सर्लाही। सामुदायिक विद्यालयको सिकाइ सुधारका लागि सर्लाहीको बागमती नगरपालिकाले नयाँ जुक्ति निकालेको छ। यसका लागि नगरपालिकाले शनिवार र सार्वजनिक बिदाको दिन परीक्षा लिन शुरु गरेको छ।

कक्षाकोठाको शिक्षण सिकाइ राम्रो भएपनि विद्यार्थीले परीक्षामा राम्रो अंक ल्याउन नसकिरहेको अवस्थामा नगरपालिकाले सिकाइ सुर्धार्ने नयाँ जुक्ति लगाएको हो । शुरुमा विद्यार्थीको अंक किन राम्रा आएन भनेर नगरपालिकाले सुक्ष्म अध्ययन गर्यो । जसमा विद्यार्थीहरुको औषत स्तर फरक फरक रहेको तथा उनीहरुले परीक्षामा डरको कारण जानेको कुरा पनि लेख्न नसकिएको पत्ता लाग्यो । ‘त्यसपछि नगरपालिकाले नयाँ जुक्ति लगायो’, नगरपालिकाका शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले भने ।

‘हामीले गएको हप्तादेखि शनिवार बिदाको दिन पनि परीक्षा लिन शुरु गर्यौं । यसले एकातिर विद्यार्थीको परीक्षा प्रतिको डर या भय कम गर्ने र अर्कोतिर उनीहरुको वास्तविक स्तर पत्ता लगाउँछ ।’ शिक्षा शाखा प्रमुख उपाध्यायले भने । ‘परीक्षापछि कमजोर विद्यार्थीहरु पत्ता लगाएर उनीहरुका लागि थप उपचारात्मक र सुधारात्मक कक्षा चलाउने नगरपालिकाको योजना छ ।’

प्रायः विद्यार्थीहरु परीक्षाको अगाडि मात्रै तयारी गर्ने भएकाले पनि विद्यालयहरुमा शनिवार नियमित परीक्षा लिँदा हप्ताभरी कै पढाइ परीक्षा तयारी जस्तै हुने गरेको उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार अहिले ५, ८ र १० कक्षाका विद्यार्थीको शनिवार परीक्षा लिन शुरु गरिएको हो ।

नगरपालिकाले कक्षा ५, ८ र १० मा नगरपालिकास्तरमा परीक्षा सञ्चालन गर्दै आएको छ। शनिवारे परीक्षाले ती परीक्षामा राम्रो अंक ल्याउन मद्धत गर्ने उपाध्यायले बताए । उनका अनुसार नगरपालिकाले सामुदायिक विद्यालयहरुमा शिक्षा सुधारको असल अभ्यासकै रुपमा यसलाई अघि बढाउन खोजेको छ । यी परीक्षाको मूल्यांकनलाई उपचारात्मक र सुधारात्मक कक्षामा जोडेपछि कक्षाकोठाको सिकाइ स्तर आफै बढ्ने गरेको शिक्षा शाखा प्रमुख उपाध्यायले अनुभव सुनाए ।

अन्तिम परीक्षा अगावै शुरु गरिएको शनिवारे परीक्षाले एकातिर फाइनल परीक्षाको तयारी राम्रो भएको अर्कोतर्फ उपचारात्मक कक्षा चलाउनुपर्ने विद्यार्थी पहिचान गर्न सकिएको जनता नमूना माविका प्रअ लोकनाथ दाहालले बताए । शनिवारे परीक्षा लिन थालेपछि विद्यार्थीहरु पढ्नमा ध्यान दिन थालेका, शिक्षकहरुले पनि कक्षाकोठामा थप मिहिनेत गर्न थालेको प्रअ दाहालले बताए ।

हप्तैपिच्छे परीक्षा लिइँदा विद्यार्थीमा रहेको परीक्षा प्रतिको डर ह्वात्तै घटेको तथा विद्यार्थीमा अनुशासन र पढाइ प्रतिको आकर्षण बढेको जनवाल कल्याण माविका प्रअ प्रकाश बहादुर जिम्वाले बताए । ‘शनिवारे परीक्षाबाट कमजोर विद्यार्थी पत्ता लगाएर छुट्टै उपचारात्मक कक्षा चलाएपछि विद्यार्थी मात्रै होइन अभिभावकहरु पनि खुशी हुन थालेका छन्।’ उनले भने ।

शंकरापुर आधारभूत विद्यालयका प्रअ वेदनिधि दाहाल ५ कक्षामा शनिवारे परीक्षाले सुधार देखिएपछि तल्लो कक्षामा पनि लागु गर्ने तयारी गरिरहेको बताए । विद्यार्थीको सिकाइ सुधारिएपछि शिक्षकहरु पनि उत्साहित देखिएको उनको भनाइ छ। हाल शनिवारे परीक्षामा ९५ प्रतिशत विद्यार्थी सहभागी भएका र बाँकी ५ प्रतिशत विद्यार्थी सहभागी गराउन घरदैलो अभियान गर्ने तयारी भइरहेको प्रअ दाहालले बताए ।

बागमती नगरपालिका भित्र ५ माध्यमिक तह र २० आधारभूत तह गरी २५ सामुदायिक विद्यालय रहेका छन्। सामुदायिक विद्यालयलाई अभिभावक एवं विद्यार्थीको पहिलो रोजाइ बनाउन नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन र सुधारका प्रयास गर्दै आएको शिक्षा शाखा प्रमुख मीन उपाध्यायले बताए ।

प्रतिकृया दिनुहोस्