विश्वास व्यक्त गरिन् ।

विशेष अतिथि एवम् अग्नि महिन्द्रा ग्रुपका व्यापार विश्लेषक बेदन्त श्रेष्ठ, अग्नि महिन्द्रा ग्रुपका प्रमुख फाइनान्स हेड दुर्गाप्रसाद आचार्यलगायतले विजेता समूहलाई बधाइ दिँदै अन्य टोलीको प्रस्तुतिकोसमेत प्रशंसा गरेका थिए ।

विजेता डा. फिशको टोलीले डोनट ड्रोल, जुस मण्डला, बिहम्बल, स्लिप मी अन, ओरिसो, डोर टो डोर, एरोनिक, ट्याक्सीमान्डु आदिका भाउचरहरू र अतिरिक्त उपहारसहित कुल बीस हजार रुपैयाँ प्राप्त गर्यो ।

डोनट ड्रोल र ओरिसोबाट उपहारहरू, ट्याक्सीमान्डु, जुस मण्डला, एरोनिक, सिचु नेपालबाट भौचरहरू दोस्रो उपविजेताले पाँच हजार रुपैयाँ साथै डोनट ड्रोल बाट उपहार, जुस मण्डलाबाट भौचर, डोर टो डोर, ट्याक्सीमान्डु , एरोनिक, सिचु नेपाल हात पारेका थिए । तेस्रो र चौथो उपविजेताले पनि पच्चीस सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्