मैले के सोचे….

एजुकेशन पाटी

Byएजुकेशन पाटी

१५ भाद्र २०७७, सोमबार
चन्द्रकान्त पण्डित

जब बुझ्ने भए संसारको सवैभन्दा चलाख म आफैलाई सोच्न थाले । समाज परिवर्तनको बाटो रोजे । मैले रोजेको बाटो सहज थिएन । तापनि मैले मेरो समाजमा असमानता देखेको थिए, गरिबी देखेको थिए, अशिक्षा देखेको थिए, विभेद देखेको थिए, दुराचार देखेको थिए, तर पनि म पनि निसहाय नै थिए । केही विदेशी विचार पढेको थिए । माओलाई पढेको थिए । माक्र्सवादको बारेमा पनि जानकारी लिएको थिए, चाणक्य पनि पढेको थिए । हिटलर, मुसोसलिनी, स्टालिन, अब्राहम लिङ्कन, अलेक्जेण्डर ग्रेट, सुकरात,प्लेटो, पर्शुराम आदिको वारेमा सामान्य जानकारी लिएको थिए । वि.पी कोइराला, पुष्पलाल र मदनभण्डारीको वारेमा पनि केही बुझेकै थिए ।

राणा जङ्गबहादुर उनका भाइभारद्वारहरुको बारेमा पनि पढेकै थिए । डा.के. आइ सिंहको बारेमा पनि थोरै जानकारी पाएको थिए । राजा पृथ्वी नारायण नारायण शाह देखि ज्ञानेन्द विरविक्रम शाहलगायत दिपेन्द्र वीर विक्रमको बारेमा पनि केही न केही जानकारी लिएकै थिए । कहिले किसान भए त कहिले शिक्षक कहिले केही तर पनि नेतृत्वमा रहिरहे ।

शोषण देखेँ, अपहेलना देखेँ, एक छाक परिवारलाई खुवाउनको लागि पुरै बेचिनै पर्ने अवस्था देखे । सोचे केही गर्नुपर्छ भनेर । त्यही असमानतालाई हतियार बनाउने निधो गरे । निकै अध्ययन गरे । सोचे हतियार बोकाउन पर्छ, बिरोध गर्नेलाई, फकाएर होस् कि प्रलोभन देखाएर होस, सिध्याउन पर्छ : झुण्डाएर होस कि, रेटेर होस, गाडेर होस कि, विष्फोट गराएर होस् जसरी भए पनि विरोध गर्नेलाई राख्नै हुँदैन । सामन्ती र शोषकलाई जीउन दिनै हुँदैन । सामन्ती र शोषक शव्दहरु कति सामान्य बनेका थिए मेरो मानसपटलमा ।

कस्तो म रामलाई देख्दै देखिन, रावणलाई मात्र देखे । भरतलाई देखिन, गौतम बुद्धलाई पनि देखिन । निलो आकाशलाई देखिन तर यत्रतत्र गर्जन सुने, चट्याङ सुने, चित्कार सुने, रोदन सुने । अनि देखे अभावै अभाव । सीतालाई पनि पढे, द्रौपदी, कुन्ति, अहिल्या, मन्दोधरी, रेनुका पनि पढे, सुदामा र कृष्णलाई पनि पढे, कंशलाई पनि पढे । अनुराधा, नाइटिङगल फलोरेन्सलाई पनि पढेको थिए ।

कृष्ण र कंसलाई पनि सँगै पढेको थिए । स्वर्गका राजा इन्द्रलाई पनि पढे । गुरु द्रोणाचार्य, कृपाचार्य, शुक्रचार्यलाई पनि पढे । प्रह्लाद, ध्रुवलाई पनि पढे । पढेर केही पाइन । गास टार्नै गारो भयो । बच्चालाई टालो फेरिदिन सकिन । आफुले चप्पल फेर्न पनि सकिन, बुढीको फरिया फेर्न सकिन । तर चिला गाडीमा कुद्नेलाई देख्न थाले । भित्र भित्र ज्वलन हुन थाले । अनि सोच्न थाले । त्यो पल्लो घरको हर्के मन्त्रालयको सचिव छ, उसको सानै अर्को, सेतो प्लेटको गाडीमा हुइकिन्छ तर उसैको मन्त्रालयमा काम गर्ने विनोद लखर लखर हिडेर अफिस पुगेको पनि देखे । अर्को गाउँको प्रसन्नलाई देखे उ झण्डावाल गाडीमा हुइकिएको । अघि र पछि सेना छन । गाडीबाट झर्ने समयमा पनि सुरक्षा निकायले गाडीको ढोका खोलिदिने । ठीक त्यही समयमा अर्को प्रसिद्दलाई देखे उसको पनि सानै थियो किनकि उ पनि उच्चपदस्थ प्रहरी अधिकृत थियो । पल्लो गा“उको नरे त प्रधानसेनापति थियो । उसको पनि वेग्लै थियो प्रभाव म जिएको समाजमा । अनि त्यो विनोद भन्सारमा खरिदार थियो उसका प्रत्यक शहरमा घडेरी र राजधानीमा आसिन महल पनि बनाएको थियो ।

