काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक सिकाइमा सिकेका कुरा पनि शैक्षिक सत्रमा गणना गर्ने तयारीमा जुटेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक सिकाइमा सिकेको कुरा गणना गरेर जानुपर्ने अवस्था रहेको बताए ।

शैक्षिक सत्रलाई खेर जान दिन नहुने भन्दै मन्त्री पोखरेलले वैकल्पिक सिकाइलाई पनि गणना गरेर शैक्षिक सत्र कायम राख्ने तयारी भइरहेको खुलासा गरेका हुन् ।

विहिवार एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेशले आयोजना गरेको दोस्रो चरणको ५ दिने सूचना प्रविधि तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले वैकल्पिक सिकाइमा सिकेका कुरालाई पनि समेट्ने गरी नयाँ शैक्षिक सत्रको तयारी भइरहेको बताएका हुन् ।

यसै विषयमा तयारीका लागि पाठ्यक्रम विकास परिषद्लाई पनि निर्देशन दिइसकेको भन्दै मन्त्री पोखरेलले मन्त्रालय नयाँ शैक्षिक सत्रलाई कुनै हालतमा खेर जान नदिने तयारीमा जुटेको स्पष्ट पारे ।

‘अब वैकल्पिक सिकाइमा सिकेका कुरा नसमेटी शैक्षिक सत्र पुरा गर्न नसकिने अवस्था आयो’, मन्त्री पोखरेलले भने, ‘विद्यालय सञ्चालन कार्यढाँचा पनि सोही अनुसार तयार पारिने छ ।’

विद्यालय सञ्चालनका बारेमा स्वास्थ्य मन्त्रालयको सुझाब र कोरोनाको अवस्था पछि निर्णय गरिने भन्दै उनले आगामी केही समय दूरशिक्षा र भर्चुअल शिक्षालाई नै मूलधारको रुपमा अगाडि बढाइने स्पष्ट पारे ।

घरलाई शिक्षालय, अध्ययन केन्द्र बनाउने अभियान ल्याऔं भन्दै मन्त्री पोखरेलले मन्त्रालयले वैकल्पिक सिकाइका लागि निरन्तर काम गरिरहेको भएपनि अनुभूति हुने खालको हुनभने नसकेको स्वीकार गरे ।

अब १०२४ घण्टा पढाइ हुनै पर्ने मान्यता बदल्नुपर्ने भन्दै पाठ्यक्रम परिषद्लाई यसविषयमा दशै अगाडि सुझाब पेश गर्न निर्देशन दिइएको उनले दोहोर्याए । अब हिजोको ढङ्गको पठन–पाठनले शैक्षिक सत्रलाई व्यवस्थित गर्न नसकिने भन्दै मन्त्री पोखरेलले शिक्षकलाई पनि पठन–पाठनमा सुधार ल्याउन आग्रह गरे ।

स्वास्थ्य विज्ञहरुको भदौंमा संक्रमण बढ्ने अनुमानका कारण विद्यार्थी भर्नाका कुरा भदौ १५ सम्म सारिएको स्पष्ट पादै भदौमा शिक्षकहरु अनिवार्य विद्यालयमा पुग्नै पर्ने बताए । यसका लागि शिक्षकको यातायात पास, पिसिआर परिक्षणको व्यवस्था गरिने मन्त्री पोखरेलले स्पष्ट पारे ।

शिक्षकहरु प्रविधिमैत्री नभए अबको पठन–पाठन मुस्किल हुने भन्दै सिकेको सीप व्यवहारमा लागुगर्ने क्षमता विकास गरेर तयार रहन शिक्षकहरुलाई मन्त्री पोखरेलले आग्रह गरे ।

प्रतिकृया दिनुहोस्