भक्तपुर। ५६ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरिएको छ । बुधवार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको प्रांगणमा वृक्षरोपण तथा सरसफाइ गरिएको हो ।

केन्द्रका महानिर्देशक चुडामणि पौडेलसमेतको उपस्थितिमा कार्यालय प्रांगणमा सरसफाइ तथा वृक्षरोपण गरिएको केन्द्रका निर्देशक सुरेशकुमार जोशीले जानकारी दियो । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा केन्द्रले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । सोही अनुसार बुधवार सरसफाइ तथा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको निर्देशक जोशीले जानकारी दिए ।

यस्तै भोलि भाद्र २३ गते केन्द्र परिसरमै शिक्षामन्त्री एवं शिक्षा सचिवको उपस्थितिमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको कार्यक्रम आयोजना गरिने जोशीले जानकारी दिए ।

केन्द्रकाअनुसार नेपालका १५ वर्षदेखि ६० वर्ष उमेरसमूहका ८५ प्रतिशत जनसंख्या साक्षर भइसकेका छन् । दुई वर्षभित्र ९५ प्रतिशत पुर्याइ नेपाललाई नै साक्षर घोषणा गर्ने सरकारको तयारी छ ।

हालसम्म सातमध्ये बागमती र गण्डकी प्रदेश साक्षर घोषणा भइसकेका छन् । प्रदेश १ का सबै जिल्ला साक्षर घोषणा भएर घोषणा मात्रै हुन बाँकी छन् । अहिले लुम्बिनी प्रदेशको एक, सुदूरपश्चिम प्रदेशको दुई जिल्ला पनि केही दिनमा साक्षर घोषणा गरि थप दुई प्रदेशलाई साक्षर घोषणा गरिने केन्द्रका निर्देशक नीलकण्ठ ढकालले जानकारी दिए । अहिले कर्णाली प्रदेशको पाँच जिल्ला साक्षर घोषणा हुन बाँकी छन् । यस्तै मधेश प्रदेशका आठै वटा जिल्ला साक्षर घोषणा हुन सकेका छैनन् ।

प्रतिकृया दिनुहोस्