हरिमायालाई पनि देखेको थिए किनकि उनी पनि अदालतमा न्यायधिश थिइन । जसलाई हेर्यो उसको वेग्लै प्रकारको रवाफ छ तर उनीहरु वाहेक अधिकांशको अवस्था दयनीय नै थियो । फेरी शहर र गाउँका गरिब मानिसलाई देख्न थाले । बिहान खाएपछि बेलुका के खाने भन्ने परिवारको संख्या बढी थियो । यीनै समृद्द र आर्थिक रुपमा कमजोर तर मनका धनि मानिसको बीचमा हुर्किएको म कता लाग्ने के गर्ने । निकै छटपट हुनथाल्यो । म न माथि न तलको थिए । ठीक बीचमा । समाजका मानिसलाई हेर्दै गर्दा लाग्यो म पनि पढेकै छु, जागिर त महिले पनि खाएको छु । माध्यमिक तहको शिक्षक अनि प्रधानाध्यापक पनि भएकै हो ।

ट्यूशन पढ्नेको पनि धुुइरो लाग्ने नै गथ्र्यो तापनि एकसरो कपडा फेर्न दशैको खर्च नै कुर्नुपथ्यो । भण्डावाल गाडीमा कुद्नेलाई देख्न थाले । जीवन त यही नै ठीक हो भनेर । सोच्न थाले फेरी, कसरी प्राप्ती होला त यी सव कुराहरु ? सोच्ने गर्थे उनीहरुले चढेको गाडी र म चढ्ने गाडीमा फरक हुनुपर्छ । सवैलाई अधिकार सम्पन्न वनाउन पर्छ । मेरो छिमेकी घरमा विहान वेलुका नै धुवाउने समस्याबाट कसरी उन्मुक्त पार्न सकिएला भन्ने लाग्यो । अनि लाग्यो गरिब र धनी बीचको सिमालाई सङ्ग्रयाउन पर्छ । के यो सम्भव छ त ? लाग्यो यो कुनै असम्भव कार्य होइन । तर सजिलो चा“हि छैन ।

जुक्ति फुर्यो । युवालाई लट्ठ्याउन पर्छ गाँजाको नशामा झै गरी । गाँजाको लतमा परेको मानिस गाँजाको खोजीमा भौतारिन्छ । त्यसैले बेरोजगार युवामा रोजगार र मीठो सपना भरिदिन सकेमा मर्न र मार्नको लागि पनि तयार हुनेछ । ठीक त्यसरी नै पिडितको आवाज बनिदिनुपर्छ । पत्राचारको लागि कलम समाति विदेशियको सन्तानलाई पत्र लेखिदिने सहयोगी बन्न पर्छ । केही समय यसैको खोजिमा लागे । खोजे कसरी धेरैभन्दा धेरै युवाहरु आफ्नो विचारमा सहमत हुन्छन त भनेर । खुव लागे ।

अन्त्यमा, मलाई लाग्यो देशमा क्रान्तिको आवश्यक छ । क्रान्ति कसरी सम्भव छ त ? केही पढे लेखेका शिक्षक तथा अन्य व्यक्तिहरुसँग बसेर योजना बनाउन थाले । आफ्नो विचार पोख्न थाले । सयौंको संख्यामा छोटो समयमा नै एकै स्वरमा आवाज निकाल्न थाल्यौ । हाम्रो क्रियाकलाप तत्कालिन समयको संविधानको बिरुद्धमा थियो । हामी सतर्क बन्नुपथ्र्यो । हामी रातको समयमा सक्रिय हुनथाल्यौं । फेरी लाग्यो सरकारसँग सेना र प्रहरी छ । उनीहरुसँग हतियार छ भेटेमा जे पनि गर्न सक्छन् । त्यसैले लाग्यो हतियार बीना केही गर्न सकिदैन ।

हतियार सम्वन्धि ज्ञान भएका व्यक्तिहरु चाहिन्छ । यसको लागि पनि सेना र प्रहरी नै उपयुक्त पात्र हुन् । त्यसैले निवृत्तिभरणमा रहेका सेना र प्रहरी, भारतिय सेनामा आवद्ध तथा ब्रिटिस सेना वा अन्य कही हतियार चलाउन जान्ने मानिसहरुसँग सम्वन्ध बढाउन थियो । ती सवै विस्तारै पूरा हुन थाल्यो । छोटो समयमा नै हामीले हाम्रो रवाफ देखाउन सफल पनि भयौं । कसैलाई सम्झाएर, कसैलाई धम्काएर, कसैलाई फकाएर आफ्नो पक्षमा तान्न सफल पनि भयौं ।

