पेन्सन पाउन गैरकानूनी हर्कत

शिक्षक किताबखानामा अनौठा–अनौठा ‘केस’

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२१ जेष्ठ २०७७, बुधबार

भैरव उमावि बझाङ जोताहाका शिक्षक मोहनदेव भट्टले आत्महत्या गरे । तर घटना घटेको ६ वर्ष पछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको निवृत्ति सिफारिस समितिले विद्यालयले कागमा खटाउँदा उनको मृत्यु भएको भन्दै भट्टको परिवारलाई पारिवारिक निवृत्ति दिन सिफारिस ग¥यो । सो फाइल शिक्षा मन्त्रालय, विभागबाट स्वीकृत हुँदै विद्यालय शिक्षक किताबखाना पुग्यो । तर, किताबखानाले सबैको सिफारिसका बाबजुद सो घटनालाई आत्महत्या मान्दै पारिवारिक निवृत्ति दिन अस्वीकार गरिदियो ।

मंगलादेवी मावि खाँदवारी संखुवासभाका प्रावि शिक्षक रामबहादुर आलेमगरले पेन्सनका लागि इच्छाएको श्रीमतीको ८ असार ०७२ मा मृत्यु भयो । इच्छाएकी श्रीमतीको मृत्यु भएको एक वर्षभित्रै २० असार ०७३ मा अन्य व्यक्तिमा नामसारी नगर्दै आलेमगरको पनि मृत्यु भयो । पछि उनको छोरा मौसम आलेमगरलाई पेन्सन दिन भनेर जिशिकाले किताबखानालाई लेखेर पठायो । छोरा मौसम पनि आफूले बाबुको पेन्सन पाऊँ भनेर किताबखाना आए । उनलाई पेन्सन दिन ठूलो दबाब परेपनि किताबखानाले दिन नसकिने निर्णय ग¥यो ।

सेवा अवधि डेढ वर्ष मात्रै भएका काफलसेरी मावि पीपलकोट बझाङका शिक्षक आनन्दबहादुर सिंहको एसएलसी परीक्षाको सहयोगी सदस्य खटाएको अवस्थामा मृत्यु भएको भन्दै शबको पोष्टमार्टम रिर्पोटसहित निजकी श्रीमतीलाई पारिवारिक निवृत्ति दिन विद्यालय र जिशिकाबाट ३ साउन २०७३ मा सिफारिस गरियो । प्रमुख जिल्ला अधिकारी नेतृत्वको निवृत्ति सिफारिस समितिले समेत सोही प्रकृतिको सिफारिस ग¥यो । घटना स्थापित नभएको भन्दै किताबखानाले उनलाई पारिवारिक निवृत्ति दिन नसकिने स्पष्ट पा¥यो ।

एकजना शिक्षकले इच्छाएको व्यक्तिको स्थानमा आफ्नो छोराको नाम राखेका थिए । शिक्षकको निधन भयो । पछि उनकी श्रीमती आएर इच्छाएको छोरोे आफ्नो नभएको प्रमाण पेश गर्दै पेन्सन आफूले नै पाउनुपर्ने जिकिर गरिन् । छोराले पनि आमाले पेन्सन पाए हुने कागज गरे । इच्छाउने स्वयं शिक्षकबाहेक कसैले कुनै हालतमा परिवर्तन गर्न नमिल्ने भएपछि उनीहरु कसैको पनि नाममा पेन्सनपट्टा नै नबनाई फर्किए ।

यी त उदाहरण मात्रै हुन् । पेन्सन पाउन शिक्षक र शिक्षकका परिवारले यस्ता धेरै गैरकानूनी हर्कतहरु गर्ने गरेका छन् । किताबखानामा आत्महत्या गरेका शिक्षकको श्रीमतीलाई आजीवन पारिवारिक निवृत्ति दिलाउन, इच्छाएको व्यक्तिबाहेकलाई पेन्सन नामसारी गर्न, सेवाअवधि नपुगेका शिक्षकलाई दिलाउन धेरै सिफारिसहरु आउने गरेका छन् । सिफारिस मात्रै होइन, राजनीतिक र अन्य माथिल्ला निकायका विभिन्न दबाबसमेत प्रशस्त आउने गरेका छन् ।

