काठमाडौं । स्कूल अफ इन्भाइरोमेन्ट म्यानेजमेन्ट एण्ड सस्टेनेबल डेभलपमेन्ट (SchEMS) ले आफ्नो २७औं स्थापना दिवस सम्पन्न गरेको छ। सन् १९९९ जनवरीमा स्थापना भएको यो कलेजले वातावरण व्यवस्थापन, दिगो विकास, व्यवस्थापन तथा सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ ।

कार्यक्रम सञ्चालक समितिका अध्यक्ष डा. हेरम्ब राजभण्डारीको अध्यक्षता तथा सञ्चालक प्रबिन कुमार रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा कलेजका प्रिन्सिपल अजय भक्त माथेमाले स्वागत मन्तव्य व्यक्त गर्दै कलेजको स्थापना उद्देश्य र उपलब्धिहरूबारे जानकारी गराए ।

उनका अनुसार विभिन्न विधाका प्राज्ञिक तथा सफल व्यक्तित्वहरूको पहलमा स्थापना भएको यस संस्थाको मुख्य उद्देश्य नेपालमा वातावरण, व्यवस्थापन तथा प्रविधि क्षेत्रमा विशेषज्ञ जनशक्ति विकास गर्नु हो ।

कलेजले आफ्नो शैक्षिक यात्रामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। सन् १९९९ देखि वातावरण व्यवस्थापनमा बीएस्सी, २००० देखि एमएस्सी, २००८ देखि व्यवस्थापनतर्फ बीबीए, २०१८ देखि बीसीए तथा २०२३ देखि एमसीआईटी कार्यक्रम सञ्चालनमा रहेका छन् ।

कार्यक्रममा कलेजको योगदानबारे चर्चा गर्दै पूर्व विद्यार्थीहरूले व्यवस्थापन, विज्ञान तथा प्रविधि क्षेत्रमा नवप्रवर्तन र करियर निर्माणमा कलेजले खेलेको भूमिकाको प्रशंसा गरे ।

२७ वर्षे यात्रा स्मरण गर्दै सञ्चालक समितिले आगामी दिनमा अझ प्रभावकारी शैक्षिक तथा व्यावसायिक योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, विद्यार्थी सन्तुष्टि वृद्धि गर्दै राष्ट्र निर्माणमा दिगो विकासमार्फत योगदान पुर्‍याउने लक्ष्य पनि दोहोर्‍याइएको छ ।

प्रतिकृया दिनुहोस्