मस्को । रुसले कोरोना भाइरस(कोभिड-१९)विरुद्धको खोपको परीक्षण सफल भएको दाबी गरेको छ । रुसको सेचनोव विश्वविद्यालयले कोभिड-१९ विरुद्धको खोप स्वयंसेवकमा परीक्षण गर्दा सफल भएको दाबी गरेको हो ।

रुसी समाचार संस्था ताससँग कुरा गर्दै प्रमुख अनुसन्धानकर्ता इलिना स्मोलयारचुकले परीक्षणमा खोप प्रभावकारी देखिएको दाबी गरेकी छिन् ।

उनले ताससँगको कुराकानीमा भनेकी छिन्, ‘सोध पूरा भएको छ र यसबाट खोप पूर्ण रुपमा सुरक्षित रहेको पनि प्रमाणित भएको छ ।’ उनका अनुसार खोप परीक्षण गरिएका स्वयंसेवकहरुलाई १५ जुलाईदेखि २० जुलाईसम्ममा डिस्चार्ज गरिनेछ । इलिना सेचनोव विश्वविद्यालयको सेन्टर फर क्लिनिकल रिसर्च अन मेडिकेसन्सकी प्रमुख हुन् ।

विश्वविद्यालयबाट डिस्चार्ज गरिए पनि स्वयंसेवकहरु आफूहरुको निगरानीमा रहने उनले बताइन् । विश्वविद्यालयले जुन १८ मा १८ जना स्वयंसेवकलाई कोभिड-१९ विरुद्धको खोप लगाएको थियो भने २३ जुनमा अन्य २० जनाको समूहमा परीक्षण गरेको थियो । विश्वविद्यालयले खोपको सफल परीक्षण भएको दाबी गरेसँगै भारतस्थित रुसी दूतावासले ट्वीटमार्फत कोभिड-१९ विरुद्ध विश्वकै पहिलो खोपको सफल परीक्षण भएको उल्लेख गरेको छ ।

कोरोना संक्रमणका हिसाबले रुस विश्वमै चौथो स्थानमा छ । आइतबार साँझसम्म रुसमा संक्रमितको संख्या ७ लाख २६ हजारभन्दा बढी पुगेको छ । रुसमा कोरोनाबाट ११ हजार ३ सय १८ जनाको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ५ लाख निको भएका छन् ।

यसअघि बेलायतको अक्सफोर्ड विश्वविद्यालय र केही अमेरिकी कम्पनीले पनि कोभिड-१९ विरुद्धको खोपको परीक्षण सुरु गरिसकेका छन् ।

अहिले विश्वभरका अनुसन्धानकर्ता कोभिड–१९ को खोपको आविष्कारमा जुटेका छन् । अहिलेसम्म विभिन्न मुलुकमा गरी १४५ भन्दा धेरै प्रकारका खोपको परीक्षण भइरहेको दाबी गरिएको छ । साधारणतया खोप निर्माणको प्रक्रिया १० देखि २० वर्षभन्दा लामो हुने गरे पनि कोभिड–१९ को सुरक्षित तथा उपयोगी खोप एक वर्षभित्रै निर्माण गर्ने भन्दै वैज्ञानिकहरू दिनरात काम गरिरहेका छन् ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्