समाजमा अलिकति प्रतिष्ठा कमाएका व्यकितहरु प्राय शिक्षकहरु नै थिए । उनीहरुलाई हाम्रो पक्षमा लिनको लागि सुरुमा सम्वाद गर्यौ आउने आए तर नआउनलाई भौतिक कारबाही पनि गरियो । कतिलाई रुखमा झुण्डाइयो, गोली ठोकियो, कतिलाई खाल्डो खनेर पुर्न लगाइयो, चलिरहेको बसमा बम पड्काइयो, हातखुट्टा भाचिदिनु त सामान्य नै थियो, प्रहरी र सेनामा काम गर्नेका घरमा पुगेर जागिरै छोड्न लगाइयो, मान्नेलाई सँगै लिएर हिडियो, नमान्नेको घरमा भएका अन्नपात, लुटियो, प्रहरी र सेनाका व्यारेकामा पनि आक्रमण गरियो, कहीँ सफल कहीँ ठूलो क्षती व्यहोर्न पर्यो । जेहोस प्रायः सवैलाई हाम्रो विरोधमा बोल्न नसक्ने बनायौ । नेपाली जनतालै सास्ती पाए । जताततै हाम्रै मात्र कुरा हुन थाल्यो तर पनि वचेर हिड्नलाई सहज थिएन ।

हामीलाई ज्यान जोगाउनको लागि भारतमा पुग्नुपथ्र्यो । जेहोस हामीले सोचे भन्दा छिटो चाहेर होस् वा बाध्यताले होस हामीले साथ पायौं । यसै विचमा दरवार हत्याकाण्ड पनि भयो । दीपेन्द्रलाई हत्याको दोषी ठहर्याए पनि नेपाली जनता यसलाई विश्वास गर्न सक्दैनन् । मदन भण्डारीको लासमा राजनीति भयो । एमालेले मदन भण्डारीको हत्यारा चिनेका छौ भन्ने गथ्र्ये तर वारम्वार सरकारको नेतृत्व गरेको दलले खासै चासो देखाएको छैन । हुन त अव चासो देखाएर पनि राजनीतिमा कुनै अर्थ नराख्ने भएर होकि व्यक्तिगत रुचीको कारणले हो । मदन भण्डारीको वारेमा आवाज उठ्दैनन ठीक त्यसरी न पूर्व राजा वीरेन्द्रको वारेमा पनि ।

मानिस सोच्ने गर्छ उ विना केही हुन सक्दैन । आफ्नो मृत्यु पछि कसरी उसका सन्तानले खान्छन होला भनेर चिन्तित हुन्छ । उसलाई थाह छैन कि उसले आफ्ना परिवारका सदस्यका आवश्यकता पूरा गर्न सकेको हुँदैन तापनि आफुलाई सर्वगुणी मानिराखेको हुन्छ । किन मानिस अहंकारी छ । उ आफैलाई मात्र राम्रो र अरुलाई दोषी र कमजोर देख्ने गर्छ । आफुनभए त केही पनि हुदैन भनेर । म पनि तिनै मान्छको भिडभित्रको मान्छे त होनि । मैले थालेको आन्दोलनले नेपाल त्राही त्राही भएको थियो । हामीले भन्ने गथ्र्यौ भारतीय विस्तारवाद मूर्दावाद, सुगौली सन्धी जस्ता असमान सन्धि खारेज गर, अमेरिकी सामराज्यवाद मूर्दावाद जस्ता नाराले नेपालीहरुलाई भुलाउन सकेको थियो ।

दरवार हत्याकाण्ड पछि तत्कालीन राजाले ज्ञानेन्द्रले शक्ति हातमा लिएपछि हामीलाई झन सहज भयो । भारतमा गएर जीवन वचाउन परेको थियो । अन्तमा सवै राजनैतिक दलहरु राजा विरोधी खेमामा उभिए । नेपाली जनता बाठा कि लाटा छुट्टयाउनै अप्ठ्यारो । सेनाको व्यारेक आक्रमण होस कि प्रहरी कार्यलय ध्वस्त पार्न, तालिम प्राप्त युवाहरुले धेरै ठाउँमा सफल पारे तर हजारौ हजारले जीवन लिला अन्त्य गरे । उनीहरुमा हामीले भरिदिएको राष्टियताले काम गरेको थियो, रोजगारीले पनि, अनि समानता र स्वतन्त्रताले पनि । जातीय भेदभावको अन्त्यको बिउ बिजोड थियो ।

हामी राजनैतिक दलका नेताहरु प्नि स्वार्थी नै हौ । हाम्रा लडाकुलाई देशको लागि मर्नु र मार्न डराउन हुदैन भन्दै देशको लागि लड्नको लागि इच्छा शक्ति भर्न सफल भएका थियौं । कति विश्वास गरे उनीहरुले । तर आज म आफैलाई बवुरो लागेको छ किनकि दिल्लीमा गएर भारतिय निश्चित व्यक्तिलाई साक्षी राखेर राजा फाल्ने निर्णय गरियो । त्यसको अर्थ अरुलाई मर्न र मार्नको लागि उत्प्रेरक बन्ने हामी तर हामी चुक्यौ किनकि आफु वच्नुपर्छ भन्ने तर अरु मरे पनि हुन्छ भन्ने भावना हामीमा सृजित हुनु गलत थियो । सात दल मिलेर दिल्लीको मध्यस्तमा १२ बुदे सम्झौता गर्दै २०६२।६३ को जन आन्दोलन गर्ने निर्णयमा पुग्यो । त्यो राष्ट्रघात नै थियो । यद्यपी यसैको आधारमा नेपालको २०६२।६३ को आन्दोलनले संसद पुनरवहाली भयो, संविधानसभाको चुनाव भयो, एक संविधानसभाले संविधान दिन सकेन तर पनि दोस्रो संविधान सभाले संविधान दियो तर पनि यो सवैको लागि मान्य हुन सकेन । आज हिजो जे सोच्यो त्यो गलत रहेछ ।

