पूर्वी नवलपरासी । पर्यटकीय स्थल त्रिवेणीधाममा रहेको शिशमहलको आम्दानीले सञ्चालित मुक्तिनाथ वेदविद्याश्रम स्कुल सञ्चालन हुँदै आएको छ । दैनिकजसो भारतबाट आउने धार्मिक पर्यटकले अवलोकन गर्ने शिशमहलको आम्दानी नै उक्त विद्यालयमा ७० जना विद्यार्थी पढाउने मुख्य स्रोत हो ।

त्रिवेणीस्थित गजेन्द्रमोक्ष धाममा शिशमहल र मुक्तिनाथ वेदविद्याश्रम रहेको छ । उनीहरूको आवास र अध्ययन निःशुल्क रहेको छ । संस्कृतसमेत पढाइ हुने भएकाले देशका विभिन्न स्थानका विद्यार्थी यस वेदविद्याश्रममा अध्ययनरत छन् । शिशमहल हेर्न नेपाली र भारतीयले २४ रुपैयाँको टिकट काट्नुपर्ने व्यवस्था छ ।

सार्वजनिक बिदा र चाडपर्वमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गरेको मुक्तिनाथ वेदविद्याश्रमका सञ्चालक स्वामी कृष्ण प्रपन्नाचार्य बताउँछन् ।

माघे औंसी, चैतेदसैं, माघेसंक्रान्ति, माघेऔंसीमा एकै दिन दसौं हजारले शिशमहल अवलोकन गर्ने गर्छन् । गत माघेऔंसीमा एकै दिन १० हजारभन्दा बढी दर्शनार्थीले शिशमहल अवलोकन गरेको उनले बताए ।

भारतको महाराजगन्जबाट आइतबार शिशमहल अवलोकनका लागि आएका वीरनाथ करलाले त्रिवेणीधामप्रति भारतीयहरूको उत्तिकै श्रद्धा र विश्वास रहेकाले आफू परिवारसहित यहाँ आएको सुनाए । उनले शिशमहलको बारेमा भारतमा समेत चर्चा रहेकाले आफू लोभिएको सुनाए । वर्षौंदेखिको यहाँ आउने धोको पूरा भएको उनले सुनाए ।

नारायण शर्माले कान्तिपुरमा खबर लेखेका छन्।

प्रतिकृया दिनुहोस्