किन पाएनन् ?
सेवा अवधि डेढ वर्ष मात्रै भएका भैरव उमावि बझाङ जोताहाका शिक्षक मोहनदेव भट्टले ०६७/८/२५ मा आत्महत्या गरे । तर, घटना घटेको ६ वर्ष पछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको निवृत्ति सिफारिस समितिले विद्यालयले गेटा आँखा अस्पतालको शिविरमा काजमा खटाउँदा उनको मृत्यु भएको भन्दै शिक्षा नियम १२५ बमोजिम उनको परिवारलाई पारिवारिक निवृत्ति दिन सिफारिस ग¥यो । समितिमा रहेका प्रहरी प्रमुखबाट दुर्घटनाको कागज प्रमाणित, जिल्ला स्वास्थ्य कार्यालयबाट दुर्घटना भएको भनी पोष्टमार्टम रिर्पोटलगायतका प्रमाणहरु पनि पठाइयो । सो फाइल शिक्षा मन्त्रालय, विभागबाट स्वीकृत हुँदै ०७३ साउनमा विद्यालय शिक्षक किताबखाना पुग्यो ।

तर, किताबखानाले सबैको सिफारिसका बाबजुद सो घटनाको लिखित कारणलाई किताबखानाको परामर्श समितिले सही कारण मान्न नसकी त्यसलाई आत्महत्या मान्दै पारिवारिक निवृत्ति दिन इन्कार गरिदियो । शिक्षकको निधन पछि श्रीमती सावित्री भट्टले प्रहरीमा दिएको पहिलो निवेदनमा शिक्षकको काजमा मृत्यु नभई आत्महत्या भएको र निजले धेरै पहिलेदेखि नै आत्महत्या गर्ने धम्की दिइरहने उल्लेख थियो । ती शिक्षकको मृत्यु भएको ६ वर्ष पछि आजीवन पारिवारिक वृत्तिका लागि निवेदन आएको कारणलाई आधार मानेर किताबखानाले ०७३ साउनमा निर्णय गर्दै उनलाई आजीवन पारिवारिक वृत्तिबाहेकका औषधि उपचार र विरामी विदाका सुविधा मात्रै दिन सकिने निर्णय गरेको हो ।

श्रीमती सावित्रीले ०६७/८/२७ गते प्रहरीलाई दिएको रिर्पोटमा आँखा शिविरबाट ५ः३० बजे घरमा फर्केर दाउरासमेत चिरेको र ७ बजे श्रीमान्को मृत्यु भएको र उनले पहिलेदेखि नै आत्महत्या गर्ने धम्की दिने गरेको उल्लेख छ । उनले रिर्पोटमा ‘श्रीमान्लाई कसैले मारे/ मराएको होइन, आफै आत्महत्या गरेका हुन्’ भन्ने स्पष्ट पारेकी थिइन् । उता, गेटा आँखा अस्पतालको पत्रमा भने विद्यालयले ०६७/८/२६ मा काजमा पठाएकै अवधिमा मिति ०६७/८/२८ मा शिक्षकको मृत्यु भएको उल्लेख गरिएको छ । श्रीमान् मरेर उनकी श्रीमती सावित्रीले प्रहरीमा दिएको रिर्पोट, अस्पताल र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा शिक्षकको मृत्यु भएको मिति नै फरक प¥यो । सम्पूर्ण काजको विश्लेषण गरी किताबखानाले फरक निर्णय गरेपछि मृतक शिक्षककी श्रीमती सावित्रीले पुनः ०७३/४/११ मा आजीवन पारिवारिक वृत्तिबाहेक अन्य उपचार खर्च, उपादनलगायतको सुविधा पाउँ भनी किताबखानामा निवेदन दिइन् । र, ६ वर्ष पहिलेको माग छाडिन् । उनले बाँकी सुविधा पाउन व्यर्थ ६ वर्ष कुर्नुप¥यो ।

