सर्लाही । १६ औँ गणतन्त्र दिवसको अवसर पारेर सर्लाहीस्थित बागमती नगरपालिकाले माध्यमिक तहका विद्यार्थीको सहभागितामा नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा ५ माध्यमिक विद्यालयका २५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

पाठ्यक्रम अनुरुप विषयगत तथा समसामयिक विषयमा प्रश्न सोधिएकोमा सबै सहभागी विद्यार्थीको प्रस्तुतिले आफू असाध्यै खुसी भएको कार्यक्रममा सहभागी जनज्योति आधारभूत विद्यालय, नयाँ वस्ती जियाजोरका प्रधानाध्यापक मनोज खनालले बताए । ‘यसरी विषयगत रुपमा प्रश्न सोधिँदा विद्यार्थीले पाठ्यपुस्तकमा पनि ध्यान दिने तथा विद्यालयलाई पनि विद्यार्थीको विषयगत ज्ञानको मूल्यांकन सजिलो हुने रहेछ’ खनालले बताए ।

प्रतियोगितामा श्री ५ महेन्द्र जनता मावि कर्मैया प्रथम भएको छ । साथै , श्री नव जनजागरण मावि शंकरपुर द्वितीय तथा जनता नमूना मावि सोल्टीले तृतीय स्थान प्राप्त गरेको गरेका छन् । प्रतियोगिताका विजेता तथा सहभागीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

नगरपालिकाले हरेक महिना विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने यस्तै प्रकारका विभिन्न नगरस्तरीय प्रतियोगिता संचालन गर्ने योजना बनाएको शिक्षा शाखामा कार्यरत ओम बहादुर कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्