मानिसलाई दोस्रो दर्जाको नागरिक वनाएका छौ किनकि त्यहाँ जातीय आरक्षण छ । मानिसलाई सफल वनाइ स्वतन्त्र नागरिक वनाउन तर्फ लाग्नु पर्ने हो तर त्यसो भएन । समानतलाई मौलिक हकभित्र राखेका छौ तर के गर्ने म विरामी हुन्छु तुरुन्त उपचार हुन्छ तर के गर्ने म सँगै जनआन्दोलनमा हिडेको साथी जसको शरीरमा अझै पनि छर्रा छ उसले केही पाउदैन । कहाँ रहेछत समानता ?

हिजोका दिनमा सरकार सवै सामान्ती भए, व्यक्तिवादी भए, पारिवारीक भए भनियो तर हिजोका राणा, राजा, प्रजातन्त्रवादी, गणतन्त्रवादी जे भनेतापनि सवै गलत नै देखिन्थे । उनीहरुले चढेका गाडीमा सवैका आँखा जाने गर्थे । भन्ने गरिन्थ्यो विदेशी वैंकमा लगेर स्वदेशी पैसा राखिएको छ जसको अभावले देशको विकास रोकिएको छ । लाग्ने गथ्र्यो राणाको कारणले देश बनेन । राजाको कारणले देश बनेन । प्रजातन्त्रवादीको कारणले नेपालले काँचुली फेरेन । अहिले लाग्न थालेको छ हिजो जे सोच्ने गरेको थिए त्यो गलत पो रहेछ । किनकि कुनै पनि वादले आफै काम गर्दैन । काम गर्ने व्यक्तिले हो । हिजोको दिनमा जे आरोप लगाइन्थ्यो आज त्यही आरोप छ गणतन्त्रको सरकारमा पनि । जताततै घुसखोरी बढेको छ । भ्रष्टाचार सर्वव्यापी छ । कमिशन मौलाएको छ ।

अरुका सन्तानलाई मारी दिँदा केही लागेन तर आफ्नो सन्तान कालगतिले मर्दा पनि आ“खा रसाउन छोडेनन् । बल्ल थाह भयो सन्तान वा घरको कुनै सदस्य गुमाउनको पिडा । सत्ताभन्दा वाहिर रहदा धर्मलाई अफिमकै रुपमा लिइयो तर त्यो पनि रहेनछ । धर्म केही हैन भनिहिडेपनि अहिले आएर कुनै मठ मन्दिर छुटेर पो हो कि सन्तानको मृत्यु, परिवार विरामी, आफन्तजनस“गको सम्वन्ध, हिजो र आजको बीचमा मलाई हेर्ने दृष्टीकाण । आदि घटनाक्रमले सोचमा परिवर्तज ल्याएको छ ।

हिजो म स“ग केही थिएन न शरिर ढाक्ने कपडा नै थियो, न परिवारवारलाई खुवाउने खाना नै थियो । अरुलाई देख्दा भित्र भित्र डाह हुने गथ्र्यो । तर आज सवै छ । स्वदेशी तथा विदेशी वैंकमा अथाह ब्यालेन्स पनि छ तर के गर्नु न मेरो छोरा बाँकी रह्यो दाहसंस्कारको लागि न छोरी नै न सर्वसाधरणको माया, परिवार पनि त्यस्तै नै । एक मिनेट स्वतन्त्र छैन । वरिपरी सुरक्षाले घेरेका हुन्छन । चाहिदैन पनि भन्न सकिन । समयले सवै कुरा दिलायो । मेरो सपना त पूरा भयो ।

म के भैन र ? साधारण सदस्य देखि दलको अध्यक्षसम्म, सभासद देखि मन्त्री, सभामुख, प्रधानमन्त्री र राष्ट्रपति सवै बन्ने सौभाग्य प्राप्त गरे तर मैले गरेका वचन विर्सिएको रहेछु जव संयोगले म सँगै सशस्त्र आन्दोलनको नेतृत्व गरेका मेरा मित्र गंगाराम चौधरीलाई बाढी पिढितको नाममा उनलाई देखे । मेरा सवै सन्तानहरु कही न कही आवद्द छन कमाउछन, स्वदेश र विदेश पानी पधेरो भएको छ । अभाव केही छैन ।

