बुद्धको देशमा शान्तिका पाइला धर्मराएको बेला
पृथ्वीनारायणशाहको बिस्तारको बाटो भत्किएको बेला
अरनिकोले कोरेको कला र सस्कृति धमिलिएको बेला
आमा !!! तिमी नै भन म कसरि सपना देख्न सक्छु !!!

जनकले छिमेकिसंग नाता जोड्दा
सीतालाइ सतित्व जोगाउन अप्ठयारो पर्दा
भृकुटीले आत्मसम्मान गुमाउनु पर्दा
आमा !!! तिमी नै भन म कसरि चयनमा रहन सक्छु !!!

अमर सिंह, बलभद्र र भक्ति थापाहरुले लडेको यो देश
दशरथ, शुक्रराज, धर्म भक्त र गंगालालहरुले शाहदत गरेको देश
ठोरी, सुस्ता र सीमाका दशगजाहरु बेपत्ता हुँदा
आमा !!! तिमी नै भन म कसरी चीर शयनमा रहन सक्छु !!!

कोतपर्व, भण्डारखालपर्वदेखि नारायणहिटीसम्म
रहस्यमय बनेको मदन भण्डारी हत्याकाण्डसम्म
अनेक आन्दोलनमा भएको हजारौको बलिदानीले, आत्माहरु तड्पिएको बेला
आमा !!! तिमी नै भन म कसरी निन्द्रामा हुन सक्छु !!!

लक्ष्मण, रामे, टुल्के अनि बाटुलीले जन्मभुमि छाडेर जाँदा
तल्ला घरे चमेलीको सपना बन्द बाकसमा आइ सिउदो पुछिदा
चौरासी पर्खी बसेका डाडाँमाथिका जुनहरुमा बादल लागेको देख्दा
मुर्दाघाटमा जान ड्राइभर संग मोलमोलाई गरेको सुन्दा
तिमी नै भन म कसरी आफ्नो शयनमा रहन सक्छु !!!

जब पबित्रताकी जननी सीता पटक पटक बलात्कृत हुनु पर्छ
जनकरुपि पिताले मानसिक सन्तुलन गुमाउनु पर्दछ
नौ बर्षे दुधे बालक अपहरित भई बेबारिसे मुर्दा बन्छ
आमा !!!
फेरि तिमी सपनाको कुरा गर्छौ ???

थाहा छ आमा तिम्लाई ? सम्झनालाई एसिड आक्रमण भयो रे
मोहम्मद आलम र सरद गौचनला दिउसै गोली प्रहार भयो रे
टिपर नामको ‘सेतो भूत’ले बटुवालाई निल्यो रे
अनि तिमी किन मलाई सपनाको कुरा मात्र सिकाउछौ ???

आमा म तिम्ला सम्मान गर्छु, तिमी मेरी आमा होऊ
म निदाउन त सक्दिन तर आँखा चिम्लन्छु
म निदाउन चाहान्छु देख्न मेरो सपना
र, मेरो सपनीको देश ……….

बिहानी उषाको प्रकाश संगै क्षितिज चम्किएको बेला
सगरमाथाको उचाईसंगै देश उचालिएको बेला
पृथ्वीनारायण शाहले औलो मात्र देखाएका छैनन् संगै पाइला सारेका छन्
गौतम बुद्धले बन्द आँखा नयाँ बिचारले खोलेका छन्
हो, अब दुवै चीरनिन्द्राबाट उठी सकेका छन्

हातमा शान्तिको झण्डा बोकी विश्व भ्रमण गर्न लागेका छन्
नेपालबाट यी नया लि क्वान र सी जीन पिंगका अवतार बनेर
अलकायदा र आइ यस आइ यस बिरुद्ध धावा बोल्ने छन्
पशुपतिनाथबाट शिबजी त्रिशुल टेकी डमरु बजाउदै निस्किसके रे
नयाँ नेपालको नया युगको तिर्थाटन शुभारम्भ गर्दैछन् रे

नयाँ युगको “नेपाली रेल” मनकामना हुदै मुक्तिनाथ पुगेछ
बाटोमा भानुभक्त, देवकोटा, जनक, सीता, भृकुटी रमाएछन्
नयाँ युगका राष्ट्रप्रेमी जनताले पुष्पबृष्टि गरेछन
लुम्बिनी पुगी मुगुको रारामा आराम गरी कंचनपुर झर्दा
निर्मलाहरुले पुष्प गुच्छा दिएछन

महाकाली नदि तरेर कुमाउ र गढवाल किल्लामा
चन्द्र र शूर्य फरफराउने बेला
बलभद्र, भक्ति थापा र अमर सिंहहरु जिउदा शेर रक्षक बनि उदाएछन
फर्कदा जनकपुर हुँदै ताप्लेजुंगको
पाथिभरा भएर सिक्किमको टिस्टा पुगी सगरमाथाको बेसमा
तेन्जिंग नोर्गे र पासांग ल्हामुहरुले नमन गरेछन

दोलखाको भोटे कोशीको पानि जहाज हेर्दै भीमसेन बाट काठमाडौँ फर्किने छन्
जहाँ
राजधानीका बैज्ञानिकले पठाएको ‘सगरमाथा’ नामको अन्तरीक्ष यान
मंगल ग्रह अध्ययन गरी सफल अवतरण गरेछ

म खुशी छु, लक्ष्मण, टुल्के, रामे अनि बाटुलीको सपना यही पूरा हुने भो
तल्लाघरे चमेलीकोझैँ बिहे भएको महिनामै सपना तुहुने छैन, सिन्दुर पुछिने छैन
अब देशमा करोडौको सपनाहरु पलाईसकेका छन्, फुल्नेछन् अनि फल्नेछन्
के पी ओली, प्रचण्ड, बाबुराम, शेरबहादुर र महन्थ ठाकुर प्याराशुट बाट ओर्लिए
अनि ठूलो ब्यानर देखा पर्यो लेखिएको थियो समाजबाद उन्मुख समृद्ध नेपाल
आमाले धक्का दिनु भयो र पो ब्युझिँए

उफ् ! म त न निदाई सपना देखेछु
मेरो देश समृद्ध भएको मेरो सपना मेरो देश अनि मेरो सपना

प्रतिकृया दिनुहोस्