दलाल पूँजीवाद र शिक्षा

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२७ जेष्ठ २०७७, मंगलवार

अहिले नेपाली समाजको अर्थराजनीतिक चरित्र दलाल पूँजीवादी चरित्र छ । राष्ट्रिय पूँजी कमजोर छ । उत्पादनमूलक र रोजगारमूलक पूँजी नगन्य छ । लगानी नगरेरै बिचैमा पूँजीको दोहन गर्ने शक्ति हावी भएको छ । दलाल पूँजीवादीहरू सबै क्षेत्रमा मौलाएका छन्  । शिक्षा, स्वास्थ्य जस्ता सामाजिक सेवाभावले प्रेरित हुने संस्थामा समेत दलाल पूँजीवादीहरूको नियन्त्रण छ । जहाँ दलाल पूँजीवाद घुस्छ, त्यसले मानवीयता चुस्छ । शिक्षा मानवको प्राथमिक अधिकार हो । यो आवश्यकता पूरा गर्न मानिस जुनसुकै मूल्य चुकाउन तयार हुन्छन् । जहाँ राज्यले शिक्षालाई सम्पूर्ण रूपमा जिम्मा लिदैन त्यहाँ अभिभावकको लगानी अनिवार्य हुन्छ । राज्यले जिम्मा लिन नसकेको कारण आफ्नो छाक काटेर बालबच्चाको शिक्षामा लगानी गर्न विवश जनताको पसिनाको मूल्य अहिले दलाल पूँजीवादीहरूले चुसेका छन् ।

लगानीमा प्रभाव
हिजोका जग्गा दलालीहरू अहिले शिक्षातिर प्रवेश गरेका छन् । सम्पत्ति शुद्धीकरणको माध्यम शिक्षालाई बनाएका छन् । अहिले विद्यालय तहमा करिब १७ प्रतिशत विद्यार्थीहरू निजीले धानेको छ । उच्च शिक्षामा करिब ५७ प्रतिशत क्याम्पसहरू निजी स्तरबाट सञ्चालित छन् । यीमध्ये ८० प्रतिशत भन्दा बढी शहरमा केन्द्रित छन् । धनी वर्गका ६० प्रतिशतले निजीमा पढ्छन् । गरीब वर्गका जम्मा ६ प्रतिशत बाल बच्चा यी शिक्षालयमा जान्छन् । गरीबले शुल्क तिर्ने औकात नभएर बच्चा पढाउन पाउँदैनन् । गरीबका नामको छात्रवृत्ति त्यही दलालले टप्काउँछ । यी दलाली गाउँ जाँदैनन्, त्यहाँ विद्यालय खोल्दैनन् । किनकि त्यहाँ नाफा कम आउँछ । उच्च शिक्षामा दलालीको आँखा प्राविधिक धारको शिक्षामा छ । यहाँ नाफा बढी आउँदो रहेछ । प्राविधिक शिक्षा सर्वसुलभ हुनुपर्ने हो । छिटो सीप सिकेर व्यवसायमा जान खोज्ने वर्ग यहाँ आउँने हुन् । यिनीहरू खासमा ठूलो लगानी गर्न सक्ने वर्ग होइनन्, तर यिनीहरू नै महँगोमा शिक्षा किन्न बाध्य छन् । यहाँबाट उत्पादित जनशक्ति सस्तोमा खरिद गर्ने यही वर्ग हो । जागिर खोजिदिने नाममा फेरि कमिसन खाने यिनै हुन्  ।

दलाल पूँजीवादका एजेन्टहरूको राजनीतिक पार्टीसँग प्रत्यक्ष साइनो हुन्छ । यिनीहरू नै टिकट किन्न सक्छन् । खर्च गरेर चुनाब पनि जित्छन् । यसो हुँदा नीतिगत निर्णय प्रकृयामा यिनीहरूको हात माथि हुन्छ । त्यसैले निर्णय आफ्नो पक्षमा गराउँछन्  । जनताको नाम भजाउँछन् । सेवाको दाँत देखाउँछन् । शोषणको शुण घुसाउँछन् । शिक्षामा यस्तै भयो । सहकारिताले प्रवेश पाएन, नयाँ खुलेर प्रतिस्पर्धामा आउँन पनि पाएन । भएकाहरूको मनपरितन्त्र हुने भयो । यो नै शैक्षिक सिन्डीकेटको चरम नमूना हो ।

शोषणको पराकाष्ठा
बिचको बाटोबाट पैसा कुम्ल्याएकाहरूले शिक्षालय चलाएका छन् । हिजो खर्च गरेर पढेकाहरू ज्यालामा बौद्धिक श्रम गरिरहेका छन् । यहाँ एकातिर मुनाफा कम देखाएर राज्यको करमा छली भएको भेटिन्छ । अर्कातिर नाफा नभएको भन्दै बौद्धिक कामदारको श्रमको शोषण गरिन्छ । ज्याला कम दिइन्छ । तनाव बढी दिइन्छ । काममा लत्र्याइन्छ । सुविधामा छुट्याइन्छ । व्यक्ति पिच्छे ज्याला हुन्छ । खाममा राखेर गोप्य रूपमा ज्याला टक्र्याइन्छ । यहाँ श्रम गरेर आर्जन गरेको अतिरिक्त मूल्यबाट बौद्धिक कामदार अलग्गिन्छ । त्यो अतिरिक्त मूल्यको भागेदार त्यही लगानीकर्ता हुन्छ । एउटा अध्ययन अनुसार निजी शिक्षालयका ६५ प्रतिशत शिक्षकहरूमा चरम असन्तुष्टि छ । तर पाउलो फ्रेरेले भनेजस्तो चुपको संस्कृति छ । बाहिर बोल्न सक्दैनन् । बोले जागिर चट हुने डर छ । पिडा दबाएर बस्छन् । आफैंभित्र जल्छन् । न्यूनतम पारिश्रमिक भन्दा तल तलब पाए पनि चुपचाप घर फर्कन विवश छन् ।

