काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा विद्यालय शिक्षा विधेयकमाथि आज शनिवार पनि दफावार छलफल भएको छ । उपसमितिमा  १६३ दफा रहेको विधेयकमा आजसम्म १४५ दफा सम्ममा सहमति जुटेको छ । तर, विवादित बिचका दफाहरूमा पछि छलफल गर्ने गरी छाडिएको छ ।

शिक्षकहरूले आन्दोलन चर्काइरहेका बेला शिक्षा समिति अन्तर्गत बनेको उपसमितिले परिच्छेद १४ मा भएका दफाहरूमा सहमति जुटाएको हो ।

उपसमितिले निजी विद्यालय र शिक्षकको दफा बाहेक अन्यमा सहमति जुटाउँदै आएको हो। यी दुवै विषय जटिल भएकाले अन्तिममा छलफल गर्ने भन्दै ती दफाहरू छोडिएको छ। बढी विवादित तथा जटिल दफामा उपसमितिले अन्तिममा छलफल गर्ने र उच्च तहमा सहमति खोज्ने जनाएको छ।

शिक्षा समितिले दफामाथि छलफल गरेर सहमति जुटाउने प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । चैत ८ गते गठन गरिएको समितिले विधेयकमाथि दफावार छलफल गर्दै सहमति जुटाउँदै आएको हो ।

शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै सडक आन्दोलन गरिरहेकाले उपसमितिले द्रूत गतिमा दफावार छलफल गरिरहेको हो । सरकार र महासंघबीच सहमति भएपछि शिक्षकका विषयमा छलफल हुने बताइएको छ । विधेयकमा १७ सय ५८ वटा संशोधन परेको छ । यी संशोधनसँगै ७ वटा प्रदेशको प्रतिवेदन, विज्ञको सुझावसहित दफावार छलफल भइरहेको छ ।

उपसमितिले सहमति जुटाएका विषय भने सार्वजनिक गरिएको छैन । ३५ दिनको समय पाएको उपसमितिले प्रतिवेदन तयार पारेर समितिमा पेस गर्ने बताइएको छ । शिक्षा विधेयक २०८० भदौ २७ मा संसदमा दर्ता भएको थियो ।

प्रतिकृया दिनुहोस्