रुकुम पश्चिम । परीक्षामा अनियमितता गरेको ठहर गर्दै बाँफिकोट गाउँपालिकाले ७ विद्यालयलाई ‘नैसियत’ दिएको छ । शैक्षिक शत्र २०७६ मा कक्षा ८ को पालिकास्तरीय परीक्षामा अनियमितता गरेको ठहर भएपछि विद्यालयहरु सांकेतिक कारबाहीमा परेका हुन् ।

गाउँपालिकाले ‘नैसियत’ दिँदै विद्यालयको खाता १ महिना रोक्का गरेको थियो । ६ नम्बर वडाको सिद्धार्थ जनता मावि, वडा नं. ७ को नेपाल राष्ट्रिय मावि, २ नम्बरको जनकल्याण मावि र ८ नम्बरको नेपाल राष्ट्रिय मावि कारबाहीमा परेका हुन् । १० नम्बर वडाको भानुभक्त मावि, एकता आधारभूत विद्यालय र वडा नं. ७ को नवज्योति माविलाई पनि सांकेतिक कारबाही गरिएको गाउँपालिकाले जनाएको छ ।

परीक्षाको मर्यादाविपरित काम गरेकाले विद्यालयको खाता रोक्का गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ज्ञानबहादुर खड्काले बताए । ‘खाता रोक्का भएपछि शिक्षकहरुको तलबसमेत रोकिएको थियो,’ उनले भने, ‘फेरि गल्ती नगर्ने शर्तमा १ महिनापछि साउन अन्तिम साता खाता फुकुवा गरेका छौं ।’ कक्षा ८ मा धेरै विद्यार्थीलाई उत्तीर्ण गराउने गरी परीक्षा सञ्चालन गरेको पाइएपछि विद्यालयमाथि प्रश्न उठाइएको हो ।

विद्यालयहरुले परीक्षा समितिको नीति, विधि र पद्धतिलाई बेवास्ता गरी परीक्षा सञ्चालन गरेकाले ‘नैसियत’ दिइएको गाउँ शिक्षा समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए । ‘कक्षामा कोचिङ गर्नु स्वभाविक हो,’ उनले भने, ‘तर विद्यालयहरुले परीक्षामै विद्यार्थीलाई कोचिङ गरेको पुष्टि भयो ।’

उनका अनुसार पालिकास्तरीय परीक्षामा राम्रो गर्ने विद्यालयलाई ५० हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । गाउँपालिकाले ८ कक्षाबाहेक १ देखि ९ कक्षाका विद्यार्थीलाई एउटा प्रणालीबाट परीक्षा गराइरहेको छ । ७ विद्यालयले परीक्षण गरेको उत्तरपुस्तिका पुन: परीक्षण गरेपछि मात्रै नजिता सार्वजनिक गरिएको अध्यक्ष केसीले बताए ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६, स्थित सिद्धार्थ जनता माविमा अनुगमनको क्रममा खाली भेटिएका कक्षाकोठा ।

हरि गौतमले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्