सेवा अवधि डेढ वर्ष मात्रै भएका काफलसेरी मावि पीपलकोट बझाङका शिक्षक आनन्दबहादुर सिंहको एसएलसी परीक्षाको सहयोगी सदस्य खटाएको अवस्थामा मृत्यु भएको भन्दै लाशको पोष्टमार्टम रिर्पोटसहित निजकी श्रीमतीलाई पारिवारिक वृत्ति दिन विद्यालय र जिशिकाबाट सिफारिस गरियो । १ भाद्र २०७० मा स्थायी भएका सिंहको ०७२/१२/२६ मा मृत्यु भएको थियो । विद्यालयले ४ असार ०७३ मा पत्र लेख्दै निज शिक्षकलाई एसएलसी परीक्षामा सहयोगीको रुपमा काजमा खटाइएको र सोही समयमा घर आउने क्रममा भिरबाट खसेर उनको मृत्यु भएको निवेदन ग¥यो ।

जिशिकाले पनि ३ साउन ०७३ मा सो कागजको अध्ययन गरी यो सिफारिसका आधारमा शिक्षा नियमावलीको नियम ११६ बमोजिम मृतककी श्रीमतीलाई आजीवन पारिवारिक वृत्ति दिन सिफारिस पनि ग¥यो । प्रमुख जिल्ला अधिकारी नेतृत्वको वृत्ति सिफारिस समितिले समेत १९ असार ०७३ मा निर्णय गर्दै सोही प्रकृतिको सिफारिस ग¥यो । जिल्ला प्रहरी कार्यालयले पनि ९ जेठ ०७३ मा एसएलसी परीक्षामा समन्वय समितिको सदस्य शिक्षकको भिरबाट खसेर मृत्यु भएको सिफारिस ग¥यो । तर, किताबखानाले १२ साउन ०७३ मा पत्र लेखी जिल्ला शिक्षा कार्यालयमा बुझ्दा एसएलसीमा सहयोगी खटाउने कानूनी व्यवस्था नभएको र व्यवहारिक रुपमा मात्रै खटाइने जवाफ आएपछि घटना स्थापित नभएको भन्दै किताबखानाले उनको श्रीमतीलाई पारिवारिक वृत्ति दिन नसकिने निर्णय ग¥यो ।

मंगलादेवी मावि खाँदवारी संखुवासभाका प्रावि शिक्षक रामबहादुर आलेमगरले पेन्सनका लागि इच्छाएको श्रीमतीको पहिले मृत्यु भएको र त्यसको एक वर्षभित्रै अन्यमा नामसारी नगर्दै उनको पनि मृत्यु भयो । पछि उनको छोरा मौसम आलेमगरलाई पेन्सन दिन भनेर जिशिकाले किताबखानालाई लेखेर पठाए पनि शिक्षकले बिना अन्यले इच्छाएको व्यक्ति परिवर्तन गर्न कानूनी आधार नभएको र इच्छाएको व्यक्तिको मृत्यु भइसकेकाले छोराले कुनै हालतमा पेन्सन नपाउने भन्दै औषधी उपचार र विरामी सञ्चित विदाको रकमसहित छोरालाई विदा गरिदियो । छोरालाई पेन्सन दिन राजनीतिक र प्रशासनिक ठूलो दबाबहरु आएपनि किताबखानाले उनलाई पेन्सन दिन नसकिने निर्णय गरेको महानिर्देशक शेरबहादुर ढुङ्गानाले बताए ।

तरपनि किताबखानाबाट गलत तरिकाले पेन्सन लिन भने छाडिएको छैन । बुढानिलकण्ठ स्कूलका तत्कालीन प्रधानाध्यापक नारायणप्रसाद शर्माले फर्जी कागजातका आधारमा निवृत्तभरणको प्रमाणपत्र बनाएको आरोप लाग्यो । त्यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रअ शर्मा र काठमाडौंका दुई जिशिअउपर विशेष अदालतमा मुद्दासमेत दायर ग¥यो । योग्यता नै पुग्दा पनि प्रअ शर्माले फर्जी कागजातका आधारमा निवृत्तभरणको कागज बनाएर स्थायी शिक्षकले मात्र पाउने निवृत्तभरण रकम लिएर भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले पेन्सन बुझेको १३ लाख ६५ हजार ६११ रुपियाँ विगो मागदाबीसहित तीनै जनाउपर मुद्दा दायर गरेपनि सो मुद्दाको टुङ्गो नलागेकाले उनले हालसम्म पनि पेन्सन बुझेको हुनसक्ने किताबखाना स्रोत बताउँछ ।

