सर्लाहीको बागमती नगरपालिकाले शिक्षकहरुको लागि स्तरीकृत प्रश्न निर्माण तथा मूल्याङ्कन सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न गरेको छ । शिक्षकहरुको प्रश्नपत्र निर्माण र मूल्यांकन क्षमता सुधार गर्नका लागि शुक्रवार र शनिवार कार्यशाला चलाइएको नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको सहजीकरणमा अंग्रेजी, विज्ञान तथा गणित विषयका माध्यमिक तथा आधारभूत तहका सबै शिक्षकलाई सहभागी गराएर कार्यशाला संचालन गरिएको थियो । कार्यशालामा सहभागी शिक्षकहरुले सिकेको सीप अब प्रशिक्षकको रुपमा अन्य शिक्षकहरुलाई सिकाउने जनाइएको छ ।

कार्यशालामा बागमती सहित हरिवन, मलंगवा, लालबन्दी तथा बरहथवा नगरपालिकाका प्रतिनिधि शिक्षकको समेत सहभागिता रहेको थियो । कार्यशालामा पचास जना प्रशिक्षार्थी शिक्षकको सहभागिता रहेको थियो ।

शुक्रबार नगरपालिका विशेष कार्यक्रम गर्दै कार्यशालाको उद्घाटन गरेको थियो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीको सिकाइ कमजोर हुनुमा प्रश्नपत्र र मूल्यांकन प्रणालीको पनि दोष रहेको बताए । नेपालमा माध्यमिक तहमा गणित, विज्ञान तथा अंग्रेजी विषयमा विद्यार्थीको नतिजा कमजोर देखिनुको कारण सम्बन्धित विद्यार्थीको मात्र कमजोरी नरहेको भन्दै डा. शर्माले उनीहरुको क्षमता मापन गर्न निर्माण गरिने प्रश्न पनि उत्तिकै जिम्मेवार रहेको औंल्याए ।


राष्ट्रिय परीक्षा बोर्डले देशैभरिका शिक्षकलाई रोस्टर मोडलमा यसैगरी प्रशिक्षण गर्ने र उनीहरूलाई प्रशिक्षक रुपमा क्षमता अभिवृद्धि गर्दै बाँकी शिक्षकलाई सहजीकरण गर्ने मोडल विकास गरिएको शर्माले जानकारी दिए । अब कार्यशालामा सहभागी शिक्षकहरुले सिकेका नवीन सीपहरु बाँकी शिक्षकहरुलाइृ पनि सिकाउँदै जानुपर्ने उनको भनाइ थियो । डा. शर्माले पछिल्लो समय सर्लाहीको बागमती नगरपालिका शैक्षिक सुधारको अभियानमा देशकै अगुवा बन्दै गएको पनि कारण मधेश प्रदेशको पहिलो कार्यक्रम नै यहाँबाट शुरु गरिएको उनले दाबी गरे ।

बागमती नगरपालिका मेयर भारत थापाले आफ्नो दोस्रो कार्यकाल शैक्षिक सुधारको लागि समर्पित भएको कारण शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । कार्यशालाले शिक्षकमा प्रश्नपत्र निर्माण र मूल्यांकन सीपलाई थप स्तरीकृत र विकास गर्ने पनि उनले अपेक्षा व्यक्त गरे । अब शिक्षकहरुले सिकेको सीप कक्षाकोठामा लागू गर्नुपर्ने भन्दै आगामी वर्षको नतिजामा त्यसको प्रभाव देखिनुपर्नेमा उनको जोड थियो ।

नगर शिक्षा संयोजक राजकुमार विश्वकर्माले बागमतीको शिक्षा सुधारको अभियानमा यस्ता धेरै कार्यक्रम आवश्यकता रहेकोले शिक्षकको क्षमता विकास तथा मनोवल उच्च बनाउनु पर्ने बताए । सिकाइ, प्रश्नपत्र, मूल्यांकनमा सुधार आएमात्रै नतिजामा पनि सुधार आउने उनको भनाइ थियो ।

यस्तै, बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल पोखरेलले शैक्षिक सुधारका लागि चेकलिस्ट नै बनाएर नगरपालिकाले काम गरिरहेको बताए । स्तरीकृत प्रश्न निर्माण तथा मूल्याङ्कन कार्यशाला बागमतीको शैक्षिक सुधारको लागि कोशेढुंगा सावित हुन सक्ने पनि उनले विश्वास व्यक्त गरे ।

वृहत राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले तीन घन्टे परीक्षाले विद्यार्थीको समग्र पक्षको मूल्याङ्कन गर्न नसक्ने टिप्पणी गरे । प्रश्न निर्माण तथा मूल्याङ्कन र त्यसको समीक्षा वैज्ञानिक हुनुपर्ने भन्दै उाले राष्ट्रिय परीक्षा बोर्डको उक्त अभियान प्रशंसनीय रहेको बताए ।

सहभागी जनबाल कल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले शिक्षकका धेरै तालिम लिएपनि स्तरीकृत परीक्षा सम्बन्धी यो कार्यशाला धेरै प्रभावकारी लागेको अनुभव सुनाए । ‘मैले त अहिलेसम्म केही जानेकै रहेनछु, हामीले अहिलेसम्म परीक्षामा जे प्रश्न बनायौं, त्यो त गलत रहेछ ।’ उनले भने, ‘हामीले परीक्षा र उत्तरपुस्तिका जाँचका नाममा विद्यार्थीमाथि अन्याय गरेका रहेछौं ।’

बागमती नगरपालिकाका नगर शिक्षा अधिकृत मीन प्रसाद उपाध्यायले विद्यार्थीको सिकाइ सुधारको लागि सबैभन्दा महत्वपूर्ण भूमिका नै शिक्षकको हुने भएको कारण शिक्षकको पेशागत विकासका लागि शिक्षा शाखाले आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यशालामा राष्ट्रिय परीक्षा बोर्डका विषयगत विज्ञहरु अंग्रेजीका रमेश ढकाल, गणित विषयका प्रो. डा. रमेश अवस्थी तथा विज्ञान विषयका हरि प्रसाद रेग्मीले सहजीकरण गरेका थिए ।

बागमती नगरपालिकाले यस अघि नै प्रधानाध्यापकको नेतृत्व क्षमता विकास तालिम, सबै शिक्षकका लागि दश दिने आधारभूत कम्प्युटर तथा डिजिटल लिटरेसी तालिम आयोजना गरिसकेको छ ।

सम्बन्धित समाचार

शिक्षा सुधार्ने बागमतीको योजना खासः प्रअको नेतृत्व विकास

सूचना–प्रविधिमैत्री शिक्षा दिन जुट्यो बागमतीः शिक्षकलाई तालिम, विद्यालयलाई कम्प्युटर

सिकाइ सुधार्ने बागमती नगरपालिकाको जुक्तिः शनिबारे परीक्षा र उपचारात्मक कक्षा

प्रतिकृया दिनुहोस्