काभ्रे । जिल्लाको एक सामुदायिक विद्यालयले विद्यालयमै पढाइ सुरु गरेको छ । पाँचखाल नगरपालिका वडा नं. १२ बालुवामा रहेको आजाद माध्यमिक विद्यालयले एक दिनमा दुई वटा कक्षा सञ्चालन सुरु गरेको हो ।

कोरोनाका कारण अन्य विद्यालयहरू बन्द रहेका छन् । तर उक्त विद्यालयले विद्यार्थीलाई भौतिक दूरी कायम गराएर पढाउन थालेको छ । उक्त विद्यालयका शिक्षक बसन्तप्रसाद न्यौपानेले अभिभावकले सुरक्षा र मास्कको ग्यारेन्टी गरेपछि एक दिनमा दुई वटा कक्षा सञ्चालन गरिरहेको बताउनुभयो । अङ्ग्रेजी र नेपाली माध्यमबाट पढाउँदैआएको उक्त विद्यालयमा विद्यार्थीको चाप भएपछि समुदायमा जान पनि नसक्ने र रेडियो, टेलिभिजनमा विद्यार्थीले ध्यान नदिएपछि अभिभावकले विद्यालय सञ्चालन गर्न आग्रह गरेका थिए ।

शिक्षक-अभिभावक सङ्घका अध्यक्ष श्याम विकले अभिभावकहरूकै आग्रहमा विद्यालय सञ्चालन गरिएको बताउनुभयो । ‘हामीले हाम्रा बालबालिकालाई रेडियो, टिभीमा सुनेर पढ्न भन्यौँ, तर उनीहरूले मान्दै मानेनन्, के गर्ने त भनेर हामीबीच छलफल भएपछि हामीले नै विद्यालय खुल्ने सुझाव दिएका हौँ’, विकले भन्नुभयो ।

अभिभावकहरूले विद्यालय खोल्न आग्रह गरेपछि विद्यालयले अभिभावक भेला गरेको थियो । उक्त भेलाले विद्यालयले ज्वरो नाप्ने, हात धुने स्थानको व्यवस्थापन गर्ने, एक बेन्चमा दुई जनाभन्दा बढी बस्न नदिने, एउटा कक्षामा २० देखी २५ जना राख्ने सहमति भएको शिक्षक न्यौपानेले बताउनुभयो । अभिभावकहरूले हामी मास्क, पानी र खाजा घरबाटै पठाउँछौ भन्नुभयो । त्यही अनुसार हामीले अन्य सुरक्षाको व्यवस्था मिलाएर पढाइरहेका छौँ ।

विद्यालयले थर्मल गनबाट प्रवेश गेटमा ज्वरो चेक जाँच गर्ने गरेको छ । एक सय डिग्रीभन्दा माथि आएमा विद्यार्थीलाई घर पठाउने गरेको विद्यालयले जनाएको छ । विद्यालयले शाैचालय पनि एक पटकमा दुई जान मात्र जाने व्यवस्था मिलाएको छ ।

विद्यालय आइतबार र सोमबार कक्षा नौ र १०, मङ्गलबार कक्षा ७ र ८, बुधबार ५ र ६, बिहीबार कक्षा ३ र ४ र शुक्रबार प्लेग्रुपदेखि कक्षा २ सम्मका विद्यार्थीलाई पढाउँदै आइरहेको छ । दैनिक चार वटा विषयको पढाइ हुने विद्यालयका प्रधानाध्यापक प्रल्लाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा नौ र १० को हप्तामा आठ वटै विषयको पढाइ हुन्छ भने अन्य कक्षाको हप्तामा चार विषय पढाइ हुन्छ ।

उक्त विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ७३४ जना विद्यार्थी अध्ययनरत थिए । कक्षा नौ र १० मा विद्यार्थीको सङ्ख्या बढिरहेकाे छ ।

मधुसुधन तिमल्सिनाले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्