काठमाडौं । संसारभरका शिक्षकहरुको साझा मञ्च एजुकेशन इन्टरनेशनल(इआइ)ले नेपालका निजी विद्यालयमा कार्यरत शिक्षकहरु–कर्मचारीको समस्याका सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको छ ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले गरेको उजुरीको आधारमा इआइले प्रधानमन्त्रीलाई पत्र लेखेको हो । शुक्रवार पठाइएको पत्रमा नेपालका निजी विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीहरुले ६ महिनादेखिको तलब सुविधा नपाएका र उल्टै जवर्जस्ती जागिरबाट निकालिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ ।

इआइका महासचिव डेभिड एडवार्डस्ले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्रमा यस कोभिड–१९ को विश्वव्यापी महामारीको अवस्थामा शिक्षक कर्मचारीहरुले ६ महिनाको तलबसुविधा नपाउने र उल्टै जवर्जस्ती जागिरबाट निकालिने अवस्था स्वीकार्य नभएको जनाइएको छ । उनीहरुको तलब सुविधा र जागिरको सुनिश्चित गर्न इआइले नेपाल सरकारसँग अनुरोध गरेको छ ।

सबै शिक्षक कर्मचारीहरुलाई तत्काल तलवसुविधा दिन र कोभिड–१९को महामारीमा नेपालका सबै शिक्षककर्मचारीहरुको जागिरको सुनिश्चितता गर्न इआइले सरकारसँग अनुरोध गरेको छ । यस्तै, शिक्षक र विद्यार्थीको स्वास्थ्य सुरक्षामा ध्यान दिन पनि इआइले भनेको छ ।
विश्वव्यापी महामारीको अवस्थामा नेपालमा शिक्षकहरुको मानव र ट्रेड युनियन अधिकार उर्लंघनको सामना गर्न बाध्य हुनु दूर्भाग्यपूर्ण रहेको इआइको ठहर छ ।

इआइले नेपालका सदस्य संस्थाहरूहरुको एकताको पक्षमा रहेको र नेपाल सरकारलाई शिक्षक, गैर–शिक्षक कर्मचारी र विद्यार्थीहरूले भोग्ने समस्याहरूको समाधान तुरुन्तै गर्न सकारात्मक कदम चाल्न आग्रह गरेको छ ।

इआइको १७५ देशमा ३ करोड २० लाख शिक्षकहरु सदस्य रहेका छन् । नेपालका तर्फबाट नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु) यसको सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्