काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी घोषणा गरेको दिवा खाजा कार्यक्रमको बजेट यस वर्ष खर्च नहुने देखिएको छ । शैक्षिक सत्रको झन्डै पाँच महिनामा उक्त रकम खर्च भएको छैन । अझै भौतिक कक्षा कहिले सुरु हुने भन्ने अन्योल रहेकाले उक्त रकम वैकल्पिक विधि पठनपाठनमा खर्च गरिनुपर्ने आवश्यकता सम्बद्ध व्यक्तिहरूले औँल्याउनुभएको छ ।

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शैक्षिक सत्रको झन्डै पाँच महिना विद्यार्थीको भौतिक उपस्थितिविना नै सकिएको अवस्थामा अब दिवा खाजा कार्यक्रमको रकम विद्यार्थीकै वैकल्पिक विधिको पठनपाठनमा सहयोग तथा उपयोगी हुने गरी खर्च गरिनु सान्दर्भिक हुने बताउनुभयो ।

सरकारले बजेट भाषणमार्फत देशभरका सबै सामुदायिक विद्यालयका कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने घोषणा गरेको थियो ।

सरकारले स्थानीय सरकारमार्फत विद्यालय तहमा पु¥याउने गरी दिवा खाजाका लागि सात अर्ब ५२ करोड रुपियाँ विनियोजन गरेको थियो । यसबाट कक्षा ५ सम्म अध्ययन गर्ने झन्डै २८ लाख बा(लबालिका लाभान्वित हुने सरकारको अनुमान थियो ।तर उक्त रकम अब खर्च नहुने अवस्था देखिएपछि विद्यार्थीका लागि विनियोजित उक्त रकम विद्यार्थीकै पठनपाठनमा सहयोग हुने गरी खर्च गरिनुपर्ने विद्यालयका प्रधानाध्यापकहरूको धारणा छ ।

जनप्रभात मावि कलङ्कीका प्रधानाध्यापक जितबहादुर लामिछाने उक्त रकम भौतिक पूर्वाधारका साथै प्राविधिक क्षमता अभिवृद्धिका लागि खर्च गर्नु राम्रो हुने बताउनुभयो ।

सरकारले भौतिक कक्षा सञ्चालन हुन नसकेको अवस्थामा वैकल्पिक विधिलाई प्रभावकारी रूपमा अघि बढाउन अनलाइन खर्च, रेडियो, डिभाइसलगायतमा खर्च गर्न राम्रो हुने राजधानीको नीलवाराही माध्यमिक विद्यालयका प्रअ डा. जानुका पौडेलको सुझाव छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले कोरोनाका कारण विद्यालयका कक्षा सञ्चालन हुन नसक्दा सरकारले विनियोजन गरेको दिवा खाजा हाल सदुपयोग हुन नसकेको स्वीकार्नुभयो ।

निर्देशक गौतमका अनुसार कर्णालीका विद्यार्थीलाई प्रतिदिन २० र अन्य क्षेत्रका विद्यार्थीलाई प्रतिदिन १५ रुपियाँका दरले दिवा खाजाको प्रबन्ध गर्ने गरिएको छ ।

गोरखापत्रमा खबर छ ।

प्रतिकृया दिनुहोस्