काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्को तेस्रो राष्ट्रिय सम्मेलन सुरू भएको छ । निवर्तमान शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले सम्मेलनको उद्घाटन गरेका हुन्। डिल्लीबजारमा रहेको नेपाल सांस्कृतिक संघमा सुरू भएको सम्मेलनमा देशभरबाट प्रतिनिधिहरू सहभागी छन् ।

२ दिनसम्म चल्ने सम्मेलनले परिषदका भावी रणनीति तय गर्दै घोषणा पत्र जारी गर्ने परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए। यसैगरी सम्मेलनले पेसागत माग सम्बोधनका लागि सरकारलाई ध्यानाकर्षण पनि गराउने अध्यक्ष तिवारीले बताए।

परिषद्ले गत भदौंमा आफ्नो सेवा सुरक्षाको ग्यारेन्टीसहितका विभिन्न माग अघि सारेर आन्दोलन थालेको भएपनि पछि शिक्षा मन्त्रालयसँगको वर्तापछि स्थगित गरिएको थियो । शिक्षा मन्त्रालयले उनीहरूले उठान गरेका मागहरू सम्बोधनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको भएपनि अर्थले कुनै निर्णय नगर्दा अहिलेसम्म विद्यालय कर्मचारीका मागहरु सम्बोधन हुन सकेका छैनन् ।

परिषद्ले विद्यालयमा कार्यरत पाले, पियन र लेखापाललाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पुर्याई स्वतः स्थायी गरिनुपर्ने, सरकारले पूर्ण सेवासुविधाको ग्यारेन्टी गर्नुपर्ने, विद्यालय कर्मचारी सहायक अर्थात् लेखापालको हकमा ३६ हजार ७३० रूपैयाँ र विद्यालय सहयोगीको २६ हजार २१० तलब बनाइनुपर्ने लगायत माग अघि सारेका छन् ।

मुलुकभरका सामुदायिक विद्यालयमा कार्यरत पाले, पियन, लेखापाल, माली, भण्डारलगायतका झण्डै ३३ हजार कर्मचारी नै विद्यालय कर्मचारी हुन् । जो निकै न्यून तलबमा लामो समयदेखि कार्यरत छन् । सरकारले आफूहरुलाई आवश्यक सुविधा नदिएको उनीहरुले आरोप लगाउँदै आएका छन् । हाल लेखापालले मासिक १३,५०० र विद्यालय सहयोगीले मासिक ८ हजारका दरले सुविधा पाउँदै आएका छन्। सर्वोच्च अदालतले ०६७ माघ २३ गते ‘सर्भिस ल’ बनाएर विद्यालय कर्मचारीहरुलाई सुविधा प्रदान गर्न आदेश दिएको भएपनि हालसम्म कार्यान्वयन हुनसकेको छैन।

प्रतिकृया दिनुहोस्