काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको उपप्राध्यापक छनोटको लिखित परीक्षामा अधिकांश विषयमा मागभन्दा थोरै परीक्षार्थी उत्तीर्ण भएका छन् । सेवा आयोगको बुधबार प्रकाशित नतिजापछि विश्वविद्यालयमा क्षमतावान् व्यक्तिको आकर्षण नभएको हो कि शिक्षाको स्तर खस्केको हो भन्ने बहस सुरु भएको छ ।

आयोगले १ सय ६० विषयमा उपप्राध्यापक छनोटका लागि गत वर्ष परीक्षा सञ्चालन गरेको थियो । अधिकांश विषयमा प्रतिस्पर्धी परीक्षार्थीको संख्या पनि न्यून थियो । उत्तीर्ण हुनेको संख्या अत्यन्तै थोरै रहेकाले उनीहरू मौखिक परीक्षाबिनै स्वतः उपप्राध्यापकमा छनोट हुँदै छन् । व्यवस्थापन संकायमा ४६ जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरिएको थियो । ४ सय ९६ जनाले लिखित परीक्षा दिएकामा ८ जना मात्रै सफल भएका छन् ।

विद्यालयका शिक्षक तयार पार्ने शिक्षा संकायतर्फको उपप्राध्यापक छनोटको नतिजा पनि निराशाजनक छ । अंग्रेजी विषयमा १४ जना उपप्राध्यापकको माग भएको थियो । १ सय ५४ जनाले लिखित परीक्षा दिएकामा ५ जना मात्रै उत्तीर्ण भएका छन् । अर्थशास्त्र, सामाजिक अध्ययन इतिहास र शैक्षिक योजना तथा व्यवस्थापन विषयमा एक जना पनि उत्तीर्ण हुन सकेका छैनन् । अर्थशास्त्र विषयमा ३ जना उपप्राध्यापक माग गरिएको थियो । १६ जना परीक्षामा प्रतिस्पर्धी थिए । सामाजिक अध्ययन विषयका लागि माग संख्या १ थियो । ३ जनाले परीक्षा दिएकामा तीनै जना अनुत्तीर्ण भए । गणित र विज्ञान विषयमा ८/८ जना उपप्राध्यापक माग गरिएको थियो । क्रमशः ५० र २८ जनाले परीक्षा दिएकामा २ र ६ जना मात्रै उत्तीर्ण भए ।

चिकित्सा शिक्षा, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, मानविकी, कृषि तथा पशुविज्ञानको अवस्था पनि शिक्षाशास्त्र संकायको जस्तै छ । रसायनशास्त्र विषयमा १३ जनाको माग थियो । २ सय ६ जनाले परीक्षा दिएकामा ५ जना मात्रै सफल भए । वनस्पतिशास्त्रमा माग संख्या १७ थियो । २१ जना लिखित परीक्षा उत्तीर्ण भएका छन् । एक सय २० जनाले परीक्षा दिएका थिए । बायोकेमेस्ट्री विषयमा १२ जना परीक्षार्थीमध्ये एक जना पनि सफल भएनन् । माग संख्या ३ थियो । भौतिकशास्त्रमा १ सय ७ जनाले परीक्षा दिएकामा ८ जना उत्तीर्ण भएका छन् । १७ जना उपप्राध्यापकका लागि आवेदन खुलेको थियो । शिक्षाबाहेकको गणितका लागि ४ जनाको माग संख्या रहँदा १ सय १२ जनाले परीक्षा दिएका थिए तर एक जना पनि पास भएका छैनन् । प्राणीशास्त्रमा १७ जनाको माग सख्यां थियो । ७ जना मात्रै सफल भए । १ सय ६२ जना परीक्षामा सहभागी थिए ।

भूगर्भशास्त्रमा ४१ जनाले परीक्षा दिँदा ५ जना मात्रै सफल भएका छन् । माग संख्या ८ थियो । खाद्य प्रविधि विषयमा २ जनाको माग थियो । ९ जनाले परीक्षा दिएकामा १ जना मात्रै उत्तीर्ण भए । कम्प्युटर विज्ञानमा १६ जना माग गरिएको थियो । १२ जनाको मात्रै आवेदन पर्‍यो । उनीहरू सबै असफल भए । कानुन संकायमा २१ जनाका लागि ४४ परीक्षार्थीले परीक्षा दिएका थिए । ९ जना मात्रै उत्तीर्ण भए । जनप्रशासनतर्फ पनि उत्तीर्ण दर शून्य छ । ४ पदका लागि १८ जना परीक्षार्थी प्रतिस्पर्धामा थिए ।

