काठमाडौँ । प्रसिद्ध शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित जोशीको ८९ वर्षको उमेरमा काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा शनिबार दिउँसो पौने ३ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

तीन सातादेखि न्युरो अस्पतालमा उपचारत जोशीको ब्रेन ह्यामरेजका कारण उपचारकै क्रममा शनिबार निधन भएको हो। करिब दुई दशकअघि घाँटीमा क्यान्सर देखिएपछि गरिएको शल्यक्रियाको क्रममा उनको अनुहार बांगिएको थियो । त्यसपछि उनलाई स्तन क्यान्सरसमेत भएको थियो ।

नेपालको छात्रा शिक्षालाई जोशीको महत्वपूर्ण योगदान रहेको छ । उनकै अगुवाईमा काठमाडौंमा पद्मकन्या क्याम्पसको जग्गा व्यवस्था र क्याम्पस स्थापना भएको हो । उक्त क्याम्पसमा पढ्ने छात्राले पहिरिने पोशाक गेरु रंगको सारी र चोला जोशीले लागू गरेकी थिइन् । जोशी पद्माकन्या क्याम्पसको संस्थापक हुन्। उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख हुन्। जोशीले १८ वर्ष पद्मकन्या क्याम्पसको प्रमुख भएर काम गरेकी थिइन् ।

जोशीको जन्म सन् १९३२ अगस्ट १५ मा काठमाडौंको डिल्लीबजारमा भएको थियो । जोशीको कलिलै उमेरमा नेपालका पहिलो आणविक वैज्ञानिक बलराम जोशीसँग विवाह भएको थियो ।२००७ सालमा एसएलसी उत्तीर्ण गरेकी जोशीले पतिसँगै वनारसबाट राजनीति शास्त्र र संस्कृत विषयमा बिए शिक्षा हासिल गरेका थिए । जोशी विदेश पढ्न जाने पहिलो नेपाली महिलासमेत हुन् । उनले बेलायतबाट उच्च शिक्षा हासिल गरेकी थिइन् ।

जोशी २०१९ सालमा राजा महेन्द्रले गठन गरेको संविधान मस्यौदा समिति सदस्यसमेत थिइन् । चार सदस्यीय मस्यौदा समितिमा उनी एकमात्र महिला सदस्य थिइन् । संविधान मस्यौदा समितिको सदस्यसमेत रहेकी अंगुरबाबाले महिला संगठनको काठमाडौं सभापति बनेर ९ वर्ष काम गरेकी थिइन् ।

जोशीका दुई छोरी प्रभा र ज्योति, एक छोरा किरणराज तथा बुहारी रुपा जोशी र १०७ वर्षकी सासुआमा चन्द्रकुमारी जोशी छन् ।

प्रतिकृया दिनुहोस्