काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बाेर्डकाे आज साढे ४ बजे बसेको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए।

गत वर्षभन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको छ । बोर्ड अध्यक्ष शर्माका अनुसार यो वर्ष १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् ।

देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

बोर्डले विद्यार्थीको प्राप्तांक इन्ट्री र रुजु गर्ने काम गरिसकेको छ। प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ। गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए ।

लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी (नन ग्रेड)हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी (नन ग्रेड) आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

यसरी हेर्न सकिन्छ नतिजा
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ। त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ। त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ।

प्रतिकृया दिनुहोस्