कास्की। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सेवाग्राही कार्यालयको काम सेवाग्राहीमैत्री बनाउनेतर्फ केन्द्रित हुन आग्रह गरेकी छन् । गृह जिल्ला कास्कीस्थित शिक्षा सम्बद्ध कार्यालयहरूको अवलोकनका क्रममा उनले सो आग्रह गरेकी हुन् ।
कार्यालय प्रमुख र कर्मचारीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले स्रोत साधनलाई दोष दिएर सेवा प्रवाहमा ढिलासुस्ती हुन नहुने भन्दै हरेक सेवा प्रवाहमा संरचना बाधक भए तत्काल समय सापेक्ष बनाउनेतर्फ लाग्न आग्रह गरिन् ।
राज्यका हरेक निकाय नागरिकको मौलिक हकहरूको संरक्षक समेत भएको हुँदा सबै निकाय इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्न लागिपर्नु पर्ने मन्त्री भट्टराईको भनाइ छ । प्रदेश र स्थानीय तहसहित सङ्घ सरकारको समेत अपनत्व हुनेगरी संरचना निर्माणका लागि मन्त्रालय लागि परेको भन्दै अब निजी र सरकारी शिक्षाभन्दा समग्र शिक्षा कस्तो बनाउने भन्नेतर्फ बहस केन्द्रित भएको भन्दै मन्त्री भट्टराईले छिट्टै जारी हुने शिक्षा ऐनमार्फत यसको सम्बोधन हुने जानकारी दिइन् ।
शिक्षाको गुणस्तर बढाउन दक्ष र तालिम प्राप्त शिक्षकको महत्त्वपूर्ण भूमिका हुने हुँदा उनीहरूको क्षमता विकासको काममा लाग्न कर्मचारीहरूलाई निर्देशन दिइन् । सो अवसरमा प्राविधिक शिक्षाका शिक्षालयहरू थप व्यवस्थित र प्रभावकारी बनाउन प्रदेशस्तरबाट मनिटरिङ गर्ने व्यवस्था व्यवहारिक र वैज्ञानिक हुने जिकिर गरिन् ।
अन्तरक्रिया लगत्तै मन्त्री भट्टराईले कास्कीस्थित शिक्षा विकास समन्वय इकाई, शिक्षा विकास निर्देशनालय, प्रादेशिक परीक्षा बोर्डलगायतका कार्यालयहरूको अवलोकनसहित सेवा प्रवाहको अवस्था सम्बन्धमा जानकारी लिइन् ।
गोरखापत्रमा खबर छ ।