समाजशास्त्रमा माग संख्या १० रहेकामा १३ जना सफल भएका छन् । १ सय ३६ जनाले परीक्षा दिएका थिए । मेडिकल बायोकेमेस्ट्रीमा १ जना उपप्राध्यापकका लागि १३ जनाले प्रतिस्पर्धा गरेका थिए तर कुनै पनि उम्मेदवार सफल भएनन् । सिभिल इन्जिनियरिङमा ७ पदका लागि ६ जना उत्तीर्ण भएका छन् । ३६ जना परीक्षामा सहभागी थिए । इलेक्ट्रिकल इन्जिनियरिङमा १४ जनाले परीक्षा दिएका थिए । माग संख्या ७ रहे पनि ३ जना मात्रै सफल भएका छन् । कम्प्युटर इन्जिनियरिङतर्फ ५ पदमा २८ जनाबीच प्रतिस्पर्धा भएको थियो । ३ जना मात्रै उत्तीर्ण भएको आयोगले जनाएको छ । मेकानिकल इन्जिनियरिङमा ५ पदका लागि ९ जना पास भएका छन् । १४ जनाले परीक्षा दिएका थिए । चिकित्साशिक्षाको न्युरो सर्जरीमा १ पदका लागि १ जना सफल भएका छन् । २ जनाले मात्रै परीक्षा दिएका थिए । यसतर्फका अधिकांश विषयमा माग संख्या र परीक्षार्थीको संख्या समान जस्तै छ ।

प्राध्यापन पेसामा आकर्षण नहुनु वा पढाइ गुणस्तरीय नहुनुले माग संख्याभन्दा कम परीक्षार्थी उत्तीर्ण भएको सरस्वती बहुमुखी क्याम्पसमा एमबीए कार्यक्रमका निर्देशक केपी पाण्डेले बताए । शिक्षाविद् बालचन्द्र लुईंटेल त्रिवि सेवा आयोगको नतिजाले विश्वविद्यालयको अवस्था गतिलो नभएको प्रस्ट्याउने बताए । ‘त्रिवि सेवा आयोगको परीक्षा पहिलेभन्दा पारदर्शी हुन थाल्यो कि भनेर थोरै आशा गर्ने ठाउँ पनि छ,’ उनले भने, ‘तर माग संख्या, परीक्षार्थीको संख्या र उत्तीर्ण दर तुलना गरेर हेर्दा पढाइको गुणस्तर सुधार गर्नु नै पर्छ ।’

२४० परीक्षार्थीको परीक्षा रद्द

त्रिवि सेवा आयोगले २ सय ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको जनाएको छ । परीक्षकलाई आफ्नो पहिचान खुल्ने गरी उत्तरपुस्तिकामा संकेत गनेको परीक्षा रद्द गरिएको हो । उत्तरपुस्तिकामा कतिपय परीक्षार्थीले फोन नम्बरसमेत लेखेको पाइएको आयोगका प्रमुख केदारनाथ ढकालले जानकारी दिए ।

चिकित्सा शिक्षा अध्ययन संस्थानतर्फका १६ परीक्षार्थीको उत्तरपुस्तिका रद्द गरिएको छ । इन्जिनियरिङ अध्ययन संस्थानका १० परीक्षार्थीको पनि परीक्षा रद्द गरिएको छ । कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका ६ वटा उत्तरपुस्तिका रद्द गरिएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ७७ र मानविकी संकायका ५८ उत्तरपुस्तिकामा पनि पहिचान खुल्ने संकेत भेटिएपछि रद्द गरिएको छ । शिक्षा संकायका ३०, व्यवस्थापनका ३८ र अन्य केही विषयका परीक्षा रद्द भएका छन् ।

सुदीप कैनीले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्