यहाँ विद्यार्थीलाई मालको रूपमा लिइन्छ । अंगे्रजी कोचाएर गुणस्तरको आवरण देखाइन्छ । विद्यार्थीको बुद्धिलाई अङ्कमा नापेर सिकाइको स्तर यति उति भनेर भनिन्छ । सिकारुलाई यन्त्र जस्तै बनाइन्छ । किताबको भारि बोकाइन्छ । गृहकार्यले खेलकुद र मनोरञ्जनका बाटो बन्द गरिदिन्छ । बच्चालाई डाक्टर बनाउने बाबुआमाको महत्वाकाङ्क्षाले थिचोर्छ । विद्यार्थीको प्रतिभा, क्षमता र रुचिलाई निचोर्छ । मातृभाषा छोडेर कनिकुथी पराई भाषा बोल्न बाध्य बनाइन्छ । आफ्नो भन्दा अरूको रुचिमा पढिदिनु पर्ने दबाब छ ।

जन्मिएका प्रश्नहरू
के यही दलाल पूँजीवादी समाजले शैक्षिक न्याय गर्छ ? के संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख शिक्षा लागु हुन्छ ? माक्र्सले भनेजस्तो मानिस मानिस भएर बाँच्न पाउला ? गार्नरले भनेजस्तो सिकारुले आफ्नो विषेशता अनुसार सिक्न पाउलान् ? जोन डिवेले भनेजस्तो गरेर सिक्न पाउलान् ? भिगोत्स्कीले भनेजस्तो आपूmलाई चाहिने ज्ञान आपैmँ निर्माण गर्न सक्लान् ? शिक्षकहरूमा रहेको चुपको संस्कृतिमा विष्फोटन आउला ? दूरदराजमा रहेका गरीब र किसानका बालबच्चासम्म शिक्षा पुग्ला ? शिक्षा अधिकारको रूपमा स्थापित होला ? दालालहरूको जरा पार्टीभित्र रहेसम्म नीतिगत परिवर्तन सम्भव होला ? के यही बाटोबाट समाजवादमा पुग्न सकिएला ? के यस्तै बैँकिङ पद्धतिबाट विद्यार्थीमा समालोचनात्मक सोचाइको विकास होला ? के यस्तै शास्त्रीय शैलीले विद्यार्थीमा कुशल व्यवहार र सीपको विकास होला ?

अबको उपाय
अहिले नेपाली समाजको अर्थ राजनीतिक चरित्र दलाल पूँजीवादी चरित्र हो । यसले उत्पादनमूलक पूँजीलाई क्षीण बनाउँछ र श्रमबाट आर्जित स्रोतलाई बिचबाट शोषण गर्छ । शिक्षामा पनि यही चरित्र हावी भएकोले अबको शैक्षिक लडाइ पनि दलाल पूँजीवादी चरित्रका विरुद्धमा हुनुपर्छ । यसका लागि निम्न काम गर्न सकिन्छ ।

१) शिक्षा आधारभूत अधिकार हो र यो अधिकार सुनिश्चित गर्ने जिम्मा निजी क्षेत्रको पनि हो भनी समुदायलाई नै सशक्तीकरण गर्नुपर्छ । उनीहरूलाई नै प्रश्न उठाउने बनाउनुपर्छ ।
२) अब बन्ने कानूनमा सहकारितामा आधारित शिक्षण संस्था सञ्चालन गर्ने बाटो खोल्नुपर्छ ।
३) शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा लगानी गरेका व्यक्तिलाई जनप्रतिनिधि हुने बाटो बन्द हुनुपर्छ ।
४) प्राविधिक शिक्षालयहरू जहाँ अक्कर पारेर धेरै शुल्क लिन पाइन्छ त्यहाँ निजी शिक्षालयहरू खोल्ले परिपाटीलाई अन्त्य गर्न यस्ता शिक्षालयहरू सरकारले नै चलाउँनुपर्छ ।
५) सरकारी शिक्षण संस्थाको नाम निजीमा काम गर्ने परिपाटीलाई निमिट्यान्न पार्नुपर्छ ।
६) समाजको चरित्र र यसमा जनताको भूमिका जस्ता विषयहरूलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ ।
७) सार्वजनिक शिक्षाको गुणस्तर बढाउन शिक्षकलाई जिम्मेवार बनाउँनुपर्छ । सार्वजनिकमा गुणस्तरीय शिक्षा पाए, नाफाखोरीहरू आफैंमा खुम्चन्छन् ।

राष्ट्रको अर्थराजनीतिक चरित्र शिक्षामा झल्कनु स्वाभाविक हो । तर दलाल पूँजीवाद शिक्षाका लागि घातक छ । यसमा बिचौलिया मोटाउँदै जान्छ । श्रमिक वर्ग सुक्दै जान्छ । राष्ट्रिय पूँजी साँगुरिदै जान्छ । रोजगारीका अवसरहरू खुम्चदै जान्छन् । राजनीतिमा पकड जमाइसकेको दलाल पूँजीवादले शिक्षालाई पनि अझ धमिल्याउने खतरा छ । सबै निजी शिक्षालयहरू दलाल पूँजीवादका प्रतिरूप होइनन् तर यो हावी भएको छ । बामपन्थीहरूको दुई तिहाई बहुमत सहितको सरकार भएको यो अवस्थामा शिक्षालाई दलाल पूँजीवादबाट मुक्त गरी राष्ट्रिय मूलधारमा लैजान ढिला गरे इतिहासले क्षमा दिने छैन ।

प्रतिकृया दिनुहोस्