काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शुक्रवार अचानक चिकित्सा शिक्षा आयोगको अनुगमन गरेका छन् ।

शिक्षामन्त्रीलाई अचानक कार्यालयमा देखेपछि आयोगको कर्मचारीहरु केहीबेर अलमलमा परेका थिए । शिक्षामन्त्री पोखरेलले आयोगमा पुगेर कामकार्बाही र समस्याका बारेमा जानकारी लिएका हुन् ।

आयोगका कर्मचारीहरुले शिक्षामन्त्री पोखरेललाई आयोगको कामकार्बाहीका बारेमा जानकारी गराएका थिए । यस्तै आयोगका पदाधिकारीले शिक्षामन्त्री समक्ष कार्यालयको काम को लागि ठाउँ अभाव भएको र जनशक्ति अभाव भएको जस्ता गुनासो विषय उठाएका थिए ।

अनुगमनकाक्रममा शिक्षामन्त्री पोखरेलले आयोगको राम्रो अफिस, पर्याप्त संरचना भएपनि अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको भन्दै औचित्य पुष्टि हुने गरी परिणाम दिन आग्रह गरेका छन् ।

‘आयोग सामान्य विषयमा जन्मेको होइन । यसको महत्व धेरै छ ।’ मन्त्री पोखरेलले भने, आयोगको स्थापना पछि थोरै जनशक्ति, साधन स्रोतको अभावको बीच पनि तपाईंहरूले एमबिबिएसको छात्रवृत्ति लागूगर्नु प्रशंसनीय छ ।’

मन्त्री पोखरेलले थपे, ‘यति बेला हामी संग नियमावली आइपुगेको छ । अब हामीलाई काम हरु गर्न कुनै अफ्ठेरो छैन ।’

उनले यतिबेला आयोगको प्रमुख चुनौती एकीकृत प्रवेश परीक्षा हो भन्दै डिजिटल प्रणालीबाट काम गरी समयमै सम्पन्न गर्न निर्देशन दिए ।

प्रतिकृया दिनुहोस्