काठमाडौँ । शिक्षा ऐनलाई नवौं पटक संशोधन गर्न बनेको शिक्षा ऐन २०२८ को संशोधन विधेयक अन्ततः राष्ट्रपतिबाट प्रमाणिकरण भएको छ । विवादकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ‘शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४’ प्रमाणीकरण गरेकी हुन् । प्रमाणिरकण भएसँगै शिक्षा ऐनको नवौं संशोधन कार्यान्वयनमा आएको छ ।

व्यवस्थापिका संसदबाट पारित भएसँगै यसले सार्वजनिक शिक्षा ध्वस्त हुने भन्दै शिक्षाविद् तथा विद्यार्थी संगठनहरुले विरोध गर्दै आएका थिए । उनीहरुले विधेयक प्रमाणिकरण नगर्न राष्ट्रपतिलाई आग्रह समेत गरेका थिए ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा, ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण भएका राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले जानकारी दिए ।

व्यवस्थापिका–संसद्को बैठकबाट केही समयपहिले उक्त विधेयक पारित भएको थियो । प्रमाणीकरणका लागि सरकारले विधेयक दर्ता गराएको १५ दिन भित्र प्रमाणीकरण गर्नुपर्ने कानूनी व्यवस्था छ । सोहीअनुसार भण्डारीले अन्तिम दिन सो विधेयकमा हस्ताक्षर गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
विधेयक प्रमाणीकरण नगर्न चौतर्फी दवाव आएपछि राष्ट्रपति भण्डारीले विज्ञसँग परामर्श गरेकी थिइन् । भण्डारीबाट विधेयक प्रमाणीकरण भएपछि राष्ट्रपति कार्यालयले संसदबाट पारित विधेयक प्रमाणीकरण हुनु सामान्य प्रक्रिया रहेको जनाएको छ ।

यो विधेयक पारित भएसँगै शिक्षक सेवा आयोगले अब सात दिनभित्र अस्थायी शिक्षकको परीक्षा मिति तोक्नुपर्ने हुन्छ । आयोगका अध्यक्ष ताना गौतमले राजपत्रमा मिति छापिएपछि मात्रै आयोगले काम अघि बढाउने बताए ।

२०७४ कार्त्तिक ८ गते १०:५७मा प्रकाशित

प्रतिकृया दिनुहोस्