काठमाडौं । अनलाइन कक्षा बन्द गर्ने र शिक्षकहरुलाई बेतलवी विदा दिने निजी विद्यालयहरुको निर्णय घोर आपत्तिजनक रहेको भन्दै नेपाल शिक्षक महासंघले सो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

महासंघका अध्यक्ष बाबुराम थापाले विहिवार एक प्रेस विज्ञप्ति जारी गर्दै संकटको घडिमा शिक्षक कर्मचारीलाई आवश्यक राहत सहयोग गर्नु पर्नेमा उल्टै गैह्रकानुनी तरिकाले बेतलवी विदामा राख्ने निर्णय गर्नु घोर आपत्तिको विषय भएको बताएका हुन् ।

निजी विद्यालय सञ्चालकहरुको संस्था प्याब्सन र एनप्याब्सनले असार ३१ गते सरकारले आफूहरुको माग पुरा नगरेको भन्दै निजी विद्यालयमा सञ्चालित अनलाइन तथा दूर शिक्षा बन्द गर्दै शिक्षककर्मचारीहरुलाई बेतलवी विदा दिने निर्णय गरेको थियो ।

लगत्तै शिक्षक महासंघले विज्ञप्ति जारी गर्दै प्याब्सन र एनप्याब्सनको सो निर्णयको विरोध जनाएको हो । महासंघले अनलाईनमार्फत विद्यार्थीको पठनपाठनमा संलग्न रहेका शिक्षकहरुलाई सो कार्यबाट बञ्चित गराउनु बालबालिकाको पढ्न पाउने नैसर्गिक अधिकारको समेत उलंघन भएको स्पष्ट पारेको छ ।

यस्तै, निजी विद्यालयमा कार्यरत शिक्षकहरुको हालसम्म भुक्तानी गर्न बाँकी रहेको तलब भत्ता यथासिघ्र निकासा गर्न, कुनै पनि शिक्षक कर्मचारीलाई सेवाबाट अवकाश नगर्न तथा विद्यार्थीहरुको अनलाइन पठनपाठनलाई सुचारु गर्न सम्बन्धित पक्षसँग महासंघले जोडदार माग गरेको छ ।

बालबालिकाको निर्वाध रुपमा शिक्षा पाउने अधिकार तथा विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुको ट्रेड युनियन तथा पेशागत अधिकारको सम्मान गर्ने वातावरण निर्माण गर्न नेपाल सरकार लगायत सम्बन्धित सबैसँग महासंघले अपील गरेको छ ।

हेर्नुहोस् शिक्षक महासंघको विज्ञप्ति
नेपाल शिक्षक महासंघ नेपाली शिक्षक–कर्मचारीहरुको एकमात्र वैधानिक साझा संस्था हो । ‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’भन्ने मूल नाराका साथ गठित नेपाल शिक्षक महासंघले पेशागत एवम् शैक्षिक मुद्दाहरुको समाधानका लागि निरन्तर आवाज उठाउदै आएको छ ।

कोभिड–१९ को महामारीका कारण अहिले नेपाल लगायत विश्व आक्रान्त भईरहेको छ । माहामारीलाई फैलिन नदिन र रोकथामका लागि नेपाल सरकारले २०७६ साल चैत्र ११ गतेदेखि बन्दाबन्दीको निर्णय गरेका कारण देशभरका सबै शैक्षिक संस्थाहरु बन्द हुदा लाखौं विद्यार्थीको पठनपाठन अवरुद्द हुन पुगेको छ भने वर्षौंदेखि पेशामा कार्यरत शिक्षक कर्मचारीहरु पनि काममा फर्किन नसकेको अवस्था छ ।

अहिलेसम्म विद्यालय पुनः सञ्चालन गरी पठनपाठन नियमित गर्ने सम्बन्धमा सरकारले कुनै ठोस निर्णय लिएको अवस्था छैन । यो विषम परिस्थितिमा निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुले बन्दाबन्दी भएको समय अवधि विगत ४ महिनादेखि तलब नपाउदा आन्दोलन गर्नु पर्ने वाध्यतात्मक स्थिति शृजना भएको छ ।

यसैबीच मिति २०७७ आषाढ ३१ गते प्याब्सन र एनप्याब्सनद्वारा प्रेषित विज्ञप्तिले समस्याको समाधान गर्नुको साटो अझै अन्यौल पार्ने भाएकोले नेपाल शिक्षक महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । संकटको घडिमा निजी विद्यालयमा कार्यरत सबै शिक्षक कर्मचारीलाई आवश्यक राहत सहयोग गर्नु पर्ने प्याब्सन र एनप्याब्सन जस्तो जिम्मेवार संस्थाले उल्टै गैह्रकानुनी तरिकाले बेतलवी विदामा राख्ने निर्णय गर्नु घोर आपत्तिको विषय हो ।

त्यसै गरी अनलाईन मार्फत विद्यार्थीको पठनपाठनमा संलग्न रहेका शिक्षकहरुलाई सो कार्यबाट बञ्चित गराउनु बालबालिकाको पढ्न पाउने नैसर्गिक अधिकारको समेत उलङ्घन हो । तसर्थ निजी विद्यालयमा कार्यरत शिक्षकहरुको हालसम्म भुक्तानी गर्न बाँकी रहेको तलब भत्ता यथासिघ्र निकासा गर्न, कुनै पनि शिक्षक कर्मचारीलाई सेवाबाट अवकाश नगर्न तथा विद्यार्थीहरुको अनलाइन पठनपाठनलाई सुचारु गर्न सम्बन्धित पक्षसँग जोडदार माग गरिन्छ ।

साथै, बालबालिकाको निर्वाध रुपमा शिक्षा पाउने अधिकार तथा विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुको ट्रेड युनियन तथा पेशागत अधिकारको सम्मान गर्ने वातावरण निर्माण गर्न नेपाल सरकार लगायत सम्बन्धित सबैसँग हार्दिक अपील गरिन्छ ।

बाबुराम थापा
अध्यक्ष

प्रतिकृया दिनुहोस्