काठमाडौँ । नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको छ । संक्रमितमध्ये १५ देखि १८ वर्ष उमेर समूहका धैरै रहेकाले बालबालिकाहरू संक्रमणको उच्च जोखिममा रहेको विज्ञहरूले बताएका छन् । बालबालिकामा संक्रमण बढेसँगै समुदायस्तरमै व्यापक संक्रमण सर्ने जोखिमसमेत रहेको उनीहरूको भनाइ छ ।

कान्ति बाल अस्पतालका निर्देशक तथा बालरोग विशेषज्ञ डा.कृष्ण पौडेलका अनुसार अन्य मुलुकको तुलनामा नेपालका बालबालिकामा कोरोनाको संक्रमण दर उच्च देखिएको छ । ‘कुल संक्रमितमध्ये ७ प्रतिशत १५ वर्षमुनिका बालबालिका छन्, १५ वर्ष कटेकामा संक्रमणदर योभन्दा धेरै छ,’ उनले भने, ‘यो उमेरका बालबालिका घरबाहिर बढी निस्कने हुनाले संक्रमणको जोखिम धेरै भएको हो, अरूलाई घरका अन्य सदस्यबाट सरेको हो ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म देशभर १८ वर्षमुनिका ४ हजार ३ सय २२ बालबालिकामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बालक बढी छन् । यो संख्या ३ हजार ३ सय १५ छ । जसमध्ये पनि १५ देखि १८ वर्षभित्रका बालबालिका बढी छन् । १८ वर्षमुनिका संक्रमितमध्ये ५८ प्रतिशत निको भइसकेका छन् ।

चैत पहिलो सातापछि बालबालिका विद्यालय जान पाएका छैनन् । घरमै रहँदा पनि यति धेरै बालबालिकामा संक्रमण देखिनु राम्रो संकेत नभएको उनको भनाइ छ । अभिभावक सावधान नहुँदा, उनीहरूबाट लापरबाही हुँदा बच्चाहरूमा संक्रमण सरिरहेको उनको तर्क छ । विशेषगरी अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका छोराछोरीहरू संक्रमणको उच्च जोखिममा परेका उनले बताए । ‘कामबाट घर पुग्नासाथ बच्चालाई काखमा लिने, खेलाउने गर्नु हुँदैन । बच्चासँग सुत्नुभएन,’ उनले भने, ‘बच्चासँगै बस्नै पर्ने भए सरसफाइमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । अस्पतालमा आमा बच्चासँगै छन् भने बच्चालाई काखमा राख्नुभन्दा दूध निकालेर बच्चालाई खुवाएको राम्रो ।’

अन्य देशको तुलनामा नेपालमा बालबालिकाको संख्या बढी (कुल जनसंख्याको ४२ प्रतिशत) हुँदा पनि संक्रमण धेरैमा देखिएको हुन सक्ने उनको तर्क छ । ‘संक्रमित भए पनि बालबालिकाको मृत्युदर कम छ । तर उनीहरूले वृद्धवृद्धा र दीर्घरोगीलाई संक्रमण सार्ने उच्च जोखिम भएकाले सतर्क रहन जरुरी छ,’ उनले भने । उनका अनुसार क्यान्सर, निमोनिया वा अन्य कडा रोग भएका बालबालिकामा संक्रमणपछि मृत्यु हुने खतरा बढी हुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले समेत बालबालिकामा संक्रमण बढ्दा यसले अन्य उमेर समूहमा पनि संक्रमण तीव्र रूपमा फैलिने जोखिम बढाएको भन्दै चिन्ता जनाए । हाल बालबालिका नै संक्रमण सार्ने सजिलो बाहक भएको उनको भनाइ छ । ‘बालबालिकाले रोगको गम्भीर्य बुझेका हुँदैनन्, त्यसैले उनीहरूलाई नियममा राख्न गाह्रो हुन्छ,’ उनले भने, ‘संक्रमणका कारण उनीहरू आफैंमा जटिलता कम भए पनि प्रायः परिवारसँग घुलमिल भएर बस्ने हुँदा संक्रमण फैलिने खतरा धेरै हुन्छ ।’

उनका अनुसार अधिकांश बालबालिकालाई अभिभावकबाटै संक्रमण सरेको छ । बालबालिकामा संक्रमण धेरै भए पनि लक्षण देखिएका र अस्पताल भर्ना हुनुपर्ने खालका केस निकै कम छन् । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ४ जना बालबालिकाको मृत्यु भएको छ । असार १७ मा म्याग्दीका एक शिशुको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोनाकै कारण मृत्यु भएको थियो । त्यस्तै, जनकपुरमा १२ वर्षीय बालक, बाजुरामा २ वर्षीया बालिका र धरानमा ६ महिने शिशुको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

एक वर्षमुनिका बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरूमा संक्रमण सर्ने जोखिम बढी हुने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । जो संक्रमितको घरमा कम उमेरका बालबालिका छन् उनीहरू बढी सजग हुनुपर्ने उनको भनाइ छ । ‘संक्रमितले त बच्चालाई नछोएकै राम्रो,’ उनले भने । दूधबाट कोरोना संक्रमण नसर्ने भएकाले विशेष सावधानी अपनाएर आमाले शिशुलाई दूध चुसाउन सक्ने उनले बताए । ‘मास्क, पन्जा लगाएर दूध खुवाउन सकिन्छ तर माया लाग्यो भनेर काखमा खेलाउन भएन,’ उनले भने, ‘संक्रमणमुक्त नभएसम्म आमा र बच्चालाई छुट्याएर राख्नुपर्छ ।’

नेपालमा कुपोषणका बालबालिका बढी भएकाले यो उमेर समूहमा संक्रमणको जोखिम धेरै रहेको उनले बताए । कुपोषण भएका बालबालिकामा रोगसँग लड्ने प्रतिरोधी क्षमता कमजोर हुने भएकोले उनीहरू संक्रमित भएमा मृत्युसमेत हुन सक्ने उनले चेतावनी दिए । बालबालिकालाई सकेसम्म घरबाहिर भीडभाडमा नलैजाने, लैजानै परे मास्क लगाएर, भौतिक दूरी कायम गरेर सतर्कता अपनाउन उनले सुझाए ।

फातिमा बानुले कान्तिपुरमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्