काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षणमा लापर्वाही भएको बताएकी छन् ।
बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले राष्ट्रिय परीक्षा बोर्डसँग छलफल गर्दा परीक्षण तथा अंक चढाउने गर्दा समस्या हुने गरेको सुनाइन् । उनले भनिन्, ‘पुनर्योग नतिजा आउन थालेपछि बोर्डसँग हामीले छलफल गर्दा चेकिङमा पनि इरर, नम्बर पोस्टिङ गर्दा अथवा इन्ट्री गर्दा पनि इरर देखियो ।’
मन्त्री भट्टराईले अब पुरक परीक्षापछि बोर्डको लापरबाहीबारे अध्ययन गरिने जानकारी गराइन् । उनले भनिन्, ‘अध्ययनको क्रममा आउने निष्कर्षको आधारमा गर्नुपर्ने काम गर्छौं । परीक्षा बोर्डलाई नै पुनर्संरचना गर्नुपर्ने हो वा के हो ? के कारणले कमजोरी भयो ? भन्ने बारेमा पुनरावलोकन हुन्छ ।’ भट्टराईले पुरक परीक्षालाई त्रुटिरहित बनाउने प्रयास भइरहेको पनि समितिमा बताएकी छन् ।अहिलेसम्म पुनर्योगका लागि १८ हजार ६१२ जनाले आवेदन दिएका छन् । त्यसमध्ये ११ हजार ३२१ जनाको नतिजा पुनः हेर्दा ६२१ जनाको नतिजा परिवर्तन भएको जानकारी पाएको मन्त्री भट्टराईले बताइन् ।
मन्त्री भट्टराईले समकक्षता प्रमाण पत्र लिँदा सांसद वीरेन्द्र महतोले घुस दिएको विषयबारे पनि छानबिन भइरहेको बताएकी छन् । समितिको बैठकमा मन्त्री भट्टराईले सांसद महतोले उठाएको विषयमा छानबिन गर्न समिति बनाएर काम भइरहेको जानकारी गराइन् ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक बसन्त कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको मन्त्री भट्टराईले बताइन् ।