ताप्लेजुङ । तत्कालै शिक्षण संस्था सञ्चालन हुन सक्ने अवस्था नदेखिएपछि हिमाली जिल्ला ताप्लेजुङको उत्तरी दुर्गम क्षेत्रहरुमा घरमै बसेर पढ्न पाउने योजनाको विकास गरिएको छ। ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालले नेपाल सरकार, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा समूहसंगको समन्वय तथा सहकार्यमा यस्तो योजनाको विकास गरेको हो। यस क्रममा सामुदायिक विद्यालयहरुका बाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि स्व–अध्ययन पाठ्य सामग्रीको विकास गरिएको छ।

सो भन्दा उभोंका विद्यार्थीका लागि ‘शिक्षक–विद्यार्थी घरदैलो अभियान’सञ्चालनमा ल्याईएको छ। विद्यालय सञ्चालन नभएको अवस्थामा विद्यार्थीको मनस्थितिलाई अध्ययन भन्दा बाहिर जान नदिन बैकल्पिक शिक्षण सिकाईका लागि यस्तो अभियान सञ्चालन गरिएको रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्र पन्तले जानकारी दिए। स्व–अध्ययन सामग्रीमा बाल कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीको पाठ्यपुस्तकमा आधारित प्रश्नका आधारमा उत्तर लेख्न सक्ने गरी पाठ्यसामग्री तयार पारिएको छ।

नेपाली, सामाजिक, अंग्रेजी, गणित र बिज्ञान विषय समेटेर तयार पारिएको स्व–अध्ययन सामग्रीका आधारमा विद्यार्थीले घरमै बसेर पढ्न सक्ने वातावरण तयार गरिएको पन्तले बताए। स्व–अध्ययन सामाग्रीको प्रयोगको सहजीकरणका लागि स्थानीय शिक्षकलाई जिम्मेवारी दिईएको छ। स्व–अध्ययन सामाग्रीको उपयोगिताको मूल निगारानी सम्बन्धित विद्यार्थीका अभिभावकले गर्नेछन्।

स्व–अध्ययन सामग्रीमा भएका कुनै जिज्ञासाको समाधान घरका अभिभावकबाट हुन नसके त्यसको सहजीकरणका लागि टोल नजिक रहेका शिक्षक विद्यार्थीकै घरमा पुग्नेछन्। व्यक्तिगत स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर बढीमा ५ जनासम्म विद्यार्थीलाई एकै ठाउँमा राखेर पनि विद्यार्थीले सोध्न चाहेको जिज्ञासाको समाधान गर्ने प्रणालीको विकास गरिएको रिड नेपालले जनाएको छ। अभियानका लागि अधिकांश अभिभावकले रुची राखेको र विद्यार्थीका लागि घरमै बसेर पढ्न पाउने व्यवस्था समेत भएकोले यो अभियान प्रभावकारी हुने रिडको बिश्वास छ।

‘स्व–अध्ययन सामग्रीको सहि उपयोग भए/नभएको बारे अभिभावकबाटै अनुगमन हुने र अभिभावकबाट विद्यार्थीको जिज्ञासाको समाधान हुन नसके स्थानीय शिक्षकले सहजीकरण गर्ने संयन्त्रको विकास भएकोले यसको उपयोगितामा खासै शंका गर्ने ठाउँ रहदैन’रिडका जिल्ला कार्यक्रम प्रवन्धक पन्तले भने। विद्यालयमा पढाई हुने सबै विषयको पाठ्यसामग्रीलाई एउटै पुस्तिकामा राखेर स्व–अध्ययन सामग्री तयार भएकोले विद्यालय सञ्चालन नभएको अवस्थामा विद्यार्थीका लागि यो अभियान प्रभावकारी हुने रिडले ठम्याएको छ।

स्व–अध्ययन सामग्रीको सदुपयोग र समस्या बारे रिड नेपालले स्थलगत अनुगमन समेत गर्ने भएकोले समस्या देखिएका क्षेत्रहरुमा तत्कालै समाधानको बिकल्प तयार गर्न सकिने पन्तले जानकारी दिए । करिव २ महिनाको अवधिलाई लक्षित गरी स्व–अध्ययन सामग्री तयार तयार पारिएको रिडले जनाएको छ। सिरिजङ्घा गाउँपालिकाको खेवाङ, मामाङ्खे र याम्फुदिन तथा फक्ताङ्लुङ गाउँपालिकाको ईखाबु, लेलेप, तापेथोक र ओलाङ्चुङगोलाका करिव १ हजार ६ सय विद्यार्थीलाई स्व–अध्ययन सामग्रीको ‘बुकलेट’वितरण गरिएको छ।

यता कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीका लागि भने रिडले बैकल्पिक सिकाईका २ वटा अवधारणा अघि सारेको छ। पहिलो, दुर शिक्षा रेडियो कार्यक्रम। दोस्रो, शिक्षक–विद्यार्थी घरदैलो अभियान। तल्ला तहका विद्यार्थीका लागि दुर शिक्षा रेडियो कार्यक्रम त्यति प्रभावकारी नदेखिएको महसुसका आधारमा स्व–अध्ययन सामग्रीको विकास गरिएको हो। कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीका लागि भने रेडियोबाट हुने पढाईलाई आधार मानेर थप सिकाईका लागि शिक्षक–विद्यार्थी घरदैलो अभियान सञ्चालनमा ल्याईएको हो। यो अभियानमा विद्यार्थीलाई पढाउन शिक्षक विद्यार्थीको घरदैलोमा पुुग्नेछन्।

बढीमा ५ दिनमा एकदिन पालो पर्नेगरी प्रत्येक शिक्षकलाई विद्यार्थीको घरदैलोमै व्यवस्था गरिएको रिडले भनेको छ। खटिएका शिक्षकले टोल–टोलमा पुगेर सहजीकरण गर्ने तथा पढाईका आधारमा गृहकार्य दिने छन्। सो गृहकार्य ५ दिनपछि शिक्षकले घर–घरमै गएर परीक्षण गर्ने तथा पृष्ठपोषण दिने र थप गृहकार्य समेत दिनेछन्।

खगेन्द्र अधिकारीले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्