भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमित तर्फको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५१ दशमलब ७१ प्रतिशत अर्थात् १ लाख ३७ हजार ६ सय ५ परीक्षार्थी उत्र्तीण भएका छन् । बोर्डले गत जेठमा लिएको परीक्षाको नतिजा बिहिवार सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार यो वर्षको परीक्षामा २ लाख ६६ हजार १ सय ३ परीक्षार्थी मध्ये १ लाख ३७ हजार ६ सय ५ परीक्षार्थी उत्र्तीण भएका हुन् । गत वर्ष भने २ लाख ४३ हजार ७ सय ३१ परीक्षार्थी सम्मिलित भएकामध्ये १ लाख १९ हजार ९ सय १६ जना (४९ दशमलव २० प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका थिए । नतिजा गत सालको भन्दा २ दशमलब ५१ प्रतिशतले बढी हो ।

कक्षा ११ मा २०६६ सालमा ४१ प्रतिशत, २०६७ सालमा ३९ प्रतिशत , २०६८ सालमा ३९ प्रतिशत ०६९ मा ४०.३८, ०७० मा ३९.८७, ०७१ मा ४७.२६, ०७२ मा ४९.२० प्रतिशत विद्यार्थी पास भएका थिए ।

कक्षा ११ को आंशिक तर्फको परीक्षाफल भने बोर्डले गत मंसिर २१ गते प्रकाशित गरेको थियो । परीक्षामा सहभागी १ लाख ७ हजार ९ सय ९५ मध्ये ४२ हजार ७ सय ९९ जना उत्तीर्ण भएका थिए । गत वर्ष आंशिक तर्फ ३४ दशमलव ६५ प्रतिशत उत्तीर्ण भएकोमा यस वर्ष ३९ दशमलव ७३ प्रतिशत उत्तीर्ण भएका थिए ।

यसअघि नियमीत र आंशिकको नतिजा एकै पटक प्रकाशित गर्दा विद्यार्थीले अर्को तह पढ्न नपाउने हुँदा एक बर्ष खेर जाने भएकोमा यस वर्ष देखि बोर्डले आंशिक र नियमितको नतिजा छुट्टा छुट्टै प्रकाशित गर्न शुरु गरेको थियो ।

बोर्डका अनुसार ३३ जनाको परीक्षा रद्द गरिएको छ । परीक्षाफलबारे चित्त नबुझेमा १५ दिनभित्र लब्धांकपत्रको प्रतिलिपि सहित बोर्डमा निवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

२०७३ मंसिर ३०

प्रतिकृया दिनुहोस्