जनकपुरधाम । वैदेशिक रोजगारबाट फर्केका १५ सय युवालाई स्वरोजगारमूलक सीप सिकाइने भएको छ । युएनडिपीले पहिलो चरणमा मधेस र लुम्विनी प्रदेशका १५ सय युवालाई सीप तथा क्षमता अभिवृद्धि तालिम दिने भएको हो ।

शिक्षापत्रकार समूह र युएनडिपीद्वारा जनकपुरमा आयोजित कार्यशाला गोष्ठिमा यसबारे जानकारी दिइएको हो । वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई विदेशमा आर्जन गरेका सीप र अनुभवको क्षमता अभिवृद्धि गरि स्वदेशमै स्वरोजगारमुखी बनाउन सहयोग पुग्ने उद्देश्यले स्किल्स कार्यक्रम आयोजना गरिने भएको हो ।

कार्यशाला गोष्ठिमा मधेस प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्रप्रसाद सिंहले बैदेशिक रोजगारबाट फर्किएका युवाहरुको सीप र क्षमता बढाउन सके स्वरोजगार बन्ने बताए। यो कार्यक्रम सान्दर्भिक भएकाले यसमा आवश्यक साथ र सहयोगका लागि प्रदेश सरकारले हातमालो गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशसभा सदस्य मन्जु यादवले वैदेशिक रोजगारको क्रममा नेपाली युवाहरुले निकै दुःख र कष्टबाट आर्जन गरेका सीपलाई स्वदेशमै स्वरोजगार बनाउने यस पहललाई सरकारले पनि सहयोग गर्नुपर्ने बताइन्। उनले यूएनडीपीले शुभारम्भ गरेको स्किल्स कार्यक्रमले युवाहरुलाई ठूलो राहत महसुस हुने विश्वास व्यक्त गरिन् ।

यस्तै, प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रर्मिला देवी सिंहले प्रदेश सरकारले वैदेशिक रोजगारमा सिकेका सीपलाई विकास गरी स्वरोजगारमा बदल्न सके मात्रै मुलुक समृद्ध बन्ने बताइन्।

सीटीईभीटीका निर्देशक दिपक प्रसाद पौडेलले मधेस प्रदेशबाट निकै युवाहरु वैदेशिक रोजगारमा जाने र फर्किएपछि पुनः बेरोजगार हुनेलगायतको समस्या रहेको भन्दै यस कार्यक्रमले त्यसमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।

यूएनडीपीका पोर्ट फोली म्यानेजर कल्पना सरकारले विदेशबाट फर्किएका युवाहरुको दक्षता र सीपको पहिचान गर्ने, आवश्यक तालिम दिई दक्ष बनाउने र व्यवसायीकरणका लागि प्रोत्साहित गर्ने बताइन् । मधेस प्रदेशका १४ पालिका र लुम्बिनी प्रदेशका ७ पालिकाका १५ सय युवा यस स्किल्स कार्यक्रमबाट लाभान्वित हुने उनको भनाइ थियो ।

यूएनडीपीका स्कील प्रोजेक्टका राष्ट्रिय कार्यक्रम प्रवन्धक डा. मुकुन्दमणि खनालले विशेष गरी कोभिड –१९ का कारण विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका नेपाली नागरिकहरूलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको जानकारी दिए । वैदेशिक रोजगारीबाट फर्केकाहरुको सीपको पहिचानसहित कार्यस्थलमा आधारित सीप विकास, प्रमाणीकरण र स्वःरोजगार तथा श्रम बजारमा रोजगारीको अवसरका लागि सहजीकरण गरी स्थानीय उत्पादनमा आधारित उद्यमशीलतालाई टेवा पु¥याउनु कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ थियो ।

शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लले विदेशमा सिकेको सीप र अनुभवलाई स्वदेशमै स्थापित गर्ने कार्यक्रमले स्वदेशमै रोजगारी सृजना गर्न सन्देश दिने बताए ।

कार्यक्रममा सीटीईभीटीका प्रदेश निर्देशक नागेन्द्र साह, प्रदेशसभा सदस्य चमेली देवी दास, हंसपुर नगरपालिका उपप्रमुख रेणु झा, वरिष्ठ पत्रकार रामभरत साह, राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत रेखा दत्त, जनकपुरधाम उद्योग वाणिज्य संघका कोषाध्यक्ष अम्भु साह, जनकपुरधाम उपमहानगरपालिका कार्यपालिका सदस्य सुनिता देवीलगायतले आ–आफनो धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्