लगातार सिफारिस
विद्यालय शिक्षक किताबखानामा दिनभर बस्दा शिक्षकका विभिन्न समस्याहरु आइरहेका देखिए । धनकुटाको नवनिकेतन प्रावि जोरपाटीबाट सेवानिवृत्त शिक्षक चिनीमैया दाहाल आफ्नो पतिको मृत्यु भएपछि पेन्सन दाबी गर्न किताबखाना आइन् । उनको पति सोही जिल्लाको भिरगाउँ टंक माविबाट सेवा निवृत्त थिए जसको गत असोजमा मृत्यु भयो । त्यसपछि पतिको इच्छाएको व्यक्ति आफू भएकाले दोहोरो पेन्सन पाउन माग गर्दै उनी किताबखाना पुगिन् । तर, किताबखानाले हाल शिक्षकमा दोहोरो पेन्सनको व्यवस्था नरहेको भन्दै फिर्ता पठाइदियो । किताबखानाका कर्मचारीले संशोधित नियमावलीमा दोहोरो पेन्सनको व्यवस्था गरिएको र त्यो पास भएमा मात्र दिन सकिने भन्दै दाहाललाई सम्झाएर पठाइदिएका थिए ।

सार्वजनिक मावि स्याङ्जाका निमावि शिक्षक भिमलाल ज्ञवाली श्रीमान्– श्रीमती दुबै सेवानिवृत्त शिक्षक भएको साथै पेन्सन लिन सुरु गरेको १५ वर्ष बितेकाले अन्य परिवार वा इच्छाएको व्यक्तिले पेन्सन नपाउने भएकाले आ–आफ्नो इच्छाएको व्यक्तिबाट श्रीमान्–श्रीमतीको नाउँ हटाएर खाली ठाउँ राख्न किताबखाना आएका थिए । तर, नियमावलीमा नयाँ व्यवस्था हुन लागेको भन्दै उनलाई पनि किताबखानाको कर्मचारीहरुले सम्झाएर पठाइदिए ।

नाम सार्वजनिक गर्न नचाहने एक धार्मिक प्रवृत्तिका शिक्षक श्रीमतीसँग घरायसी वादविवादका कारण पेन्सनपट्टाबाट श्रीमतीको नाम हटाउन आएका थिए । सात वर्ष पुग्न एक महिना बाँकी रहेका उनी श्रीमतीको नाम हटाएर इच्छाएको व्यक्तिको स्थानमा छोरीको नाम राख्न चाहन्थे । जसको अर्थ हुन्थ्यो उनी पछि उनकी श्रीमतीले कुनै हालतमा उनको पेन्सन बुझ्न नपाओस् । किताबखानाका कर्मचारीले सम्झाएपछि उनी अन्त्यमा इच्छाएकी व्यक्तिको ठाउँ खाली राखेर गए ।

९९ प्रतिशत गलत सिफारिस !
पेन्सनका लागि आवश्यक सेवा अवधि नपुग्दै कालगति, दुर्घटना या अन्य कारणले निधन भएका शिक्षकका परिवारलाई आजीवन पारिवारिक निवृत्ति उपलब्ध गराउन भन्दै झण्डै ९९ प्रतिशत गलत सिफारिस आउने गरेका छन् । प्रमुख जिल्ला अधिकारी नेतृत्वको निवृत्ति सिफारिस समितिका साथै शिक्षा सचिव र विभागका महानिर्देशकसमेतको सिफारिस लिएर सुविधाका लागि किताबखानामा निवेदन आउने गरेका छन् । जसलाई सामान्य छानबिनबाटै किताबखानाले अस्वीकृत गरिदिने गरेको छ । किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गाना कागज मिलाए जीवनभर पेन्सन पाइने भएकाले दयामायाले जिल्लाका निजकायहरुबाट समेत त्यस्ता सिफारिस भएर आउने गरेपनि आफूहरुले कानूनी प्रक्रियाका आधारमा त्यसलाई अस्वीकृत गर्ने गरिदिएको बताउँछन् । ‘एउटाले गलत रुपमा पेन्सन पाउनु भनेको राज्यलाई ठूलो नोक्सानी हो,’ उनले भने ।

