चौतारी र प्रतीक्षालयमा पढाइ

Avatar photo

Byएजुकेशन पाटी

८ असार २०७७, सोमबार

रामपुर । पहिले पठनपाठन चौतारी, प्रतीक्षालय तथा ठाँटी र पौवामा हुन्थ्यो । कोरोना महामारीले गर्दा यहाँका विद्यार्थीलाई पढाइमा ध्यान केन्द्रित गराउन पहिले झैँ गाउँका चौतारी र प्रतीक्षालयमा पढाउन थालिएको छ।

भौतिक दूरी कायम गरी मास्क, स्यानीटाइजरको प्रयोग र साबुनपानीले हात धुन लगाएर टोलटोलमा रहेका चौतारी, प्रतीक्षालय र खुला चौरमा विद्यार्थीलाई राखेर शैक्षिक पठनपाठन शुरु गरिएको हो। जिल्लाका रामपुर नगरपालिका तथा निस्दी र रैनादेवी छहरा गाउँपालिकाका विद्यालयले टोलटोलमा पठनपाठन सञ्चालन गरेका छन्। सानो सानो समूह बनाएर कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट सजगता अपनाउँदै पढाउन थालिएको छ। यसले शैक्षिक कार्यमा विद्यार्थीलाई आकर्षित बनाएको पाइएको छ।

निस्दीले सामुदायिक विद्यालयमा क्वारेन्टिन निर्माण गरेकाले गाउँगाउँमा शिक्षक परिचालन गरेर समूहसमूहमा विद्यार्थीलाई पढाउन थालेको स्रोतव्यक्ति नरबहादुर थापा बताउछन्। रैनादेवी छहराले पनि चौरमा विद्यार्थीलाई राखेर पढाउने गरेको छ। रामपुरका सामुदायिकसँगै केही संस्थागत विद्यालयले पनि टोलटोलमा विद्यार्थी बोलाएर पढाउने गरेका छन्। विद्यार्थीले विद्यालय बन्दपछि घरमा खेलेर र मोबाइल हेरेर मात्र समय बिताउन थालेपछि पढाइमा ध्यानाकर्षण गराउन शिक्षकलाई टोलटोलमा पठाएर सिकाइ सहजीकरण शुरु गरिएको रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए।

कक्षा १२ मा शिक्षा र व्यवस्थापन सङ्कायमा विद्यार्थी सङ्ख्या धेरै हुँदा शिक्षण कसरी गर्ने भन्ने विषयमा भने विद्यालयले छलफल गरिरहेको छ। विज्ञान सङ्कायका विद्यार्थीलाई अनलाइनमार्फत पढाउन थालिएको छ।

टोलटोलमा राखेर शिक्षण गर्दा कोरोनाको जोखिमका साथमा व्यवस्थापन चुनौती रहेको शिक्षक भरत घिमिरे बताउछन्। उनका अनुसार बिहान ६।०० देखि ९।०० बजे समय तालिका बनाएर पढाउने गरिएको छ। विद्यालय बन्द रहेका समयमा पढ्न पाउँदा पढाइमा चासो बढेको र घरमै बसेर पनि पढ्ने कार्यमा ध्यान गएको रामतुलसी मावि कक्षा ८ की छात्रा श्वेता रेग्मी बताउछिन्।

पूर्वखोला गाउँपालिकाले पनि विद्यार्थीको पढाइलाई सहजीकरण गर्न गाउँगाउँमा कक्षा सञ्चालन कार्यक्रम ल्याएको छ। उक्त पालिकाले असार १ गतेदेखि हरेक गाउँका १० देखि १२ जनासम्म विद्यार्थी जम्मा गरेर शिक्षण गराउने कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए। गाउँपालिकाका शिक्षा शाखा अधिकृत डिल्लीराम ढुङ्गानाले गाउँमा कुनै पनि शिक्षण पेशामा आबद्ध शिक्षक नभएमा त्यहाँ बसोबास गर्ने शिक्षित व्यक्ति परिचालन गरिने पढाइने बताए।

वैकल्पिक शिक्षा सहजीकरण निर्देशिका २०७७ अनुसार पाँच श्रेणीमा विभाजन गरेर शिक्षा सञ्चालन गर्न भनिएको छ। कोरोनाको जोखिम दैनिक बढ्दै गएको र विद्यालयलाई क्वारेन्टिन बनाइएको हुँदा फोनमार्फत वा सामाजिक सञ्जालबाट विद्यार्थीसँग सम्पर्कमा रहेर पढ्ने कार्यमा उत्प्रेरणा दिन सबै विद्यालयका शिक्षकलाई अनुरोध गरिएको जिल्ला शिक्षा समन्वय तथा एकाइ प्रमुख रमेशराज पौडेल बताउछन्।पाल्पाका ४९३ सामुदायिक विद्यालयमध्ये १६५ विद्यालयमा क्वारेन्टिन निर्माण गरिएको छ।

राससको खबर नागरिकबाट

प्रतिकृया दिनुहोस्