काठमाडौं। नेपाल तेक्वान्दोका प्रवर्तक चिफ ग्रान्ड मास्टर जे. के. शिनद्वारा लिखित ‘रूट अफ तेक्वान्दो नेपाल’ संस्मरणात्मक तस्बिर पुस्तक सार्वजनिक भएको छ ।

शनिबार महाराजगंञ्जस्थीत कून्डलिनी दरबार बैंक्वेटमा सम्पन्न एक विशेष समरोहकाबीच पुस्तक विमोचन गरिएको हो । पुस्तकले नेपालमा तेक्वान्दोको अधिकारिक सुरुवातमा चिफ ग्रान्ड मास्टर जे. के. शिनको योगदान र यस कार्यमा उनलाई सहयोग गर्ने व्यक्तित्वहरुको भूमिका उजगार गरिएको छ ।

पुस्तकमा तात्कालीन तेक्वान्दो सम्बन्धित दुर्लभ तस्बिर समावेश गरिएका छन्। नेपालमा प्रतिबन्धित रहेको तेक्वान्दो खेलको प्रशिक्षण तथा यो खेलले कसरी नेपालमा अधिकारिकता प्राप्त गर्न सफल भएको थियो भन्ने रोचक सन्दर्भबाट लेखकले यो पुस्तकको लेखन प्रारम्भ गरेका छन् ।

जे. के. शिनको अभिभावक्तवमा तेक्वान्दोलाई देशब्यापी रुपमा विस्तार तथा नेपालले अन्तराष्ट्रियस्तरका प्रतियोगितामा गरेका उपलब्धीहरुको सचित्र वर्णनले पाठकहरुलाई तात्कालिन समयको स्मृतिमा लग्दछ ।

चिफ ग्रान्ड मास्टर जे. के. शिनका शिष्यहरु क्याप्टेन रत्न गुरुङ, क्याप्टेन चन्द्र गुरुङ, ब्रिगडीयर जनरल डा. सुधासेन मल्ल, लेफ्टीनेन्ट्कर्नेल एकनाथ थापा क्याप्टेन र ईन्द्र गुरुङद्वारा आयोजित कार्यक्रममा नेपालकी प्रथम महिला ब्ल्याक बेल्ट ब्रिगडीयर जनरल डा. सुधा सेन मल्लले आफ्नो स्वागत मन्त्व्यबाट कार्यक्रमको सुरुवात गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवंम नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाललाई अन्तराष्ट्रिय जगतमा परिचित गराउने तेक्वान्दो खेलको सुरुवात र बिकासका लागि जे. के. शिनले पुर्याएको योगदान सदैव अविस्मरणीय रहने बताए ।

उनले जे.के शिन नै नेपालको आधिकारिक तेकवान्दो स्थापक रहेको बताए । यसका साथै कार्यक्रममा बोल्दै नेपाल तेक्वान्दो एशोसिएसनका उपाध्यक्ष एवंम पूर्व मन्त्री किसान श्रेष्ठले यस खेलको विकासको लागि आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

नेपाल खेलकुद परिषदका तत्कालिन कोषाध्यक्ष विष्णु गोपाल श्रेष्ठले जे. के शिन ले नै तेक्वान्दोखेलको सुरुवात मात्र नभइ, उक्त खेल विधामा छोटो समयमानै नेपाललाई अन्तराष्ट्रियस्तरका पदक दिलाउनु अहम भूमिका खेलेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै गुरु चिफ ग्रान्ड मास्टर जे.के शिनले नेपालमा मार्सल आट्र्सले जिवनलाई सधैँ ताजा र जिवन्त राख्ने सन्देश दिए । उनले तत्कालिन समयमा जुनस्तरमा तेक्वान्दो खेलको गुणस्तर विकास भएको थियो त्यसमा आएको ह्रास प्रति चिन्ता व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, प्रशिक्षक, खेलाडी लगायत व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्