काठमाडौँ । सरकारले वैकल्पिक विधिबाट पठनपाठन अगाडि बढाएसँगै विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीहरू लाभान्वित हुन थालेका छन् । शिक्षण सिकाइमा प्रयोगमा आउने रेडियो, एफएम, टेलिभिजन, अनलाइन, परियोजना पाठ, स्वअध्ययन, दूर तथा खुला शिक्षालगायतका वैकल्पिक माध्यम वा पद्धतिबाट अध्यापनलाई निरन्तरता दिइएपछि घरमै बसेर विद्यार्थीको सिकाइमा निरन्तरता दिन सकिने अवस्था सिर्जना भएको हो ।

सरकारी पहलमा रेडियो नेपाल र नेपाल टेलिभिजनबाट पठनपाठन सुरुवात गरिएको छ । जनक शिक्षा सामग्री केन्द्रको पहलमा विद्यालयमा पुस्तक पु¥याइएको छ र विद्यालयको सम्पर्कमा आएका सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध भइसकेको छ ।

केन्द्रका महाप्रबन्धक महेश तिमल्सिनाले ७५ प्रतिशत पुस्तक बिक्री भएको जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश पहाडी जिल्लाका विद्यार्थीको हातमा नयाँ पुस्तक पुगिसकेको छ भने तराईका जिल्लामा पुग्न बाँकी छ । कोरोना भाइरसको सङ्क्रमणका कारण धनगढी, नेपालगञ्ज विराटनगर, जनकपुर लगायतका क्षेत्रमा पुस्तक वितरणमा समस्या भएको उहाँले जानकारी दिनुभयो ।

विद्यालयको सम्पर्कमा आएका विद्यार्थीलाई अभिलेखीकरण गरी पाठ्यपुस्तक उपलब्ध गराइएको जानकारी विद्यालयका प्रधान अध्यापकहरूले दिनुभएको छ । ललितपुरस्थित आदर्श सौल माध्यमिक विद्यालयका प्रधान अध्यापक सरोजभक्त आचार्यले कोराना सङ्क्रमणको अवस्थामा सिकाइका लागि वैकल्पिक विधि उपयुक्त भएको बताउँदै एक हजार तीन सय विद्यार्थीमध्ये चार सय विद्यार्थीलाई पुस्तक वितरण गरिसकिएको जानकारी दिनुभयो ।

गोरखापत्रमा खबर छ ।

प्रतिकृया दिनुहोस्