काठमाडौँ । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदले यस वर्षको कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय गरेको छ । शुक्रबार शिक्षामन्त्री अध्यक्ष रहने परिषदले उक्त निर्णय गरेको हो । विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा नै विद्यार्थीलाई प्रमाणपत्र दिने परिषदले निर्णय गरेको हो ।

विद्यार्थीको आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ । यसअघि कक्षा ११ को परीक्षा बोर्डले राष्ट्रिय रुपमै सञ्चालन गर्ने गर्दथ्यो ।

कक्षा १२ को परीक्षा विद्यालय तहको अन्तिम परीक्षा भएकाले ११ को परीक्षा राष्ट्रिय रुपमा सञ्चालन गर्न नहुने आवाज पनि उठ्दै आएका थिए ।

यसअघि कक्षा १० को एसईई परीक्षा पनि आन्तरिक मूल्याङ्कनको आधारमा विद्यालयले अंक दिने, शिक्षा विकास तथा समन्वय इकाईले सिफारिस गर्ने र बोर्डले प्रमाणित गरी प्रमाणपत्र दिने व्यवस्था गरिएको थियो ।

अब कक्षा ११ को परीक्षाको नतिजा पनि आन्तरिक मूल्याङ्कनकै आधारमा हुने भएको हो ।

यसका लागि राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि बनाएपछि सोही आधारमा सम्बन्धित विद्यालयले विद्यार्थीलाई अंक प्रदान गर्ने र त्यसैको आधारमा नतिजा प्रकाशन गरिनेछ ।

कोरोना संक्रमणका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्ध गर्ने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

एसईईको जस्तै कक्षा ११ को नतिजा सम्बन्धी कार्यविधि बनाउने जिम्मा पनि बोर्डलाई नै दिइएको छ । परिषदले यसवर्षको परीक्षाका लागि मात्रै यस्तै निर्णय गरेकाले अर्को वर्ष परीक्षा हुने नहुने स्पष्ट भने छैन ।

केन्द्रका निर्देशक भट्टराईले यसपटकलाई मात्र यस्तो निर्णय गरीएको जानकारी दिए । भट्टराईले भने, ‘अर्को पटकदेखि के गर्ने भन्ने पछि नै निर्णय हुन्छ ।’

कक्षा १२ को विषयमा भने अहिलेसम्म कुनै पनि निर्णय भएको छैन । १२ कक्षा विद्यालय तहको अन्तिम कक्षा भएकाले अनुकुल समयमा बोर्ड परीक्षा नै सञ्चालन गरिने शिक्षा मन्त्रालयले बताउँदै आएको छ ।

एसईईको नतिजा प्रकाशनका लागि विद्यार्थीले आन्तरिक मूल्याङ्कनमा प्राप्त गरेको अंक संकलनको काम भइरहेको छ । असार मसान्तभित्र देशभरबाट बोर्डमा अंक प्राप्त भएपछि साउन १५ सम्म नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

प्रतिकृया दिनुहोस्