दाङमा पठनपाठन सुरु

Avatar photo

Byएजुकेशन पाटी

६ आश्विन २०७७, मंगलवार

दाङ । सरकारले सिकाई निर्देशिका २०७७ जारी गरेसंगै सामाजिक दूरी कायम राखेर विद्यालय सञ्चालन गर्न अनुमति दिएपछि दाङमा पठनपाठन सुरु हुन थालेको छ। जिल्लाका केहि सामुदायिक तथा निजी विद्यालयहरुले विद्यार्थीहरुको सामाजिक दूरी कायम राखेर पठनपाठन थालेका हुन्। विद्यालय खुलेसंगै ६ महिनासम्म घरमै थुनिएका बालबालिकाहरु विद्यालय जान हौसिएका छन्। घोराही उपमहानगरपालिका वडा नम्बर १२ स्थित हापुर माबि निघुवारले विद्यालयमा पठनपाठन थालेको तीन दिन भइसक्यो। यो विद्यालयले विद्यार्थीलाई सामाजिक दूरी कायम राखेर पठनपाठन सञ्चालन गरेको छ।

‘अहिले प्रत्येक कक्षामा १०/१५ जनाका दरले विद्यार्थीहरु अध्ययनका लागि विद्यालयमा आईरहेका छन्,’ विद्यालयका प्रधानाध्यापक अर्जुन न्यौपानेले भने ‘विद्यार्थीहरुको स्वास्थ्य सुरक्षा प्रति गम्भीर भएर सोही अनुसार पठनपाठनको व्यवस्थापन मिलाएका छौं।’ विद्यालयमा पठनपाठन सुरु गर्नुपूर्व विद्यालयले अभिभावक तथा विद्यार्थीहरुसंग पनि राय लिएको थियो। अभिभावक तथा विद्यार्थीहरुले पठनपाठन सञ्चालन गर्न सुझाएपछि पठनपाठन सञ्चालन गरिएको न्यौपानेले जानकारी दिए। ‘हामीहरुले असोज १ र २ गते अभिभावकहरुसंग सम्पर्क गर्यौँ, उहाँहरुले पठनपाठन सुरु गर्न सुझाव दिनुभयो,’ न्यौपानेले भने ‘सोही अनुसार स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पठनपाठन सुरु गर्यौँ।’

उनका अनुसार विद्यार्थीहरु एउटा बेन्चमा एकजना मात्रै बस्ने व्यवस्था मिलाईएको छ। यसैगरि मास्क, सेनिटाईजरको व्यवस्थापनसहित हात धुनका लागि विद्यालयमा साबुन पानीको व्यवस्थापन गरिएको उनले वताए। पठनपाठन सुरु भएसंगै विद्यालययमा विद्यार्थीहरुको संख्या बढ्दै गईरहेको छ। उनले विद्यार्थीको संख्या बढ्दै गए ग्रुप विभाजन गरेर पठनपाठन गराईने जानकारी दिए। ‘विद्यार्थीको संख्या बढ्दै गए १५/१५ जनाको ग्रुप बनाएर कक्षा सञ्चालन गर्ने छौँ,’ उनले भने।

सरकारको सिकाई निर्देशिकाले आगामी चैत सम्म १ सय ५१ दिनको अवधिमा पाठ्यभार पुरा गर्न पनि भनेको छ। सोही अनुसार केहि विद्यालयहरुले पठनपाठन थालेका छन् भने केहिले आगामी ८ गते देखि कक्षा सञ्चालन गर्ने तयारी गरेका छन्। घोराहीस्थित हिन्दु विद्यापीठ नेपालले समुदायस्तरमै पुगेर कक्षा सञ्चालन गरेको छ। ७ कक्षा सम्मका विद्यार्थीहरुलाई पढाउनका लागि उनीहरुको पायक पर्ने थलोमा कक्षा सञ्चालन गरिएका छन्। शिक्षकहरु पालैपालो ती स्थानमा गएर अध्यापन गर्ने गरेका छन्।

‘कक्षा ७ सम्मका विद्यार्थीहरुलाई उनिहरुको पायक पर्ने थलोमा पुगेर पढाईरहेका छौँ,’ विद्यालयका शिक्षक पीताम्बर रिजालले भने ‘हामी शिक्षकहरु समुदायस्तरमै सञ्चालन गरिएका कक्षामा पुगेर पालैपालो पढाईरहेका छौँ।’ यसैगरि ८ देखि १० कक्षा सम्मका विद्यार्थीहरुलाई भने दिनहुँ ३ घण्टा बिद्यालयमै पठनपाठनको व्यवस्था गरिएको शिक्षक रिजालले जानकारी दिए। ‘विद्यार्थीहरु बीच सामाजिक दूरी कायम गराएर पठनपाठनको व्यवस्थापन मिलाएका छौँ,’ उनले भने ‘विद्यार्थीहरुलाई अनिवार्य मास्कसहित सेनिटाइजरको व्यवस्थापनसमेत गरिएको छ।’

सोमबरदेखि पठनपाठन सुरु गरेको दंशीशरण गाउँपालिका सलौरा स्थित लक्ष्मी नारायण आधारभुत विद्यालयमा पनि विद्यार्थीको उपस्थिती उत्साहजनक छ। यो विद्यालयले कक्षा अनुसार आलोपालो गरेर पठनपाठन सुरु गरेको छ। विद्यलयका प्रधानाध्यापक गोविन्दप्रसाद आचार्यका अनुसार यो विद्यालयमा एक दिन नर्सरीदेखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई एक दिन र ६ देखि ८ कक्षा सम्मका विद्यार्थीहरुलाई अर्को दिन पठनपाठन गरिएको छ। ‘हामीहरुले सबै कक्षाका सबै विद्यार्थीहरु एकै दिन विद्यालय आउँदा भीडभाड होला भनेर एक दिन नर्सरीदेखि ५ कक्षासम्मको कक्षा र अर्को दिन ६ देखि ८ कक्षासम्मको कक्षा सञ्चालन गरेका छौँ,’ प्रधानाध्यापक आचार्यले भने ‘अहिले विद्यार्थीहरुको संख्या उत्साहजनक छ।’ उनका अनुसार अभिभावकहरुले विद्यालय सञ्चालनका लागि आग्रह गर्दै आएका थिए।

सरकारले सिकाई निर्देशिका जारी गरेपछि विद्यालयले आवश्यक स्वास्थ्य सुरक्षाको प्रवन्ध मिलाएर पठनपाठन सुरु गरेको आचार्यले वताए। ‘विद्यालयको मूलगेटमै हात धुनका लागि साबुन पानीको व्यवस्थापन गरेका छौँ, यस्तै सेनिटाईजरको व्यवस्थापन गरिएको छ,’ आचार्यले भने ‘सबै विद्यार्थीहरु अनिवार्य मास्क प्रयोग गरेर मात्रै विद्यालय आईरहेका छन्।’सरकारको निर्देशिका जारी भएसंगै यसलाई टेकेर जिल्लाका केहि स्थानीय तहहरुमा सबै पठनपाठन सुरु भैसकेको छ भने अन्य स्थानीय तहका विद्यालयहरुले पठनपाठनको अन्तिम तयारी गरिरहेका छन्।

देवेन्द्र बस्नेतले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्