तर गंगारामको एक छोरा त हाम्रै आन्दोलनममा साहदत प्राप्त गरेका थिए र उनको श्रीमती पनि पहिल्यै देखि विरामी नै हुनुहुन्थ्यो । अर्को एक भाई छोरालाई पनि पढाई छुटाएर आन्दोलनमा नै लगेका थियौ । उ अयोग्य लडाकुको नाममा निकालिएको थियो । उ अयोग्य भनेर निकालिएको भएर होला गाउँमा नै हलो जोतेर जीविका चलाइरहेको थियो तापनि उसले मसँग कुनै गुनासो गरेन किनकि कमसेकम एक संविधानसभाले लेखेको संविधान छ र आसा पनि गर्दै छ भाग्य भएमा उसको नाति, नातिना पनि प्रधानमन्त्री वा राष्ट्रपति पनि वन्न सक्छन नि भनेर । कसरी सलुट गरौ म त्यो महान त्यागी तपस्वीलाई । उस“ग अभाव छ तर हिजो वैंक लुट्न पठायौं, लुटेकै हो तर उसलाई लाग्छ लुटेर र मागेर खान हुदैन , पसिना चुहाउनै पर्छ जिउनको लागि ।

अहिले आएर होस खुलेको छ । मैले जे जहाँ समस्था देखेको थिए त्यो त्यहा“ रहेनछ । समस्या न राणामा थियो, न राजतन्त्रमा, न वहुदलमा, न गणतन्त्रमा, किनकि प्रजातन्त्र भएका मुलुकले पनि फड्को मारेका छन, कम्युनिष्ट शासन भएका मुलुक पनि विकासको अग्रपंक्तिममा नै छन, राजतन्त्र भएका मुलुकको कुरौ नै नगरौ, अनि गणतन्त्र वा अन्य कुनै तन्त्र । यी वाद वा तन्त्रले केही गर्दैनन् । गर्ने मानिसले हो । समस्या रहेछ व्यक्तिको चेतनामा, आचरणमा । आज आएर वोद भएको कृष्णको साथी सुदामा र उसको श्रीमती वसुन्धरालाई राम्रोस“ग बुझेको भए आज जताततै आलोच्य रहनु पर्दैनथ्यो ।

ठीक यसै समयमा कोरानाले २१ औं शताव्दीका मानिसको अहंकारलाई टुक्राएको छ । पैसा भए सवै थोक प्राप्ती हुन्छ भन्ने भ्रमलाई तोडिदिएको छ । आजको विज्ञानले सवै गरेको छ, विकास छ, समस्याको समाधान छ भन्ने भ्रमलाई छ, र मानिसले भ्रममा नै सिमित पारेको छ । अहिले बल्ल बुझको होला मानिसको आविष्कार यो केवल प्रकृति शान्त रहिञ्जेल वा उसले सहेर वसिदिदाको समयसम्मको लागि हो भनेर । मानिसले क्षेप्रास्थ वनाउन सक्यो, तर प्रकृतिलाई रोक्न सक्दैन ।

सामान्य कोरोना भाइरसको उपचार दिन सकेको छैन । मान्छे मार्न सकेको छ तर मारेको मान्छेलाई व्युताउन सकेको छैन । केवल प्रकृति शान्त रहिञ्जेलसम्म काम गर्ला अन्यथा यो सकेको छन् यद्यपि जगदम्नी ऋषिले आफ्नै श्रीमतीको काटिएको शिरलाई जोडी व्युताएका थिए । खोइ के गरेको छ त अहिलेको विज्ञानले । बुझ्नुपर्ने वेला यही नै हैन र ? आजको मानिसले त अव प्रकृतिसँग तरङ्गित हुनुपर्ने छ ।

म के भैन र ? शिक्षक, प्रधानाध्यापक, कर्मचारी, सभासद, मन्त्री, सभामुख, प्रधानमन्त्री, राष्ट्रपति तर पनि मेरो समाज परिवर्तको सपना अधुरो रह्यो । मेरो नाम सुन्दा मात्र पवित्र भएको ठान्दथे त कति डरले काप्न थाल्थे तर अहिले तीनै मानिसहरु मलाई जिस्काउन थालेका छन । पत्र पत्रिकादेखि टेलिभिजनसम्म, सामान्य लोक गित देखि कवितासम्म मै माथि परार हुन थालेको छ जसरी हिजोका दिनमा मैले राजा, दल, राणा, संविधानमा समस्या देख्थे तर त्यो समस्या गलत रहेछ । पहिचान हुन सकेनछ । देशको समस्या वादमा रहेनछ ।

देशको वादक त व्यक्ति र उसँगै गासिएको सोच र व्यक्तिसँग उम्रिएको लोभ । लोभ, भोग र विलासले आज मानव समाज मानव समाजको रुपमा देखिएको छैन । नेपालमा सधैं जनतालाई सडकमा उतारियो उत्पिडनको विरुद्दमा भनेर, समानताको लागि पनि भनियो, स्वतन्त्राको लागि पनि भनियो, प्रजातन्त्रको लागि पनि भनियो । तर हिजो जयजयकार गर्ने समाज आज किन मेरो विरुद्धमा छ ?

