एजेन्सी । भारतका चर्चित वैज्ञानिक तथा गणितज्ञ सत्येन्द्र नाथ बोस यो दुनियाका एकमात्र यस्ता व्यक्ति हुन् जसले परीक्षामा पूर्णांक भन्दा बढि अंक प्राप्त गरेका थिए । बच्चादेखि नै विलक्षण प्रतिभाका धनी बोसको जन्म कलकत्तामा भएको थियो । प्रारम्भिक शिक्षा घर नजिकैको स्कुलमा लिएपछि उनलाई हिन्दु स्कुलमा भर्ना गरियो ।

हिन्दु स्कुलमा प्रसिद्ध अध्यापक उपेन्द्र बक्सीले गणित पढाउँथे । उनले कक्षामा लिएको परीक्षापछि कपी चेक गरेर विद्यार्थीहरुलाई फिर्ता दिइरहेका थिए । जब उनले सत्येन्द्रको उत्तरपुस्तिका फिर्ता गरे तब उनको उत्तरपुस्तिकामा १ सय पूर्णांकमा १ सय १० अंक दिएको देखियो । यो आश्चर्यजनक घटना वास्तवमा परीक्षाको नियम विपरित थियो । तर यो कसरी सम्भव भयो ? विद्यार्थीलाई पूर्णांक भन्दा बढि नम्बर दिएपनि स्कुलमा हंगामा मच्चियो । उक्त स्कुलका प्रधानाध्यापकले गणित शिक्षक उपेन्द्रलाई यसको कारण सोधे ।

शिक्षक उपेन्द्रको जवाफ यस्तो थियो-मैले जे गरेँ, ठिक गरेँ । सत्येन्द्रले निर्धारित समयमा कुनैपनि विकल्प नछाडिकन सबै प्रश्नको सही ढंगले उत्तर दिनुका साथै कतिपय प्रश्नलाई एक भन्दा बढि तरिकाबाट समेत हल गरेका छन् । यदि तपाइँले निर्देशन नै दिनुहुन्छ भने त म उनको अंक घटाएर सयमा सय नै बनाइदिउँला, तर यसले सत्येन्द्रको प्रतिभा कम हुँदैन । स्कुल शिक्षा पूरा गरेपछि सत्येन्द्र कलकत्ताको प्रेसिडेन्सी कलेजमा भर्ना भए । त्यस समयमा उक्त कलेजमा प्रसिद्ध वैज्ञानिक जगदिशचन्द्र बोस तथा प्रफुल्ल चन्द्र राय जस्ता शिक्षकहरुले पढाउँथे ।

मेघनाथ साहा र प्रसान्त चन्द्र महालनेभिस सत्येन्द्रका सहपाठी थिए । कक्षामा सत्येन्द्र प्रथम र साहा दोश्रो हुन्थे, सधै । जब उनीहरु एमएससीमा अध्ययनरत थिए त्यसबेला परीक्षामा गणितको प्रश्नपत्रमा सोधिएको एउटा प्रश्न कुनैपनि विद्यार्थीले हल गरेनन् । यस्तो देखेर कलेजका कुलपति अर्थात् गणितका महाविद्वान प्राध्यापक आशुतोषले असन्तुष प्रकट गर्दै सबै विद्यार्थी र शिक्षकलाई भेला पारेर थर्काए । ‘तिमीहरु के पढाउँछौँ अनि विद्यार्थीहरु के पढ्छौ ? मैले बुझ्न सक्दिन ।

यो पटक मैले गणितको प्रश्नपत्रमा एउटा प्रश्न दिएको थिएँ जसलाई कसैले पनि हल गरेनन् । निकै लाजलाग्दो विषय हो यो ।’ आशुतोषको कुरालाई बिचमै काट्ने हिम्मत कसको हुने ? सबैले मुन्टो निहुराए । तर सत्येन्द्र भने बोलिहाले – सर जब प्रश्न नै गलत हुन्छ भने त्यसलाई कसरी हल गर्ने ? सत्येन्द्रले प्रश्न नै गलत भएको बताएपछि त्यहाँ सन्नाटा छायो ।

आशुतोषले तत्कालै सोधे- प्रश्न गलत थियो भनेर कसरी तिमीले भन्न सक्छौ ? सत्येन्द्रले प्राध्यापक आशुतोषकै सामुन्ने प्रश्नलाई गलत सावित गरेर देखाइदिए ।

त्यसपछि आशुतोषले उनलाई धाप मारेर तारिफ गर्न थाले । उनको प्रतिभाको कदर गर्दै स्नातकोत्तर उत्तीर्ण गरेसँगै आशुतोषले सत्येन्द्रलाई कलकत्ता विश्वविद्यालयको प्राध्यापकमा नियुक्त गरे ।

प्रतिकृया दिनुहोस्