काठमाडौं । अब माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा अंग्रेजी, गणित र विज्ञान विषयमा न्यूनतम ‘डी प्लस’ नल्याउने विद्यार्थी पनि कक्षा ११ मा भर्ना हुन पाउने भएका छन् ।

राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषद्को असोज २ को बैठकले कक्षा ११ मा भर्नाको आधार परिवर्तन गर्दै नयाँ व्यवस्था गर्ने निर्णय गरेको हो ।

परिषद्को भदौ ११ गते बसेको बैठकले एसईईमा औसत ग्रेड प्वाइन्ट (जीपीए) १.६ ल्याएका विद्यार्थीले कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बाहेकका विषय पढ्न पाउने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

हेर्नुहोस् केन्द्रको  भर्नाका आधारसम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को मिति २०७७ ४०८ को निर्णय अनुसार यस् केन्द्रको मिति २०७७-५ -२ मा प्रकाशन भएको सूचनाका सन्दर्भमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को मिति २०७७-५-११ को निर्णयबाट निम्नानुसारको संशोधन भएकाले सोहीअनुसार गर्नुगराउनुहुन सम्बद्ध सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।

(क) साधारण शिक्षा

१. कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम औसत ग्रेड प्वाइन्ट (जिपिए) १.६ ( एक दशमलव छ) प्राप्त गरी कक्षा १० मा पढेका अङ्ग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस (C) ग्रेड प्राप्त गरेको हुनुपर्ने

२. कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषयवाहेक अन्य विषय अध्ययन गर्न न्यूनतम औसत ग्रेड प्वाइन्ट (जिपिए) १.६ ( एक दशमलव छ) प्राप्त गरेको हुनुपर्ने

पुनश्च : परिषद् बाट विद्यालय तहमा निरन्तर विद्यार्थी मूल्याङ्कन र अक्षराङ्कन पद्धतिका बारेमा अध्ययन गरी प्रतिवेदन पेश गर्न परिषद् सदस्य एवम् राष्ट्रिय योजना आयोगका सदस्य मा. डा. उषा झाको अध्यक्षतामा एक समिति गठन भएको व्यहोरा समेत जानकारी गराइन्छ ।

केशवप्रसाद दाहाल
महानिर्देशक

प्रतिकृया दिनुहोस्