काठमाडौं । नेपाल शिक्षक महासंघको ऐतिहासिक प्रथम राष्ट्रिय परिषद ललितपुरको जावलाखेलमा शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने राष्ट्रिय परिषदको शनिवार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले पुनले शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताए । शिक्षक, पाठ्यक्रम तथा पाठ्यपुस्तकको पनि सुधार गरी शिक्षाको सुधार गर्नुपर्ने भन्दै उनले शिक्षकहरु केवल बालबालिकालाई औपचारिक ज्ञान दिने गुरु मात्रै नभएर समाज सुधारक र परिवर्तनका संवाहक पनि रहेका औँल्याए ।

आज नेपाली जनताले राजनीतिक रुपमा जे उपलब्धि हासिल गरेका छन् त्यसमा शिक्षकहरुको देन अग्रणी रहेको उपराष्ट्रपति पुनको भनाइ छ । ‘शिक्षा पेशा हेर्दा सरल र सहज देखिए पनि यो निकै महत्वपूर्ण जिम्मेवारी रहेको छ’, उनले भने, ‘शिक्षक पेशा जति संवेदनशील छ, यसमा सन्तुष्टि र गौरव पनि त्यति नै छ ।’

यस्तै कार्यक्रममा पूर्वशिक्षामन्त्री गंगालाल तुलाधरले शिक्षकका सबै समस्या समाधान नगरेसम्म शिक्षामा सुधार नआउने बताए । जहाँ शिक्षक सम्मानित छन्, त्यहाँ शैक्षिक गुणस्तर राम्रो छ – तुलाधरले भने । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन अनुसार राष्ट्रिय शिक्षा नीति र संघीय ऐन ल्याएर शिक्षक र विद्यालय कर्मचारीका समस्या समाधान गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा वाङमयविद् शताव्दीपुरुष शत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरे र गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल जुम्लाका माउण्टेनियर धावक हरिबहादुर रोकालाई सम्मानित गरिएको थियो ।


परिषदले महासंघको विगतको कार्यको समिक्षा र आगामी रणनीति तयार गर्ने साथै आवश्यक विधान संशोधन गर्ने महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीले जानकारी दिए ।

सहअध्यक्ष दवाडीका अनुसार आइतवार बन्दसत्र हुने र त्यहाँ विधान मस्यौदा समितिको विधान संशोधन प्रस्ताव, महासचिवको सांगठनिक प्रस्ताव, महिला उपाध्यक्षको महिला प्रतिवेदन र अर्थउपमहासचिवको आर्थिक प्रतिवेदनमा छलफल हुने छ ।

परिषद्ले विधान संशोधन सहित आइतवार जावलाखेल घोषणा पत्र सार्वजनिक गर्ने दवाडीले जानकारी दिए ।

कार्यक्रममा महासंघका आवद्ध र सम्बद्ध संघसंगठनका अध्यक्षहरुले परिषद् सफलताको शुभकामना व्यक्त गरेका थिए । महासंघको अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रको सञ्चालन उपमहासचिव दिनानाथ तिमिल्सिना तथा स्वागत मन्तव्य सहअध्यक्ष पूर्णप्रसाद दवाडीले गरेका थिए । महासंघको एक घटक नेपाल शिक्षक संघले भने विधान संशोधन प्रस्तावमा असहमति जनाउँदै परिषद वहिस्कार गरेको छ ।

२०७६ असोज ४ गते १९:१२मा प्रकाशित

प्रतिकृया दिनुहोस्