जताततै, यत्रतत्र मेरो कार्टनु वनाइएका हुन्छन । म विरुद्दमा लेख लेखिएका हुन्छन । हुभउ मैले हिजोको दिनमा लेखिएको शैलिमा । मैले कति विचार पोखे राजाको विरुद्धमा, जातियताको वारेमा, धर्मको वारेमा आदि । जे मलाई लागेको थियो त्यो भ्रम मात्र रहेछ । व्यक्तिले समाज परिवर्तन गर्न सक्दोरहेनछ । सक्ने कार्य भनेको केवल उ आफु परिवर्तन हुन सक्छ । जव उ परिवर्तन हुन सक्छ, उसको पिछा गर्ने मानिसहरुको धुइरो हुन्छ र समाज आफै परिवर्तन हुने छ ।

मैले कहा विराए त बाटो ? समाजको परिवर्तनको यकिन मार्ग नपहिल्याइ मानिसहरुलाई आन्दोलनमा हुम्नु सवैभन्दा ठूलो भुल रह्यो । विद्यालयको कक्षा कोठामा पढ्दै गरेको बच्चालाई पढ्न दिएको भए अहिले उसले स्वतन्त्र रुपमा केही गर्न सक्ने थियो । प्रत्येक व्यक्तिले आ–आफ्नो परिवारलाई सम्पन्न पार्न सकेको अवस्थामा गरिबी आफै हटेर जाने थियो । आज मैले देखेको छु हिजोको दिनमा दैनिक ज्यालादारीमा काम गर्ने टुल्केको छोरा सेनामा जर्नेल भएको छ, प्रेमको छोरी अदालतमा न्यायधिश भएकिा छन, विनोदको छोरा प्रहरी अधिकृत भएको छ, त्यो सोमबहादुर विश्वकर्माको छोरा त विद्यालयको प्र.अ भएका छन्, सुनिताको छोरी विश्वविद्यालयमा प्राध्यापक पो भएकी छन् ।

काजीको छोरा त कृषि विशेषज्ञ भएका छन । अनि त्यो टुहुरो विप्लव त पशु डा. पो छन् त । त्यो कैले साउको छोरा पनि निकै चर्चित डा. भएका छन । कतिपटका त मेरो उपचार तिनैले पो गरेका थिए । रमेशलेत गाउमा कृषि क्रान्ति नै गरेका छन । तीनिहरुका परिवारलाई हेर्दा आनन्द आउछ तर पछुतो छ मैले आह्वान गरेको आन्दोलनमा हुमिएकाहरु पढेलेखेका वाहेक अरुले केही पाउन सकेका छैनन । सिमित व्यक्तिहरु विभिन्न राजनैतिक ओहोदामा पुगे, कमाएका पनि छन रमाएका पनि छन तर जसको लागि भनिएको हो उनको लागि केही भएको छैन ।

संविधानसभाद्वारा लेखिएको संविधानले त उत्पिडनमा परेकालाई त झन बढी अन्याय भएको छ । उनीहरुलाई जातीय आरक्षणमा राखियो । आरक्षणले त उनीहरुको समाज अगाडि बढ्ने छ भन्ने सोचियो तर त्यसो भएन । व्यक्तिको क्षमता बीना कुनै स्थानमा राखिदिदा झन अन्योल पर्दोरहेछ । योग्य वाहिरिनु पर्ने, अयोग्यले स्थान पाउने । यो त पुरै अन्याय भयो । अनि जसले स्थान पायो उसलाई मान्छेको हैसियतमा पनि रहन गाहे भयो ।

यतै आरक्षणमा रहेको उतै आरक्षणमा रहेको भन्ने गर्छन । अनि जटिलतामा रहेको अवस्था छ त । त्यसैले प्रत्येक कार्यको थालनी गर्नुभन्दा पहिले गन्तव्यको पहिचान हुनुपर्ने हो । सत्ता प्राप्ती पछि के गर्न सकिन्छ भन्ने वारेमा सोच्नुपर्ने थियो । त्यह िअनुसारको योजना बनाउन पर्ने थियो । समस्याको पहिचान भैसकेपछि समस्या समाधानको बाटो खोज्नु पर्ने थियो । त्यो पनि गरिएन । केवल सत्ता प्राप्तीको उपाय रोजियो । प्राप्ति पनि भयो तर यसलाई व्यवस्थापन गर्न सकिएन ।

जसले गर्दा हिजोका सत्ताधारी भन्दा आजका सत्ताधारीहरु बढी दुर्गन्धित भएको अवस्था छ । जताततै भ्रष्टाचार व्याप्त छ भन्छन सर्वसाधरण तर सत्ताशिन भैसकेका मानिसलाई थाह हुदोरहेनछ किनकि उ पृथ्वीमा वसेको मानिस जस्तै जसरी मानिसलाई पृथ्वी घुमेको याद हुदैन त्यसरी नै भ्रष्टाचारले व्याप्त भएको स्थानमा कसरी भ्रष्टाचार देख्नु त ? उ देख्नै सक्दैन । भ्रष्टाचारको जड भनेको त कमिशन पो रहेछ । विकासका योजनाहरु पनि कमिशनको कारणले प्रभावित हुदारहेछन । कमिशनतन्त्रलाई जरैदेखि फाल्नु पर्ने हो । तर यसैलाई गोडमेल गरियो । फष्टाउन दिइयो । दुर्भाग्य यही रह्यो ।

