बैतडीमा पाठ्यपुस्तक अपुग

Avatar photo

Byएजुकेशन पाटी

२ श्रावण २०७७, शुक्रबार

बैतडी । बैतडीमा केही स्थानीय तहमा पाठ्यपुस्तक अपुग भएको छ। दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकाका विद्यालयमा केही विषयका पाठ्यपुस्तक अपुग भएका हुन्। कक्षा ६ देखि ८ सम्मका अंग्रेजी, विज्ञान, सामाजिक अध्ययन, नैतिक शिक्षा, स्वास्थ्य तथा शारिरिक शिक्षा र कम्प्युटर विषयका पाठ्यपुस्तक अभाव भएको बताइएको छ।

लकडाउनले पाठ्यपुस्त हुन नसकेको बताइएको छ। कोरोना भाइरसको कारण विद्यालय जान नपाएका विद्यार्थीले घरमै बसेर पनि अध्ययन गर्नको लागि पाठ्यपुस्तक नहुँदा समस्या भएको मणिलेक मावि गुरुखोलाका प्रअ केशवदत्त भट्टले बताए।

वैशाखमै पाठ्यपुस्तक पुग्नु पर्ने भए पनि कोरोना महामारीका कारण लकडाउन गरिएकाले शैक्षिक सत्रनै सुरु नभएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्र अवस्थीले बताए। जिल्लाका अधिकांश विद्यालय क्वारेन्टिन बनाइएको छ। अझै क्वारेन्टिनमा विदेशबाट आएका नागरिक रहेकाले विद्यालय सञ्चालन गर्नसमेत समस्या भएको छ।

बैतडीका कक्षा १ देखि ५ सम्मका ३ सय ३६ विद्यालयमा ३७ हजार ४ सय ९५ विद्यार्थी अध्ययनरत छन्। कक्षा ६ देखि ८ सम्मका १ सय ५ विद्यालयमा १९ हजार १ सय ३२ विद्यार्थी, कक्षा ९ र १० का ७१ विद्यालयमा ११ हजार ६ सय ३३ विद्यार्थी र कक्षा ११ र १२ का ५० विद्यालयमा ३ हजार ३ सय ९५ विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वयको तथ्यांक छ।

बिरा गडालले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्