लमजुङ । हिमाली जिल्ला मनाङका दुई शिक्षकमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सरकारले पठनपाठन सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षक दुई साताअघि तराईबाट मनाङ आएका थिए ।

स्वास्थ्य कार्यालय मनाङका निमित्त प्रमुख बद्रिराज आचार्यका अनुसार भरतपुर नगरपालिका ११, चितवन घर भई मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङस्थित विद्यालयका शिक्षक ५७ वर्षीय पुरुष र विराटनगर ११ मोरङ घर भई ङावल आधारभूत विद्यालयका शिक्षक ५१ वर्षीय पुरुषमा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँहरूलाई चामेस्थित आइसोलेसनमा ल्याइएको आचार्यले बताए ।

गत भदौ २ गते पीसीआर विधिबाट परीक्षणका लागि सङ्कलित १८ नमुनामध्ये प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा दुई शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मनाङमा हालसम्म कुल ८१ जनाको नमूना सङ्कलन गरी पीसीआर गरिएकोमा तीन जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको कोरोना फोकल पर्सन एवम् जिल्ला अस्पताल चामेका डाक्टर सन्तोष अधिकारीले बताए । उनका अनुसार यसअघि एक जना निको भइसकेका छन् ।

केही दिनदेखि जिल्ला अस्पतालमा उपचार गराइरहेका ४२ वर्षीय पुरुषमा भने कोरोना सङ्क्रमण नेगेटिभ देखिएको उनले बताए । उनका अनुसार स्वास्थ्य अवस्थामा सुधार आएको छ । मनाङमा हालसम्म स्थानीय कसैमा पनि कोरोना सङ्क्रमण भएको छैन ।

बेलिना थापाले गोरखापत्रमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्