आज पश्चतापमा परिरहेको छु । अलेक्जेण्डर ग्रेटले भनेको कुरा पढेको थिए । उनले करिव–करिव विश्व जितेका थिए । तर पान जीवनको अन्तिम क्षणमा आफन्तलाई भनेका थिए रे उनीको देहान्त पछाडि उनको हात खुला आकाशमा राखिदिनु भनेका थिए । किन होला जस्तो लाग्थ्यो । आज आएर बुझे । उनले सन्सार जिते तर पनि अन्तमा मृत्यु सत्य रहेछ भन्ने बुझे । उनले आर्जेको उपनिवेश, धन, सम्पति र दौलत लिएर जान नसक्ने रहेछन । छोडेर जानुपर्दोरहेछ । त्यसैले पनि भन्नै पर्छ, मैले रोजेको बाटो पनि गलत नै रहेछ । अब सच्याउन पर्छ तर जटिल बनिसकेको छ ।

हिजोको दिनमा राजा रानीले विदेशी बैंकमा नेपाली पैसा राखे, देशलाई कंगाल बनाए भन्ने लाग्थ्यो तर आज थाहै नपाइकन म आफै त्यसैमा सम्लग्न हुन पुगेको रहेछु । सत्य वोल्नको लागि आत्मवल चाहिँदोरहेछ ।

अरुका सन्तान मार्दाको पिडा आन्दोलनको समयमा जायजै लाग्थ्यो तर जव मेरो आफ्नै सन्तान कालगतिले मर्दा पनि मुटुमा भक्कानो पार्नु पर्यो, आँखा बाट आशु झानुपर्यो । वल्ल बुझे मानिसको जीवनको मुल्य र परिवारका सदस्यको महत्व । अव ती दिनहरु सम्झेर आउदैनन तर पनि कसरी सच्याउन सकिन्छ, त्यतातिर सोच्दैछु ।

विदेश घुमेपछि थाह भयो नेपालमा सवैकुरा रहेछ तर सुशाषनको मात्र अभाव रहेछ । यहा“को हावा पानी, माटो, प्रकृति, जनशक्तिलाई आधुनिक वैज्ञानिकीकरणमा ध्यान दिएको अवस्थामा परजिवी वन्नुपर्दोरहेनछ । मरभुमिमा माटो भरेर कृषि खेति गरिन्छ तर यहा“ त्यो आवश्यकता छैन । माटो आफैमा छ यत्रतत्र । अनि याद आयो अब्राहम लिङ्कनले उनको छोराको प्रधानाध्यापकलाई उनको छोरालाई अरुले दिएको ५ पौण्ड भन्दा आफैले कमाएको १ डलरको मुल्य मुल्यवान हुन्छ भन्ने बुझाइदिनु भन्नुको अर्थ प्रत्यक व्यक्तिलाई आत्मनिर्भर वनाउ, आफै कमाउ, आफै खाउ र स्वतन्त्र जीवन विताउ भन्नु नै हो । आखिर शिक्षाले सिकाउन पर्ने कुरो यही थियो ।

नेपालमा हावा, पानी, माटो, जनशक्ति मात्र हैन यहाँ  पैसाको पनि अभाव छैन । अभाव केवल व्यवस्थापनको मात्र हो । भ्रष्टाचारको सही तरिकाले छानविन गर्ने र अवैध रुपमा जम्मा गरेका रकम राष्ट्रीय ढुकुटीमा जम्मा गरिदिन सक्ने हो भने नेपाललाई छोटो समयमा नै विकास गर्न सकिन्छ । कसरी गर्न सकिन्छ त व्यक्तिको सम्पतिको छानविन ? प्रत्येक कर्मचारी, राजनितीज्ञ, प्रहरी, सेना, आदिको पैतृक सम्पतिलाई छोडेर उनीहरुले आर्जन गरेको सम्पतिको श्रोत खोज्ने, साथै उनीहरुले प्राप्त गरेको सम्पूर्ण तलवभत्तालाई छोडेर वाकी रहेको सम्पतिलाई राष्ट्रीयकरण गरिदिएमा देशको खातामा पैसाको अभाव रहने थिएन । व्यापारीहरुको कर तिरेभन्दा वाहिरको सम्पतिलाई पनि राष्ट्रीयकरण गर्नु पर्छ । अनि श्रोतको अभाव हुनेछैन ।

