खोटाङ । शैक्षिक गुणस्तर सुधारका अनेकौं प्रयासहरुमध्ये एउटा यस्तो प्रयास सुरु गरिएको छ–जहाँ स्थानीय सरकार आफैंले विद्यार्थीको गृहकार्य जाँच गर्ने भएको छ । केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृहकार्य जाँच गर्ने भएको हो ।

विद्यार्थी र शिक्षक दुवैलाई क्रियाशील बनाउन गाउँपालिका आफैंले कापीसमेत आइतबार औपचारिक कार्यक्रम गरी वितरण गरेको छ । वितरण गरिएको कापीमा विद्यार्थीले के लेख्छन् त्यसलाई राम्ररी केलाउने र त्यसको आधारमा शैक्षिक क्रियाकलाप गर्ने गाउँपालिका अध्यक्ष समीर राईले बताए ।

पहिलो चरणमा कक्षा १ देखि कक्षा ३ सम्मका विद्याथीलाई ‘विद्यार्थी अभ्यास पुस्तिका’ वितरण गरेका अध्यक्ष राईले जनाए । गाउँपालिकाभरिका ३७ सामुदायिक विद्यालयका कक्षा १ देखि कक्षा ३ सम्मका ९ सय ४९ विद्यार्थीलाई पुस्तिका वितरण गरिएको छ । मंसिर महिनाका लागि चार/चार वटाका दरले तीन हजार सात सय ९६ वटा अभ्यास पुस्तिका वितरण गरिएको अध्यक्ष राईले बताए ।

पृष्ठभूमिमा गाउँपालिकाको कार्यालय र नक्सा राखिएको पुस्तिकामा मिति, विद्यार्थीको नाम, कक्षा, रोल नम्बर, विषय, विद्यालय, विषय शिक्षकको नाम र सम्पर्क नम्बर, प्रअको दस्तखत, अभिभावकको नाम र सम्पर्क नम्बर उल्लेख गरिएको छ । विद्यार्थीले अन्य कापी प्रयोग गर्न पाउने छैनन् । पुस, माघ र फागुन महिनाका लागि प्रतिविद्यार्थी चार वटाका दरले वितरण गर्ने गरी अन्य अभ्यास पुस्तिका भण्डारण गरेर राखिएको अध्यक्ष राईले बताए । चालु शैक्षिक सत्रका लागि १६ हजार कापी छापिएका छन् ।

कक्षा कार्य र गृहकार्य गर्ने क्रममा भरिएको कापीलाई सम्बन्धित विद्यालयका प्रअले गाउँपालिकामा बुझाएर नयाँ कापी लैजाने व्यवस्था गरिएको छ । विद्यार्थीले सबै पानामा लेखिसकेपछि प्रअले बुझाएको कापीलाई भने जनप्रतिनिधिको उपस्थितिमा शिक्षा शाखाले चेक गर्ने अध्यक्ष राईले बताए ।

यसो गर्दा शिक्षक र विद्यार्थीको क्रियाकलाप नियाल्न सजिलो हुने राईको भनाई छ । ‘शिक्षकले के पढाए र विद्यार्थीले कसरी सिके भन्ने देखिन्छ,’ राईले भने, ‘हाम्रो धेरै ठूलो सपना छैन, कसरी हुन्छ शैक्षिक गुणस्तर सुधार नगरी नहुने भएको छ ।’

गुणस्तर शिक्षाकै लागि सहर जाने प्रवृत्तिलाई रोक्न पनि सामुदायिक विद्यालयको गुणस्तर सुधारको प्रयास थालिएको राईले बताए । गुणस्तर शिक्षाका लागि सहर जाने भएकाले गाउँ रित्तिएको राईको भनाइ छ । ‘गाउँमै राम्रो पढाइ हुने भयो भने निम्न आर्थिक अवस्थाकाले पनि राम्रो शिक्षा पाउने छन् ।’ राईले भने, ‘यो वर्ष विद्यालय भर्ना भएका बालबालिका २० वर्षपछिको जनशक्ति भएकाले दक्ष जनशक्ति उत्पादनका लागि पनि यसो गरिएको हो ।’

डम्बरसिं राईले कान्तिपुरमा खबर लेखेका छन्।

प्रतिकृया दिनुहोस्