पेन्सन पछि पनि थप सुविधा
विद्यालय शिक्षक किताबखानाले निवृत्तभरण बुझिरहेका शिक्षक र उनका पति÷पत्नीलाई दुईपटक सेवा थप गर्ने गरेको छ । किताबखानाले पेन्सन बुझिरहेको व्यक्ति ७५ वर्ष पुगेपछि पेन्सन रकमको १० प्रतिशत थप र ८५ वर्ष पुग्दा फेरि कुल पेन्सन रकमको १० प्रतिशत थप गरिदिने गरेको छ । यसका लागि पेन्सन पट्टावाला उमेर पुगेसँगै किताबखानामा नै पुग्नु पर्ने हुन्छ ।

पेन्सनको इतिहास
सन् १८८३ (वि.सं. १९४०) मा जर्मनीमा विस्मार्कले शुरू गरेको निवृत्तभरण (पेन्सन)को नेपालमा भने चन्द्रशमशेरले शुरूआत गरेका हुन् । अन्तर्राष्ट्रियस्तरमा सुरु भएको ५० वर्ष पछि वि.सं. १९९१ मा पहिलो विश्वयुद्धमा नेपालबाट बेलायती सेनामा खटिई अङ्गभङ्ग भई फर्किएका सैनिकलाई ‘वार्षिक खान्गी’का रूपमा निश्चित रकम दिने व्यवस्था चन्द्रशमशेरले गरेका थिए । त्यसका लागि उनले त्यतिबेला ‘सैनिक द्रव्यकोष’ स्थापना गरेका थिए । वि.सं १९९१ मा सैनिक द्रव्यकोषको स्थापना पछि जुद्धशमशेरले १९९८ भदौ १७ गते आफ्नो जन्मदिन पारेर सैनिक सेवामा रहेका जवानहरूलाई तलबको पाँच खण्डको एक खण्ड जीवनभर निवृत्तभरण दिने घोषणा गरे ।

निजामती कर्मचारीले भने वि.सं १९९९ मंसिरदेखि ६ खण्डको १ खण्ड पेन्सन पाउने व्यवस्था गरिएको हो । निजामती कर्मचारीहरुतर्फ चाहिँ वि.सं. १९९९ मंसिर १४ गते दुईछापे सनद जारी गरी नौसिन्दा देखि वडाकाजी सम्म २५ वर्ष सेवा पूरा गरी अवकाश प्राप्त गरेका कर्मचारीलाई दरबन्दी खान्गीको ६ खण्डको एक खण्ड निवृत्तभरण दिने व्यवस्था भएको थियो । पहिले मालपोत कार्यालयबाट वितरण गरिने पेन्सन २०३३ सालदेखि निवृत्तभरण व्यवस्थापन कार्यालय (तत्कालीन कौशी तोषाखाना कार्यालय)मार्फत् वितरण थालिएको हो ।

१२ साउन ०६९ को नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट त्यस कार्यालयको नाम परिवर्तन गरी ‘निवृत्तभरण व्यवस्थापन कार्यालय’ कायम भएको हो । शुरूमा सैनिकलाई मात्र दिइएको पेन्सन निजामती सेवा ऐन २०१३ लागू भएपछि सबै सरकारी कर्मचारीले पाएका थिए भने शिक्षकहरूले आर्थिक वर्ष २०४९/५० देखि पाउन थालेका हुन् ।

कतिले शिक्षकले लिए निवृत्तभरण ?
सरकारले यही मंसिर १ गतेसम्म सामुदायिक विद्यालयका ३६ हजार ७० शिक्षकलाई निवृत्तभरण सुविधा प्रदान गरेको छ । विद्यालय शिक्षक किताबखानाले शिक्षकका लागि यो सुविधा तीन वर्गमा विभाजन गरी वितरण गरेको हो । शिक्षक स्वयंले पाउने निवृत्तभरण अधिकारपत्र (पेन्सन), पारिवारिक निवृत्तभरण र पारिवारिक वृत्ति गरी तीन वर्गमा विभाजन गरी यो सुविधा दिइएको हो । यस्तो पेन्सन कतिपय शिक्षक आफैंले लिएका छन् भने कतिपयका परिवारले लिएका छन् । सरकारले आर्थिक वर्ष ०७२/०७३ मा २ अर्ब २ करोड ७७ लाख ८७ हजार रुपैयाँ निवृत्तभरणबापत् निकासी गरेको छ ।