ठीक त्यसरी नै शिक्षामा पनि परिवर्तन गर्नु पर्छ । अहिलेको शिक्षाले बाटो विराएको छ । न नेपालको शिक्षाले नेपाललाई चाहिने जनशक्ति तयार गरेको छ न त यसले राष्ट्रीयताको भाव नै जगाउन सकेको छ । अहिले नेपालका गाउँबाट राजधानीसम्म आइपुग्ने त्यसपछि विदेश पलायनको बाटो रोजेका छन । खर्च गर्न सक्ने जति पश्चिमा मुलुकमा पुगेका छन, नसक्नेहरु अरवीयन देशहरुमा पुगेका छन । गाउँ शहर सुन्य हुन पुगेका छन ।

आज शिक्षाको माध्यम सवैले नेपाली अनिवार्य रुपमा सिक्नु परेको छ, विदेशीसँगको सम्र्पकको लागि अंग्रेजी भाषा सिकाउन पर्दछ भने विज्ञानको खोजिको लागि संस्कृत भाषाको पनि ज्ञान दिलाउन पर्दछ । कक्षा ८ आधारभुत तहको शिक्षा अनिवार्य रुपमा सवैले प्राप्ती गर्न पाउन पर्छ र त्यहाभन्दा माथिको शिक्षाले जिउने सिप शिकाउन पर्छ । आफ्नालाई काखा र अरुलाई पाखा गर्ने संस्कार र संस्कृतिको अन्ते गर्नुपर्छ ।

न्याय सवैले पाउनुपर्छ ।हाम्रालाई होइन राम्रालाई स्थान दिनुपर्दोरहेछ । अव लागेको छ कुनै पनि व्यक्तिलाई सत्ताभन्दा वाहिर गएपछि उपलव्ध गराउने व्यक्तिगत सुरक्षाको अन्त्य गर्नुपर्छ । अव गर्नै पर्छ चाहे राष्ट्रपति होस वा प्रधानमन्त्री वा अन्य मन्त्री उनीहरुलाई वहाल रहदा अन्तराष्ट्रीय मान्यताको आधारमा व्यक्तिगत सुरक्षा दिनु स्वभाविक हो तर भु.पु.लाई त्यस्तो सुविधा उपलव्ध गराउन हुदैन । यसको परिवर्तन गर्नै पर्छ ।

भि. आ.पी हरुको सवारीमा बाटो जाम गराउने प्रवृतिको पनि अन्त्य गराउन पर्छ । अन्यथा नेतृत्वमा रहनेहरु भ्रममा हुदा रहेछन । नेपालमा हुनै पर्ने क्रान्ति भएकै रहेनछ । गोलि र वारुदबाट प्राप्तगर्न खोजेको परिवर्तन त केवल क्षणिक हुँदोरहेछ । विचार ठूलो रहेछ र त्यही विचारद्वारा समाजलाई चलाउन पर्दछ । त्याग गर्ने मानिसहरु नै महान छन । आज पनि सुनिन्छ तिहारमा : हामी त्यसै आएनौ बलीराजाले पठाए । त्यसरी नै ध्रुव, प्रल्हाद, राम, गौतम वुद्ध, गणेशमान, आदि । त्यागमा जित छ, मान र सम्मान छ तर घमण्डमा विनास वाहेक केही छैन ।

कुनै एक भि.आ.पी को सुरक्षाको लागि खर्चेको खर्चले पुरै नगरपालिकाको सुरक्षा खर्च पुग्न सक्छ । अनावश्यक खर्च कटौती गर्नै पर्छ । ज्यालामा भएको असमानता पनि अन्त्य गर्नु पर्छ किनकि जे काम गरे पनि आखिर ज्यालाको लागि नै हो । ज्याला जिउने माध्यम हो । राष्ट्रपतिलाई जिउनको लागि चाहिने खाद्यान्न र उसैको अफिसमा काम गर्ने कुचिकारको ज्यालामा भएको ठूलो असमानतालाई साघुँरोपार्नुपर्छ ।

पद ठूलो र सन्मानित छ तर ज्याला होइन । कि संविधानमा समनातालाई मौलिक हक भित्र राख्नुहुदैन नत्र भने प्रत्येक कामको ज्यालामा ठूलो अन्तर राख्नुहुदैन । राजनेताको एकल परिवार हनुहुदैन । सवै देश नै उनीहरुको परिवारको रुपमा लिन सक्नुपर्छ ।

लव र कुशले आफ्नो वाउ रामसँग सोधेका थिए कुन धर्मले गर्दा आफ्नो श्रीमती सीता पवित्र छन् भन्ने जान्दाजान्दै पनि सीतालाई दरवारबाट निकालेको नि भनि प्रश्न गर्दा रामको उत्तर रहेको थियो राजधर्म । यसको अर्थ राजधर्मले सवैलाई समान दृष्टीकोणले हेर्ने गर्छ तर त्यसो गर्न सकिएन । यस्तो सोचमा परिवर्तन आजको आवश्यकता हो ।

निमित्त प्रधानाध्यापक
पशुपति मित्र मा.वि. चावहिल, काठमाण्डौ ।

प्रतिकृया दिनुहोस्