कविताः मेरो देश मेरो गौरव

Avatar photo

Byएजुकेशन पाटी

२८ जेष्ठ २०७७, बुधबार

मेची काली पूर्व पश्चिम, सिमानाका किल्ला,
उत्तरमा सेता हिमाल, अन्त कहाँ मिल्ला ?
दक्षिणमा हरिया फाँट, भएको मेरो देश,
चार जात छत्तीस वर्ण, फरक फरक भेष ।।

सगरमाथा हाम्रो छानो, फेदिमा छ गाउँ,
पानी नखाई बीर पुर्खाले, लडेको यो ठाउँ ।
बलभद्र, अमरसिंह, लडे हाम्रा पुर्खा,
अहिले पनि डराउँछन् , नाम सुन्दा गोर्खा ।।

ईद मान्छन मुस्लिमले, दशैं मान्छन् हिन्दु,
यिनै चाड पर्व बन्छन् , मिलनका बिन्दु ।
फरक फरक संस्कृति र फरक धर्म भेष,
सबै मिली बनेको छ, फूलबारी यो देश ।।

मुक्तिनाथ छन् हिमालमा, सीताभूमि तराई
सबका साझा पशुपति कोहि छैनन् पराई ।
हाम्रो देशको भिर पाखामा, नाच्छन् डाँफे मुनाल,
कलकल बग्ने नदीका स्रोत, हाम्रै देशका हिमाल ।।

यति राम्रो देश छ हाम्रो, सुन्दर गाउँ सहर,
मलाई छ यै देशको सेवा गर्ने रहर ।।
जन्मे हुर्कें यै देशमा अन्त कहाँ जाउँ ?
यै देशको नाम राखि, यहिं मर्न पाउँ ।।

स्वीकृति बाँस्तोला

कक्षा ८ “क”
पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय,
डिल्लीबजार काठमाडौं– २९
(महिला शिक्षक समाज केन्द्रीय समितिद्वारा आयोजित अन्तर मा.वि. स्तरीय कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त कविता)

प्रतिकृया दिनुहोस्