काठमाडौँ । नयाँ पुस्तालाई काठमाडौंको मौलिक सभ्यता र संस्कृति चिनाउने उद्देश्यले महानगरपालिकाले स्थानीय भाषाको पाठ्यपुस्तक तयार गरेको छ। नेपाल भाषामा तयार पारिएको ‘यें देय् म्हसीके’ नामाकरण गरिएको पाठ्यपुस्तक तयार भएर छपाईको लागि प्रेसमा पठाइ सकेको काठमाडौं महानगरपालिका शिक्षा विभागका अधिकृत मोती खनालले बताए। अर्थात् यें भनेको काठमाडौं, देय् भनेको राज्य र म्हसीके भनेको परिचय हो। अर्थात् यो पाठ्यपुस्तकमा समग्र काठमाडौं महानगरको मौलिक सभ्यता र संस्कृति समेटिएको छ।

‘महानगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘यें देय् म्हसीके’ नामक उक्त पाठ्यपुस्तको तयार भएको पाठ्यक्रम महानगरका सबै स्कुलहरुमा पठाइसकिएको छ,’अधिकृत खनालले भने ‘शिक्षकहरुलाई तालिम दिने तयारीको काम अघि बढेको छ।’ उनले थपे ‘चालु शैक्षिक सत्रदेखिनै लागू हुने गरी महानगरको तयारी भनिएपनि कोभिडका कारण सकिएन। अब आगमी शैक्षिक सत्रदेखि पुर्ण रुपमा विद्यालयहरुले पठनपानठ गराउने छन्।’

महानगर शिक्षा विभागका प्रमुख नमराज ढकालले महानगरको कक्षा १ देखि ८ सम्म एक सय पूर्णाङकको अनिवार्य विषयको रुपमा पठनपाठन गराइने नेपाल भाषाको स्थानीय विषयमा बालबालिकाले काठमाडौं परिचय ब्यवहारिक रुपमै हासिल गर्ने गरि पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारेको बताए। उनले महानगरले स्थानीय विषय पठनपाठनको लागि चार करेडा ५३ लाख रकम खर्च गरेको समेत बताए। ‘एक सय ३५ प्रशिक्षक नियुक्तिको लागि महानगरले ३ करोड २३ लाख रकम छुट्टाएर नियुक्ति गर्न कार्यविधि अघि बढाएको छ,’ शिक्षा विभाग प्रमुख ढकालले भने‘तालिमको लागि ७० लाख र पाठ्यपुस्तक छपाइको लागि ६० लाख रकम निकासा भएको छ।’

उनले थपे‘सामुदायिक विद्यालयहरुमा महानगरले प्रशिक्षक ब्यवस्था गर्छ। तर संस्थागतको सवालमा तालिमको मात्र ब्यवस्था गर्ने हो। प्रशिक्षक निजीले आफ्नै खर्चमा ब्यवस्था गर्नु पर्छ।’ उनले महानगरभित्र ९२ सामुदायिक विद्यालय रहेकोमध्ये ८६ वटा साधारण, ३ वटा विशेष र ३ वटा कैदीबन्दीको लागि विद्यालय संचालन रहेको बताए। यसैगरी करिब ६ सय ४० संस्थागत विद्यालय संचालनमा रहेका छन्। महानगरभित्रका सबै विद्यालयहरुले सय पूर्णाङकको स्थानीय विषय अनिवार्य विषयको रुपमा पठनपाठन गराउनु पर्ने उनले जनाए।

पुस्तकले काठमाडौं महानगरपालिकाको क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राकृतिक स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय बारे परिचित गराउने विषयबस्तुहरु सरल र सहज रुपमा बालबालिकाले बुझ्न सक्ने गरि समेटेको ढकालले बताए।

काठमाडौं महानगर ऐतिहासिककालदेखि नेपाल भाषाभाषीहरूको बसोवास रहँदै आएको स्थान भएका कारणले महानगरपालिकाले यो पाठ्यपुस्तक नेपाल भाषामै तयार गरेको संस्कृतिविद् प्राडा. चुन्दा बज्रचार्यले बताइन्। बज्रचार्य पाठ्यक्रम तयारदेखि पाठ्यपुस्तक लेखन कार्यमा सुरुदेखिनै सहभागिता जनाउदै आएकी छिन्।

‘पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदि सम्बन्धी पाठहरू समावेस छन्,’ बज्रचार्यले  भनिन् ‘काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन्।’ उनी थप्छिन्, ‘यो पुस्तकको अध्ययनले नयाँ पुस्ताले काठमाडौं महानगरलाई नजिकैबाट चिन्ने छन्।’ बज्राचार्यका अनुसार बालबालिकालाई सिक्न सहज हुने गरी कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन हुन्छ भने कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुन्छ। यसैगरी कक्षा ६,७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुन्छ।

काठमाडौं महानगरपालिकाको सातौं नगरसभाले स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय महत्वका विषयहरू बारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरिसकेको छ। ‘यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्दहरू अरु भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन विद्यार्थीहरूले त्यसलाई आत्मसात समेत गर्न सकुन भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमणसहित स्थानीय भाषामै पढाउने तयारी भएको बज्राचार्यको ठहर छ।

काठमाडौं महानगरपालिकाले हाल कक्षा १ को लागि पाठ्यपुस्तक तयार गरिसकेको छ भने कक्षा २ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तकहरू डिजायनमा गइसकेको छ। पूर्ण रूपमा रंगीन ८० पृष्ठ रहेको यो पुस्तक नेपालभाषा नजान्नेहरूले पुस्तकमा राखिएको चित्रहरुबाट सहजै बुझ्न सक्ने उनको भनाइ छ।

नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ। काठमाडौं महानगरपालिकाले सोही व्यवस्था अन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको जनाएको छ।

रूबी रौनियारले नागरिकमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्