किताबखानाका अनुसार आर्थिक वर्ष ०७०/७१ म ३ हजार ९२, ०७१/७२ मा ३ हजार ७७३, ०७२/७३ मा ३ हजार ३५ र ०७३ असोजसम्ममा १६५ शिक्षकले निवृत्तभरण पट्टा बनाएका छन् । त्यस्तै, पेन्सनका लागि आवश्यक २० वर्ष सेवा अवधि नपुगेर ०७०/७१ मा १११, ०७१/७२ मा १०१, ०७२/७३ मा १२५ र ०७३ असोजसम्ममा ४ जना शिक्षकले उपादान लिएर विदा भएका छन् । त्यस्तै, ०७०/७१ मा ३०१, ०७१/७२ मा २६०, ०७२/७३ मा ३७६ र ०७३ असोजसम्ममा २३ जनाको पेन्सनपट्टाको नामसारी भएको छ ।

कस्ता–कस्ता छन् निवृत्तभरण ?
विद्यालय शिक्षकखानाबाट शिक्षकहरु तथा उनको परिवारले शिक्षक भएर सेवा गरेवापत् विभिन्नखाले निवृत्तभरणको सुविधा पाउने गरेका छन् ।
निवृत्तभरण
२० वर्षसम्म शिक्षक भएर सेवा गरेवापत् शिक्षकले नै आजीवन पाउने सुविधालाई निवृत्तभरण भनिन्छ ।

परिवारिक निवृत्तभरण
निवृत्तभरण पाउने शिक्षक पछि उनकी श्रीमतीले पनि आजीवन पाउँछिन् भने इच्छाएको व्यक्तिले भने पाउन सुरु गरेको सात वर्षसम्म मात्रै पाउँछन् ।

आजीवन पारिवारिक वृत्ति
विद्यालयको कामको सिलसिलामा काज खटी गएको अवस्थामा दुर्घटनामा परी वा त्यसको कारणबाट निको नहुँदै पछि शिक्षकको मृत्यु भएमा पति वा पत्नीलाई आजीवन दिइने सुविधा हो ।

बढी जागिर गर्ने शिक्षकलाई कार्बाही
किताबखानाले ६० वर्षे सेवा अवधिभन्दा बढी काम गरेका शिक्षकलाई कार्बाही गर्ने गरेको छ । अवकाश पाउने शिक्षककोे नामावली जिल्ला शिक्षा कार्यालयलाई पठाउने साथै किताबखानाले समेत उमेर निश्चित गर्ने गरेको छ । गत साउनदेखि पुससम्म देशभरका सामुदायिक विद्यालयका ७१९ शिक्षकले अनिवार्य अवकाश पाउने भएपछि विद्यालय शिक्षक किताबखानाले शिक्षा कार्यालयलाई विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

आ.व. ०७२/७३ मा अवकाश अवधि ६० वर्षभन्दा बढी काम गरेका १३२ शिक्षकले विनासूचना निरन्तर जागिर खाएको किताबखानाले जनाएको छ । विवरण लुकाएर जागिर खाएका शिक्षकबाट सरकारले २ करोड २० लाख १६ हजार ६४९ रुपैयाँ फिर्ता लिएको थियो । त्यस्तै, ०७१/७२ मा १५१ शिक्षकहरुबाट २ करोड ६२ लाख ४१ हजार ८५८, ०७०/७१ मा त्यस्ता शिक्षकहरुबाट २ करोड ४९ लाख ४९ हजार २५७ रुपैयाँ फिर्ता लिएको थियो । त्यस्तै, यस आ.व.को असोज महिनासम्ममा १७ जना शिक्षकबाट ३३ लाख ५७ हजार ६४५ रुपैयाँ फिर्ता लिएको छ । त्यस्ता शिक्षकले पाउने औषधोपचार र विदाको रकमबाट हिसाब मिलान गरी रकम फिर्ता लिइएको हो । तीन वर्षभन्दा बढी समय जागिर खाने शिक्षकबाट झण्डै ८ करोड बढी फिर्ता लिइएको किताबखानाले जनाएको छ ।

२०७३ मंसिर ८ गते

प्रतिकृया दिनुहोस्