काभ्रे । धुलिखेल नगरपालिकाका बासिन्दाले निःशुल्क स्नातक तह पढ्न पाउने भएका छन् । नगरलाई शैक्षिक हबको रुपमा अगाडि बढाउन लागेको धुलिखेलले आर्थिक वर्ष २०७७/०७८ बाट निःशुल्क स्नातक तह सुरु गर्ने भएको हो ।

धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोककुमार ब्याञ्जूले नगरभित्र रहेको धुलिखेल क्याम्पस र सञ्जिवनी क्याम्पसमा स्नातक तहमा पढ्ने नगरभित्रका सबै विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरको सातौँ नगरसभाले उक्त निर्णय गरेको थियो । नगरका १२ वटै वडाका बासिन्दाले यो सुविधा पाउनका लागि नगरमा रहेका दुई क्याम्पसमा विद्यार्थी भने अनिवार्य पढाउनुपर्नेछ ।

त्यस्तै नगरसभाले काभ्रेपलाञ्चोक जिल्लाका अन्य स्थानीय तह तथा अन्य जिल्लाबाट समेत धुलिखेल क्याम्पस र सञ्जिवनी क्याम्पसमा पढ्न आएमा ५० प्रतिशत छुट दिने भएको छ ।
धुलिखेल नगरपालिकाका शिक्षा शाखा प्रमुख माधवप्रसाद शर्माले विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि नगरले उक्त निर्णय गरेको जानकारी दिनुभयो ।

हामीले भर्ना भएको विद्यार्थीको ७० प्रतिशत हाजिरी भएमा मात्र सेवा पाउने व्यवस्था मिलाएका छौँ । भर्ना हुने र पछि परीक्षा मात्र दिनेलाई यो नियम लागू नहुने उहाँका भनाइ छ । धुलिखेलले विशेषतः आर्थिक अवस्था कमजोर रहेकालाई प्रोत्साहन र नगरभित्रका विद्यार्थीलाई यही टिकाउन यो नीति लिएको शर्माले जानकारी दिनुभयो ।

उहाँले जुनसुकै जिल्लाको भए पनि ५० प्रतिशत छुट दिने बताउनुभयो । उच्च शिक्षामा सबै समुदायका विद्यार्थीको पहुँच पुर्याउन, शैक्षिक गुणस्तरमा सुधार ल्याउन र प्रतिस्पर्धात्मक प्रणालीको विकास गर्न नगरपालिकाले विशेष महत्वका साथ उक्त कार्यक्रम सञ्चालन गर्न लागेको शिक्षा प्रमुखले शर्माले बताउनुभयो ।

धुलिखेल र सञ्जिवनी क्याम्पसमा शिक्षा र व्यवस्थापनको पढाइ हुँदै आएको छ । हाल स्नातक तहमा ३७० जना विद्यार्थी अध्ययनरत रहेका छन् । नगरले यस आर्थिक वर्षमा ३७० विद्यार्थीलाई निःशुल्क पढाउने लक्ष्य लिएको शिक्षा शाखाले जनाएको छ ।

मधुसुधन तिमल्सिनाले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्